काठमाडौँ । गाजास्थित हमास समूहले कब्जामा लिएका ४१ जनालाई रिहा गरिसकेको छ ।
पहिलो पटक शुक्रवार हमासले १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो ।
त्यस्तै दोस्रो पटक १७ जनालाई रिहा गरेको हो । त्यसको बदलामा इजरायलले तेब्बर बढीको सङ्ख्यामा प्लालेस्टिनीहरू रिहा गरेको छ ।
हमासले २-२ पटक बन्धकहरू छोडिसक्दा पनि फर्किनेको समुहमा नेपालका विपिन जोशी भने पर्न सकेका छैनन् । गत अक्टोबर ७ तारिखमा हमास समूहले आक्रमण गरेर जोशी लगाएतलाई बन्धक बनाएर लगेको थियो ।
अन्यलाई धमाधम रिहा गरिरहँदा जोशी भने रिहा हुने टोलीमा पर्न सकेका छैनन् । इजरायलस्थित नेपाली दूतावासले जोशीको रिहाइबारे आफूहरू जानकारी नहुने बताएको छ ।
राजदूत कान्ता रिजालले कहिले रिहाइ हुन्छ भन्ने विषयमा आफूहरूलाई जानकारी नहुने बताइन् । ‘कहिले रिहा हुन्छन् भन्नेबारे हामीलाई केही जानकारी हुँदैन । रिहा हुने भयो भने केही समय अगाडि मात्रै हामीलाई जानकारी गराइन्छ ।’ उनले भनिन् ।
जोशीको रिहाइको लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ । दुई दिने नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो ।
प्रतिक्रिया