काठमाडौँ। भारतको तेलंगानास्थित कामारेड्डी जिल्ला अस्पतालको आईसीयूमै मुसाले बिरामीमाथि आक्रमण गरे पछि बिरामी बेहोस भए ।
अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजना ४३ वर्षीय बिरामीलाई मुसाले टोकेर घाइते बनाउँदा उनी बेहोस भए ।
हालै भएको यो घटनामा मुसाले बिरामीको दाहिने हातका औंला तथा खुट्टाको कुर्कुच्चोमा गहिरो गरी टोकेको थियो । मुसाले बिरामीलाई टोकेको बारेमा कुरुवाले डाक्टरलाई जानकारी गराएका थिए ।
उनको यसअघि हैदरावादस्थित अस्पतालमा शल्यक्रिया भएको थियो र मुसाले टोक्ने घटना भएको एक हप्ताअघि मात्रै उनी कामारेड्डी अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।
यो घटनापछि अस्पताल प्रशासनले त्यस बारेमा अनुसन्धान सुरु गरेको छ र वरिष्ठ स्वास्थ्य अधिकारीहरुले अस्पतालको निरीक्षण गर्नुका साथै बिरामीलाई पनि भेटेका छन् ।
साथै कर्मचारीहरुको लापरबाहीका कारण सो घटना भएको भन्दै जिम्मेवार कर्मचारीहरुलाई अनुशासनको कारबाही गर्ने पत्र पनि काटिएको छ ।
प्रारम्भिक छानबिनका क्रममा आईसीयू कक्षसँगै डाइलाइसिस युनिटको मर्मत सम्भार भैरहेको र सो क्रममा भत्काइएको क्षेत्रबाट मुसा प्रवेश गरेको पाइएको छ ।
अधिकारीहरुका अनुसार बिरामीका कुरुवाहरुले बिरामीको बेडकै छेउमा तथा अस्पताल परिसरमा यत्रतत्र खानेकुराहरु फाल्ने गरेका कारणले गर्दा मुसाको आतंक बढिरहेको छ ।
प्रतिक्रिया