एउटा कम्युनिस्ट नाउँको पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने कुरा कत्तिको जायज हो ? यसलाई आमजनताले कसरी बुझ्ने ?
निश्चय नै हामीले व्यावहारिक ढङ्गले पनि यो कुरा बुझ्यौँ । जब प्रतिबन्धको घोषणा गरियो हामीले पनि प्रतिरोध अगाडि बढायौँ । हामी बसेको ठाउँमा जनताले पनि अथवा हाम्रा मित्रहरूले, बुद्धीजीवीहरूले पनि यही जिज्ञासा पर्याप्त रूपमा गरेको र हामीले पनि अनुभूत गरेको के हो भने एउटा कम्युनिस्ट पार्टीको नाम लिने शक्ति लगभग २ तिहाइको बहुमतसहित सरकारमा छ । अर्को कम्युनिस्ट पार्टी फेरि प्रतिबन्धमा छ । उताबाट प्रतिबन्ध लगाइएको छ । यतातिरबाट प्रतिरोध भैरहेको छ । जनतालाई पनि एक छिन बुझ्नका लागि असहज भएको जस्तो, यसलाई पकड्नमा पनि अप्ठेरो, असजिलो भएको जस्तो महसुस भएको थियो । यद्यपि यो नेपालको मात्र नौलो अनुभव थिएन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि हामी यस्तो अनुभव भेट्टाउँछाैँ । रुसमा पनि यस्तो भएको थियो ।
मेन्सेबिकहरूले बोल्सेबिकहरूलाई यस्तै व्यवहार गरेका थिए । जर्मनीमा त झन् कम्युनिस्ट नामकै गृहमन्त्री भएर दमन गरेको, रक्तपात मच्चाएको कुरा पनि हामीलाई थाहा छ । भारतमा पनि त्यस्तो अनुभव छ । यद्यपि नेपालको हकमा भने यो नौलो अनुभव हो । हिजो एमाले र माओवादी हुँदा पनि अलिअलि यस्तो खालको अनुभव भएको हो । तर अहिले उत्कर्षमा यो अनुभव भएको हो । हामीले के भनेका छौँ भने यो दुई वर्षको व्यावहारिक अनुभवबाट हामीले पहिलो कुरा त केपी वलीको सरकारले के भन्यो भने हामीले गलत बाटो लिएकाले, हत्याहिंसाको बाटो लिएकाले, सशस्त्र सङ्घर्षको बाटो लिएकाले प्रतिबन्ध लगाउनुपर्यो भने । हामीले के भन्यौँ भने अहिलेको सरकारले जनविरोधी प्रवृत्तिको नेतृत्व गरेकाले, दलाल पुँजीपति वर्गको नेतृत्व गरेको र जनताको हितविपरीतको कार्य गरेको हुनाले हामीले यो बाटो लियौँ ।
यो बीचमा अहिले व्यावहारिक रूपले के साबित हुन्छ भने जनताले पनि देख्ने गरी वा सरकार, यो राज्य वा व्यवस्था श्रमिक जनता, किसान, मजदुर, दलित, महिला अथवा कसैको पनि हितमा काम गर्दैन । यो सरकार नै जनताका विरुद्ध छ भन्ने जनताले प्रत्यक्ष अनुभूति गरेको अवस्था हो । अर्को कुरा के हो भने कम्युनिस्ट भने पनि केपी–प्रचण्डहरूले अहिले कम्युनिस्ट पार्र्टीको नेतृत्व गर्नुहुन्न, दलाल पुँजीपति वर्गकै रक्षा गर्ने, एउटा वर्गको रक्षा गर्नुहुन्छ हामीले भनेका थियौँ । यो सही हो र जनताले बुझ्दै गएका छन् । यस अर्थमा हामीलाई ठिकै पनि लागेको छ ।
अहिले विश्व र नेपाल पनि कोरोना महामारीले आक्रान्त छ । नागरिकहरूको जीवनस्तरको रोजीरोटीको समस्या जटिल छ । किसानहरूहरूको अवस्था सङ्कटमा छ । यो अवस्थामा मध्यम वर्गको अवस्था पनि जर्जर छ । आर्थिक अवस्था पनि जर्जर छ । सरकार भनेको कोरोनाको उपचारको त कुरै छोडौँ, परीक्षणसमेत गर्न नसक्ने अवस्था छ । जनताको अवस्था दयनीय छ । यो समग्र परिस्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ ?
केपी वली सरकार बनेदेखि नै हामीले भनेका थियौँ, यो संविधान जनताको संविधान होइन । देशमा जुन खालको आमूल परिवर्तनको सम्भावना थियो, त्यसलाई रोकेर फेरि पनि घुमेर दलाल पुँजीपति वर्गकै पक्षमा, उसकै संरक्षणमा लेखिएको संविधान हो भनेको थियौँ । जब सत्ता जनताको हातमा हुँदैन, जनताको हातमा सत्ता नहुँदासम्म जुनसुकै व्यवस्थाको नाम दिए पनि, सरकारमा गए पनि हुनेचाहिँ जनताकै, देशकै विरुद्धमा हो । त्यही भएर हामीले अलग पार्टी पनि बनायौँ, सङ्घर्ष पनि गर्याैँ । यो एउटा पाटो थियो । यो कुरा सीधै मान्छेहरूलाई घुसेको थिएन । हामीले भनेकै थियौँ– केपी–प्रचण्डहरूले जिते पनि जनतालाई खास दिनसक्ने केही होइन । काङ्ग्रेस त झन् काङ्ग्रेस नै भैहाल्यो । यही अवस्थामा यो संविधान र यो संसदीय व्यवस्था हँुदैन भनेर हिजो हामीले भनेकै थियाैँ । तर मान्छेलाई एकपटक हेरौँ न त भन्ने थियो । चुनावमा दुई तिहाइको सरकार आएपछि जनताका केही अपेक्षाहरू पनि थिए ।
केपी वली सरकारले केही गर्ला र गर्नुपर्छ भन्ने अपेक्षा पनि मान्छेमा थियो । राजनीतिक, सैद्धान्तिक ढङ्गले हेर्यौ भने सक्दैन भन्ने प्रस्ट नै थियो । तर व्यावहारिक ढङ्गले हेर्दाखेरि कस्तो थियो भने केही गरिहाल्छ कि त भन्ने थियो । अहिले व्यावहारिक रूपले के साबित भयो भने कोरोना महामारी कि त राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवालहरूमा केपी वलीजीको सरकारले फेल खाएको छ अथवा यो व्यवस्थाले फेल खाएको छ । यसले के देखाउँछ भने जनताले नै आफ्नो शासन व्यवस्थामा आफ्नो हैसियत अथवा आफ्नो स्वामित्व लिने अवस्था नपुगेसम्म, शोषणकारी प्रणाली अन्त्य नभएसम्म जनताको हितमा काम हुँदैन भन्ने कुरा साबित गर्दछ । कतिसम्म भने एकातिर कोरोनाले जनतालाई सङ्कटमा पार्दै ल्याएको छ, अर्कोतिर कोरोना नै व्यापारको विषय बनिरहेको छ । रोगलाई दलालहरूको मुनाफाका लागि व्यापार गर्ने अथवा लाखाँै मान्छे सङ्कटमा पर्ने तर सीमित मान्छेहरू व्यापार गर्नतिर र अर्बौं कुम्ल्याउनतिर लाग्छन् । यो के हो त भन्दा यो व्यवस्थाले नै मुठीभर मान्छेको संरक्षण गर्दछ । अहिलेको कोरोना भ्रष्टाचारलगायत सबै कुराले यही साबित गरेको हामी देख्छौँ ।
सरकारले जनतासँग गरेका बाँचा पूरा गर्न सकेन । यसले जनतामा निराशा त पैदा गरेको छ नै, यसका साथै सरकारी नेकपाको आन्तरिक कलहका कारण पनि त्यहीँभित्र र बाहिरसमेत अब सरकारको विकल्प वा व्यवस्थाको विकल्प चाहियो भन्ने विषयमा बहस र विश्लेषण भइरहेका छन् । यो सबै समस्याको समाधान के हो ?
यो विषयमा हामीले पहिले नै भनेका छौँ । केपी र प्रचण्डजीहरू मिलेर नेपालमा नयाँ सुरुआत भयो भनेर एकदम ठूलो हल्ला गर्नुभयो । राष्ट्रिय सभागृहबाट हामीलाई समेत एकतामा ल्याउने र सँगै जानुपर्दछ भन्नुभयो । हामीले के भन्यौँ भने एउटा सुस्पष्ट विचार र दृष्टिकोणमा केन्द्रित नभएका एकता र सहकार्यहरू टिकाउ हुँदैनन् र त्यसले झन् ठूला समस्या लिएर आउँछ भनेका थियौँ । दोस्रो कुरा, केपी–प्रचण्डको एकता कुनै विचार तथा नीतिमा भन्दा पनि अस्तित्व सङ्कटले ल्याइदिएको बाध्यात्मक परिस्थितिको परिणाम थियो । उता काङ्ग्रेस एक ढङ्गले आइरहेको र अरू पार्र्टीहरूको एउटा बनेको अवस्थामा प्रचण्डहरू र केपीहरूले पनि सत्तामा पुग्नुपर्दछ भन्ने आशङ्का राखेको अवस्थामा कतापट्टि गठबन्धन गरेर आफ्नो शक्तिलाई उठाउन सकिन्छ ? कम्तीमा अस्थायी रूपमा भए पनि केन्द्रमा पुग्ने भन्ने मनस्थितिले यस्तो एकता बनेको थियो ।
त्यो एकताको केन्द्रमा देश र जनताका पक्षमा केही गर्ने भन्दा पनि जसरी पनि सत्तामा पुग्ने र आफ्नो स्वार्थ पूरा गर्ने, आआफ्नो समूहको संरक्षण गर्ने र जसरी पनि केन्द्रमा पुग्ने देखिन्थ्यो । एकैपटक धेरै मान्छेले सत्ताबाट समान अवसर पाउने समान हैसियत लिने भन्ने कुरा त सम्भव हुदैन नि ! त्यहाँ त्यागभन्दा पनि अवसरको खोजी मात्र थियो । त्यसैले त्यो एकता दीर्घकालसम्म जाने भन्ने थिएन । त्यहाँ एउटा अन्तरविरोध आउँछ भन्ने नै थियो र आयो पनि । उहाँहरूको अन्तरविरोधले राज्यकै चरित्र देखाउँछ व्यवस्थाकै चरित्र देखाउँछ । यो व्यवस्थामा जनताको व्यवस्था निर्माण गर्ने, जनताको स्वाधीनता सुनिश्चित गर्ने दृष्टिकोण छैन । यो व्यवस्थाको केन्द्रमा पुग्नु भनेको सुविधा पाउन र अवसर लुट्न पुग्ने हो भन्ने चिन्तनले काम गरेपछि यो अन्तरविरोध त स्वतः आउँछ नि !
एउटा रमाइलो कुरा के छ भने सत्तामा बसेका त बसेका भैहाले, अरू पार्टीको पनि जनताको जीवन र भविष्य निर्माण गर्नेभन्दा पनि व्यक्तिगत खिचातानी र स्वार्थमा अल्झिएको अवस्था छ । अब देश र जनताको स्वार्थलाई केन्द्रबिन्दुमा राखेर काम गरे पो हुन्छ । त्यहाँ त्याग हुन्छ, सर्मपण हुन्छ, एकता हुन्छ । हैन भने आआफ्नो जत्था, समूह र गुटको मात्र संरक्षण गर्ने हो भने त अन्तरविरोध ल्याउँछ । किचलो ल्याउँछ । त्यसले देशलाई नै समस्यामा पार्छ । यसभित्रको लडाइँले के देखाउँछ भने दलाल पुँजीपति वर्ग र दलाल पँुजीपति सत्ताको चरित्र यस्तो हुन्छ भन्ने कुरा छर्लङ्ग देखाएको छ ।
सत्तामा रहेको पार्टी जसले जनतालाई जुन आशाहरू देखाएको थियो, त्यो त पूरा गरेन नै । सरकारले जनताका आशाहरू पूरा गर्न नसकेपछि जनता निराश भएका छन् । सडकमा जनताका असन्तुष्टिहरू व्यक्त भैरहेका छन् तर त्यसले कुनै ठूलो आन्दोलनको अवस्था सिर्जना गरेको छैन । अहिलेका जनता र समग्र देशको समस्याको समाधान के हो अथवा यसको निकास के हो ?
पहिलो कुरा सरकारमा बसेको कम्युनिस्ट पार्टीभित्र अन्तरविरोध पैदा भएपछि जनतामा केही निराशा छायो । जनतालाईचाहिँ एकपटक प्रचण्ड, केपी, माधव नेपाल, झलनाथ खनालहरू एकै ठाउँमा भएको पार्र्टी हेर्न मन थियो अथवा पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर एक ठाउँमा भएको पार्र्टी जनतालाई हेर्न मन थियो । हामीले त भनेका थियौँ– यो हुँदैन भनेर । तर छोटो समयमै आन्दोलनबाट आन्दोलन र क्रान्तिबाट क्रान्तिमा जाने चेतना जनताको बनिसकेको हुँदैन । त्यसैले मानिसहरूलाई एकपटक मिलेको पार्टी हेर्ने मन थियो । हेरिसकेपछि जनतामा निराशा त थियो तर मानिसहरूले भनिरहेका छन्– नेकपाले त उहिल्यै भनेको थियो नि । हामीले पार्टी पुनर्गठन गरेर अघि बढाएको कुरा यो हाम्रो होइन, जनताकै कुरा थियो ।
अब यो संसदीय व्यवस्था र दलाल पुँजीवादी सत्ताले जनताको हितमा काम गर्दो रहेनछ भन्ने कुरा पुष्टि भयो नि त । अब केही नयाँ गर्नुपर्छ, केही नयाँ विकल्प चाहिन्छ भन्नेचाहिँ जनतालाई लागेको छ । अर्को कुरा अब मध्यम वर्ग, व्यवसायीहरूले पनि नयाँ विकल्प के हो त भन्ने कुरा खोजिरहेका छन् । आज बहस घुमिरहेको छ । काङ्ग्रेसले के गर्न खोजेको छ भने व्यवस्थाको कुरा होइन, यो कम्युनिस्ट पार्र्टीको मात्र समस्या हो भनिरहेको छ । कम्युनिस्ट पार्र्टीको यो कचिङ्गल विघटनमा गएर फुट होला, योबाट हामी आत्तिनु हुँदैन । विकल्प भनेको काङ्ग्रेसको सरकार हो भन्याजस्तो तर्क गरेको छ । त्यसबाट मानिसहरूलाई केही परेको पनि होला तर काङ्ग्रेस पनि इतिहासमा धेरैपटक परीक्षण भैसकेको छ । यो त पार्र्टीको समस्या होइन, व्यवस्थाको समस्या हो । यही व्यवस्थामा काङ्ग्रेसले केही गर्न चाहेर पनि हुँदैन । यसमा अलमलमा पर्नु हुँदैन । यो बेलामा सबैले के सोच्नुपर्दछ भने योभन्दा राम्रो व्यवस्था मध्यम वर्ग, व्यवसायी, उद्योगी सबैको हित रक्षा गर्ने व्यवस्थाकै नयाँ कन्सेप्टमा जानुपर्दछ भन्ने कुरा सबैले बुझ्नुपर्दछ ।
दोस्रो कुरा के छ भने हामीले त पहिलेदेखि नै भनेका थियौँ– सबैले एकपटक सोच्नुपर्यो । नयाँ व्यवस्थाकै नयाँ कन्सेप्सनमा जानुपर्छ भन्ने कुरा हाम्रो छ । हामीले योभन्दा प्रगतिशील व्यवस्था, योभन्दा राम्रो संविधान दिनुपर्दछ । हामीले समाधान के दिएका छौँ भने हाम्रो सुस्पष्ट दृष्टिकोण छ– दलाल पुँजीवादी संसदीय व्यवस्था होइन, जनताको, आधारभूत रूपले श्रमिक जनताको हित गर्ने, उनीहरूको सम्पुर्ण क्षमतालाई ग्रहण गर्नसक्ने, त्यसलाई राष्ट्र र जनताको हितमा प्रयोग गर्नसक्ने, सदुपयोग गर्नसक्ने व्यवस्था वैज्ञानिक समाजवाद नै हो भन्ने हाम्रो सुस्पष्ट दृष्टिकोण छ । यसकै विषयमा हामी सबैले सोच्नुपर्दछ । एउटा सिस्टममै, राज्य व्यवस्थाकै विकल्पका बारेमा छलफल गरौँ भन्नेमा हामी छौँ ।
यहाँहरूले सबैखाले समस्याको समाधान वैज्ञानिक समाजवाद हो भन्नुभयो । वैज्ञानिक समाजवादी व्यवस्था त एकदलीय तानाशाही व्यवस्था हो भन्ने आमखालको बुझाइ छ । तपाईंहरूले किसान, श्रमिक मजदुर मात्रै नभएर नेपालमा मध्यम वर्ग, उद्योगी–व्यवसायी, राष्ट्रिय पुँजीपतिहरूलाई, सच्चा लोकतन्त्रवादीहरूसमेत यो व्यवस्थामा सामेल हुनुपर्दछ भन्नुभएको छ । वैज्ञानिक समाजवादमा यो वर्गले कसरी अपनत्व महसुस गर्न सक्छ ?
पहिलो कुरा के छ भने समाजमा समाजवाद र लोकतन्त्रको बहस छ । यहाँ के भ्रम दिन खोजिएको छ भने लोकतन्त्र भनेको समाजवादबाट अलग हो । समाजवाद भनेको लोकतन्त्रबाट अलग हो । अहिले लोकतन्त्र छ, यो नै समाजवादमा गयो भने लोकतन्त्र हुँदैन । लोकतन्त्र भनेको के हो भने समाजवादमा त मान्छेहरूले बोल्न पनि पाउँदैनन्, लेख्न पनि पाउँदैनन् भन्ने गलत कुराहरू भनिएको छ । यहाँ भ्रम दिन खोजिएको छ । लोकतन्त्र भनेको समाजवादबाट अलग हो र समाजवाद भनेको लोकतन्त्रबाट अलग भन्न खोजिएको छ । एउटा कुरा के हो भने लोकतन्त्र र समाजवाद भनेका फरक कुरा होइनन् ।
काङ्ग्रेस र पुँजीवादमाथि विश्वास राख्ने मान्छेले के भन्दछन् भने लोकतन्त्र र समाजवाद भनेका विपरीत कुरा हुन् । यो एकदमै गलत कुरा हो । समाजवाद माक्र्सले पनि, लेनिनले पनि र माओले पनि सबैले आधारभूत रूपमा समाजवादी सिद्धान्तको आधारभूत रूपले खोज गर्नुभएकै के हो भने पुँजीवादमा लोकतन्त्र हुँदैन । सामन्तवादमा त लोकतन्त्र हुँदै–हुँदैन । पुँजीवादमा पनि लोकतन्त्र हुँदैन । वास्तविक लोकतन्त्र वैज्ञानिक समाजवादमा मात्र हुन्छ । लोकतन्त्र भनेको के हो त भने मान्छेले आफूसँग भएको क्षमतालाई जसरी सम्पूर्ण रूपले प्रयोग गर्न पाउँछन्, त्यसरी नै आफ्नो आवश्यकतालाई सम्पूर्ण रूपले भोग गर्न पाउँछन । त्यो भनेको समाजवाद हो । पुँजीवादमा के हुन्छ भने आफ्नो क्षमता सबै दिनुपर्छ तर केही पनि भोग गर्न पाइँदैन ।
हामीमाथिको प्रतिबन्धको कुरा गर्नुस् न, हामीमाथि प्रतिबन्ध लगाइएको छ । हामीले के गरेका छौँ ? हामीले भ्रष्टाचार हुनु हुँदैन भनेका छाैँ । एनसेलले कर छली गर्यो । कैयौँ मानिसहरूले त्यसको पैसा उडाइरहेका छन् र आफ्नो थैली भरिरहेका छन । त्यसो गर्नु हुँदैन भन्यौँ । यसो भन्दा हामीमाथि प्रतिबन्ध लगाउनुपर्छ ? एनसेललाई कारबाही गर भन्दा गरेन । जनताले कारबाही गरे, हामीले त्यसको नेतृत्व गर्यौँ । उल्टै हामीमाथि प्रतिबन्ध लगाइयो ! अनि यो कसरी लोकतन्त्र भयो ? यसले त के गर्यो भने जनताको क्षमता त तानिरहेको छ तर जनतालाई केही प्रयोग गर्न दिएको छैन । मानिसहरूमा अभावैअभाव देखिएको छ ।
हो, पुँजीवादमा यही अभाव पूरा गर्ने, आफ्नो क्षमता दिने र क्षमताअनुसारको सुविधा प्रयोग गर्न पाउने अधिकार वैज्ञानिक समाजवादले दिन्छ भन्ने कुरा माक्र्स र एङ्गेल्सले लिएर कम्युनिस्ट सिद्धान्तमा जुन विकास गरियो त्यो हो समाजवाद । लोकतन्त्र त समाजवादमा पो हुन्छ त । सबभन्दा मेहनती र श्रम गर्ने मान्छेलाई राज्यको नेतृत्व दिइन्छ । त्यो पो समाजवाद हो त । कम्युनिस्टहरू कहिल्यै पनि लोकतन्त्रको विरोधमा रहँदैनन् । लोकतन्त्रलाई जनताको मत ठान्ने हो भने समाजवाद नै लोकतन्त्रको उत्कृष्ट प्रयोग हो । मानिसले आफ्ना सबैखाले स्वतन्त्रता समाजवादमा पाउँछ । सामन्तवादमा ५ प्रतिशत र पुँजीवादमा १० प्रतिशतजस्तै समाजवादमा ९० प्रतिशत अधिकार पाइन्छ भनेको हो । समाजवादमा मानिसहरूले आफ्नो क्षमता देशका लागि प्रयोग गर्न पाउँछन् । आफ्नो सुविधा पनि देशबाट लिन्छन् । त्यो हो समाजवाद भनेको । बरु आज डाक्टर, इन्जिनियर, वैज्ञानिक, बुद्धिजीवीहरूले त्यो क्षमताको प्रयोग गर्न पाउँदैनन् । अहिले उद्योगी व्यवसायीहरूले पनि प्रयोग गर्न पाउँदैनन् ।
समाजवादमा त्यो पाउँछन् भन्ने बहसै चलाएका छाैँ । समाजवादमा जनताको हातमा सत्ता नआएसम्म त यो कुरा कन्फ्युजन हुन्छ । मान्छेले सम्पूर्ण रूपले शारीरिक अङ्गको प्रयोग गरेर गर्ने काम श्रमिक हो । आजको दिनमा श्रमिक भनेको खेतमा कोदालो खन्ने मान्छे मात्र होइन । खेतमा कोदालो खन्ने वा तानमा कपडा बुन्ने मात्र श्रमिक होइनन्, वैज्ञानिक, डाक्टर इन्जिनियर, पाइलट, प्रोफेसर सबै श्रमीक हुन् । एउटा प्रोफेसरले ५।६ घन्टा नपढाएसम्म तलब पाउँदैन, खाना पाउँदैन भने त्यो पनि श्रमिक हो । उद्योगी व्यवसायीहरू पनि श्रमिक हुन् । त्यसैले यी वर्गहरूले, उद्योगी व्यवसायीहरूले, मध्यम वर्गले आफूलाई श्रमिक वर्गबाट अलग गर्नु हुँदैन । तेस्रो कुरा समाजवादमा गयो भने एकदलीय हुन्छ कि त ! लोकतन्त्रवादीहरूसँग कसरी सहकार्य गर्छौ ? हामीले अहिलेदेखि नै के कुरा प्रस्ट पार्न खोजिरहेका के छौँ भने समाजवादमा सम्पूर्ण रूपले जनमतको कदर हुन्छ । व्यावहारिक रूपमा हेर्यो भने रुसमा पहिलोपटक महिलाहरूले भोटिङ गर्ने अधिकार पाएको होइन त ? जो ब्रिटेनमा थिएन । अमेरिकामा थिएन ।
पहिलोपटक चुन्ने र चुनिने अधिकार महिलाहरूले समाजवादमा पाएका हुन् नि ! रुसमा हरेक मानिसका लागि गाँस, बास, कपासको व्यवस्था भएको हो र हरेक मानिसले आफ्नो क्षमताको प्रयोग गर्न पाएका हुन् । पछि बिग्रियो होला तर अमेरिका र ब्रिटेनमा खण्डखण्ड रूपमा भोट हाल्दै आएका छन् । २ प्रतिशतले, ४ प्रतिशतले, १६ प्रतिशतले हुँदै रुसभन्दा धेरै पछि आएको हो त्यो अधिकार । समाजवादमा सम्पूर्ण रूपले जनमतको प्रयोग हुन्छ । हामीले नेपालमा मान्छेलाई हेरेर विरोध गरेको होइन । सिद्धान्तको विरोध गरेको हो । जुन पार्र्टीहरूले हामीसँग सहकार्य भन्छन् उनीहरूसँग दृष्टिकोण प्रस्ट हुनुपर्यो । दृष्टिकोण मिल्यो भने हाम्रो त काङ्ग्रेससँग पनि सहकार्य हुन सक्छ नि । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि त हामी पार्र्टीभित्रै छलफल गरेर प्रतिस्पर्धाको कुरा गर्छौं नि त । काङ्ग्रेससँग किन नगर्ने ? देशभक्तहरूको कुरा पनि नगर्ने ? कम्युनिस्टहरू देशभक्त हुँदैनन् भन्ने कुरा गलत हो ।
चीनमा आएपछि घटनाक्रमले के पुष्टि गर्यो भने जसले देशभक्त छौँ भने उनीहरूले गद्दारी गर्दै गए, जापानसँग मिल्दै गए । माओले के भन्नुभयो भने– सच्चा श्रम गर्ने देशभक्त हुन्छ । किसान, मजदुर, आफ्नो श्रममाथि विश्वास गर्ने देशभक्त हो । व्यावहारिक रूपले हेर्ने हो भने जसले शोषण गर्छ, उसैसँग मिल्न जाने ! एउटा घटनामा जनताको दबाबमा परेर अडान लिएको जस्तो गरेको देखिन्छ नि यहाँ ! असल र सच्चा देशभक्तहरूलाई के भनेका छौँ भने सच्चा कम्युनिस्टहरूसँग मिलेर समाजवाद बनाएपछि नै देशको रक्षा गर्दछ । समाजवादले नै देशभक्तहरूलाई सम्पूर्ण क्षमताको प्रयोग गर्न दिन्छ । यो कुरामा स्पस्ट हुनका लागि देशभक्त र सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई अपिल गर्ने कुरा हुन्छ ।
नेपालको अर्थतन्त्र धराशायी छ । कोरोनाकै कारणले मात्र नभएर राज्यको उचित संरक्षणको अभावले यहाँका उद्योगी व्यवसायीहरू प्रताडित छन् । यस्तो अवस्थामा नेकपाले चन्दा मागेर हैरान पारेको भन्ने पनि प्रचारमा आउँछ । पार्र्टीले उनीहरूसँग चन्दा मात्र लिने हो कि उनीहरूको संरक्षण पनि गर्ने हो ?
महत्वपूर्ण प्रश्न गर्नुभयो । मैले सुनिरहेको छु र पढी पनि रहेको छु । हामीले सबैलाई प्रस्ट गर्ने कुरा के छ भने यो नितान्त गलत प्रचार हो । पहिलो कुरा नेपालको राज्य सङ्कटमा पर्नुको नम्बर १ कारण के हो भने यहाँका उद्योगधन्दा, कलकारखानाहरूको विकास नहुनु हो । अर्थतन्त्रमा एउटा प्रगतिशील अर्थतन्त्र जसलाई हामी के भन्दछौँ भने औद्योगिक अर्थसम्बन्ध, त्यसले संरक्षण गर्न नपाउनु, त्यसले संरक्षण, फल्ने फुल्ने वातावरण नपाउनु नै समस्या हो । यहाँ दलाल पुँजीवादी अर्थतन्त्र र सम्बन्ध हो । यहाँ पैसा बेचेर खाने दलाल पुँजीवादी अर्थसम्बन्ध छ । जनताको जीवन परिवर्तन हुने गरी आत्मनिर्भर अर्थतन्त्रको विकास नगर्ने प्रगतिशील, वैज्ञानिक र आधुनिक उत्पादन सम्बन्धको, अर्थसम्बन्धको विकास नगर्ने भनेको औद्योगिक उत्पादन सम्बन्धको विकास नगर्ने नै दलाल पुँजीवादको समस्या हो ।
जहाँ अर्थसम्बन्धकै समस्या छ भने यो राज्यले उद्योगधन्दा, कलकारखाना चलाउनेहरूको संरक्षण गर्दछ अनि औद्योगिक अर्थसम्बन्ध नयाँ आधुनिक र वैज्ञानिक हुनुपर्दछ भनेर लड्ने पार्र्टीले चाहिँ उद्योगी व्यवसायीहरूलाई च्याप्छ वा उनीहरूले सुविधालाई ध्यान दिँदैनन् भन्ने नितान्त गलत कुरा हो । मैले कैयौँ बेला नेपालका उच्च स्तरका व्यवसायीहरूसँग छलफल गर्दा कुरा गरेको छु । उहाँहरू सायद प्रस्ट हुनुहुन्छ र हुनुपर्दछ । जानीजानी भ्रमिपूर्ण कुरा गर्ने कुरा छुट्टै हो । अन्यथा हामीले के भनेका छौँ भने कुनै पनि व्यवसायीले हामीबाट अलिकति, रौँबराबर पनि सशङ्कित र सङ्कुचित हुनुपर्ने, चिन्तित हुनुपर्ने छैन । हामी त सहकार्य गर्न तयार छौँ । हामी उहाँहरूलाई भन्छौँ– हामी सहकार्य गरौँ । तपाईंहरू राज्यबाट संरक्षणविहीन र उपेक्षित हुनुहुन्छ । हामी जतिसक्यो आन्दोलनका बीचबाट गर्दै जान्छौँ । तपाईंहरूका लागि राज्यसँग पनि सङ्घर्ष गर्दछाैँ । हाम्रो पार्टीको नीति के छ भने नेपालमा राज्यले नै उद्योगधन्दा, कलकारखाना र उद्योगी व्यवसायीहरूको संरक्षण गर्दै जानुपर्दछ । राज्यले नै उद्योग व्यवसायको संरक्षणमा ठोस नीति बनाएर जानुपर्दछ ।
नेपालमा भर्खरै हुर्कंदै गरेको राष्ट्रिय पुँजीलाई बाहिरको निगम पुँजी आएर खाइदिने र बाहिरको बैँकिङ पुँजी आएर खाइदिने खतरा छ । त्यो खतराबाट बचाउनका लागि नेपालका उद्योगी व्यसायीहरूसँग छलफल गर्दै अघि जाने नीति बनाउनुपर्दछ भनेर हामी लडिरहेका छौँ । जहाँ औद्योगिक पुँजीको विकास उद्योग व्यवसाय, बजारको व्यवस्था, कलकारखानाहरूको विकासमा आज हामी आफ्नो तरिकाले गर्ने सहयोग गरिरहेका छौँ, यसमा कुनै अलमल हुनुपर्ने कुरा छैन । हामीले भनेका छौँ, तपाईंहरूको हितका लागि लडिरहेका छौँ । तपाईंहरू पनि हामीलाई मद्दत गर्नुहोस् भनेका छौँ । हामीले के भनेका छौँ भने निगम पुँजी जसले देशको सम्पत्ति लुटेर लान्छ, ऊसँग मिलेर काम गर्दछौँ भन्नुभयो भने, जसले तपाईंहरूको पुँजी खाइदिने गरी आइरहेको छ त्यसैसँग मिलेर फेरि काम गर्दछाैँ भन्नुभयो भने त्यो आफैँ सक्किने कुरा हो । हामीले आपसमा सहकार्य गरेर जाने भनेका हाैँ । त्यसैले हामीले आज मात्र हेरेर हुँदैन नि, आज उद्योगमन्त्रीसँग सहकार्य गरेर पुगिहाल्छ भन्ने होइन ।
नेकपा भनेको जनतासँग जोडिएको पार्टी हो । सहरमा नभए पनि गाउँमा त हाम्रो जनसत्ता छ नि त । गाउँमा न्याय खोज्नका लागि बाहिर जानु पर्दैन नि त । संरक्षण गर्न अरूहरूसँग जानु पर्दैन नि त । अहिले त्यो कैयौँ ठाउँमा प्रचारात्मक र कैयौँ ठाउँमा कामकाजी भए पनि गाउँमा त जनसत्ता छ र यो अघि बढ्दैछ । तपाईंहरू बुझ्नुहोस्, केन्द्रमा लेखिएको नियम र विनियमले मात्रै हुँदैन । संरक्षण त जनताको सत्ताले तलबाट पनि गर्दछ । जनताकै हितमा र राष्टङ्को हितमा काम गर्नुभयो भने जनसत्ताले तपाई हरूको हितमा काम गर्दै जान्छ । तर बाहिर हेर्दा उद्योग खोलेको जस्तो गर्ने, भित्र राज्यसँग मिलेर जनतालाई दोहन गर्ने गरे त हाम्रो सत्ताले पनि मान्दैन नि । उदाहरणका लागि एनसेलले के तर्क गर्दछ भने हामीले नेपालका हजारौँलाई रोजगार दिएका छौँ ।
ठीक छ, एनसेलले गरोस् तर सुविधाका नाममा जनतालाई थाहै नहुने गरी अत्याचार मच्चाउनुभएन नि ! अनि गरिब देशबाट वर्षमा अर्बौंखर्बौं पुँजी विदेश पलायन गर्नु भएन नि । यसो भन्नु उद्योगी व्यवसायीका विरुद्ध हुन्छ कि संरक्षण हुन्छ । जस्तो एनटीसी, आफ्नो सूचना सञ्चारलाई करप्सन गरेर ध्वस्त पार्ने एनटीसी राम्रो बनाएर राज्यलाई फाइदा हुन्छ नि, त्यो ध्वस्त पार्ने तर पैसाजति एनसेलमा सोझ्याउने, खेतको कुलो अर्कोतिर फर्काएको जस्तो गर्ने प्रवृत्ति देशलाई ठगेर विदेश पलायन गर्ने प्रवृत्ति हो । हामी यसका विरुद्ध त लड्छौँ नि । वैज्ञानिक समाजवादमा मात्रै वास्तविक रूपले उद्योगधन्दाहरूको विकास र संरक्षण हुन्छ । चीनमा माओले विकास गरेको नयाँ शिक्षानीतिले हरेक जनता, हरेक किसानको छोरालाई चेतना उठाएपछि आज चीन औद्योगिकीकरण भएको हो नि ! समाजवादले यो ल्याउँछ । यसमा ढुक्क भए हुन्छ ।
पछिल्लो चरणमा नेपालको भूभागमा भारतले हस्तक्षेप गरेपछि ठूलो स्तरमा राष्ट्रिय आन्दोलनको उठान पनि भयो । नेपालको हस्तक्षेप गरिएको भूभाग समेटेर नक्सा त सार्वजनिक भयो तर अहिले त्यो विषय त्यत्तिकै थन्किएको अवस्था छ । यो भूभाग नेपालले पूर्ण रूपले प्राप्त गरिसकेको अवस्था छैन । यही क्रममा भारतीय सेना प्रमुख, ‘र’ का प्रमुखलगायतको नेपाल भ्रमण भयो । नेपालमा फेरि ठूलो राष्ट्रघातको आशङ्का गरिएको अवस्था छ । यसलाई कसरी बुझ्नुपर्छ ?
नेपालमा राष्ट्रियताका विषयमा लामो बहस छ । अहिले कालापानी, लिम्पियाधुरा, लिपुलेकको बहस अगाडि आए पनि ब्रिटिसकालदेखिकै कैयौँ बहसहरू छन् हामीले खोज्दै गयाैँ भने । तर नढाँटेर भित्रदेखि नै भन्ने हो भने नेपालीहरूलाई के लागेको छ भने अङ्ग्रेजसँग सम्झौता गर्दाखेरिको समयदेखिकै समीक्षा गर्नुपर्दछ । नेपालको ठूलो जनमत यसमा छ । कतिसम्म तर्क छ भने अङ्ग्रेजहरू छोडेर जाँदाखेरि दार्जिलिङका जनता नेपालमा आउन चाहन्थे । त्यो स्वतः हुन्थ्यो । अङ्ग्रेजहरू पनि त्यो नेपालकै हो भन्नेमा थिए तर नेपालका राणा शासकहरू नेपालमा दार्जिलिङ आयो भने सबै नेपालीमा चेतना आउँछ र आफ्नो सत्तामा दख्खल पुग्छ भनेर दार्जिलिङलाई त्यहीँ छोडेर आएका हुन् भन्ने तर्क त्यहाँ पुग्छ ।
अहिले कालापानी, लिम्पियाधुरासहितलाई यता मिलाएको जस्तो गरेर सिङ्गो देशको स्वाधीनता र सार्वभौमिकतामाथि नै हस्तक्षेप गर्ने खतरा पनि छ यहाँ साम्राज्यवादी र उत्तरसाम्राज्यवादीहरूको । अझ हामीले अहिले ग्लोबल भनेका छौँ । भूमण्डलीकृत पुँजीवादको चरित्र के देखिन्छ भने नेपालको राज्यसत्ता देश र जनताको बलियो नेतृत्व गर्न लायक नबनेसम्म जताबाट पनि हस्तक्षेप हुनसक्छ भन्ने बुझ्नुपर्दछ । यहाँ कसैले लिपुलेकबाट, कसैले एयरपोर्टतिरबाट, कसैले सुस्तातिर मात्र हेर्ने भन्दा पनि समग्र रूपले आइरहेको छ । जनताले हेर्दाखेरि कालापानी र लिपुलेकमा केही गरेको जस्तो देखिने तर अर्को ठाउँबाट झन् ठुलो समस्या देखिने जस्तो भइरहेको छ । यसमा त जनता सचेत हुनैपर्दछ । हामीले के भनेका छौँ भने जनताकै बलमा नक्सा जारी भयो । यो केपी सरकारको प्रगतिशील कदम भनेका छौँ तर फेरि कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नक्सा राखिएको किताब किन रोक्ने ? पछिल्लो चरणमा चीनसँगको सीमा विवादको कुरा छ । यसमा राम्रो अध्ययन गर्न आवश्यक छ ।
सारमा अतिक्रमणकारी चरित्र चीनको देखिँदैन । सहज ढङ्गले समस्याको समाधान भएको भनेको चीनसँगै हो । नेपाल र चीनका विषयमा समस्या भए दुईवटै सरकारले बसेर समस्या समाधान गरे हुन्छ नि । यसलाई विषयान्तर गर्नु हुँदैन । यही विषयलाई लिएर काङ्ग्रेसले जसरी गर्न खोजेको देखिन्छ, त्यो विषयमा काङ्ग्रेसको चाहिँ विश्वराजनीतिमा आउन थालेको धु्रवीकरणको प्रभाव होला । त्यसो गर्नु हुँदैन । नेपालमा अहिले उत्तरको होइन, दक्षिणतिरको समस्या ठूलो हो । यी सबै विषयमा नेपालका जनताको समस्या समाधान हुनुपर्दछ भन्ने नै हो ।
सत्ताधारी पार्टीको किचलोको कुरा, राष्ट्रिय स्वाधीनताको कुरा, देशभक्तहरूसँगको सहकार्यको कुरा, भारतीय सेना प्रमुखको कुरामा मुख्य कुरा के हो भने हाम्रो देशको स्वाधीनताको रक्षाका लागि र जनताका अधिकारहरू सुनिश्चितताका लागि हाम्रा तर्फबाट गरिने पहलमा कुनै सङ्कुचित हुन जरुरी हुँदैन तर के छ भने हामी सचेत हुन सकेनाैँ भने यसका पछाडि अतिक्रमणकारी, नियन्त्रणकारी दृष्टिकोण छिपेर आइरहेको छ । यसमा सचेत हुनुपर्दछ । हामीले भारतीय सेना प्रमुख आउँदा विरोध गर्याैँ । उनले खुलेआम रूपले कालापानीका विषयमा चाइनाको उक्साहटमा नेपालले यसो गरेको हो भन्नेजस्तो कुरो गरे ।
एउटा सेनाको प्रमुखले खुलेआम रूपमा यसो भन्न पाइन्छ ? आफ्नो देशको सेना लगेर नेपालको भूभागमा राख्ने, आफैँले त्यसो भन्न मिल्छ ? तिनै मान्छे आएर कूटनीतिबाट हल हुन्छ भन्ने ? यो कुराले के देखाउँछ भने भारतीय साम्राज्यवादको नयाँ नीति छिपेर आएको हुनसक्छ भनेर सचेत हुनुपर्दछ भनेर हामीले भनिरहेका छाैँ । निचोडमा भन्ने हो भने भारतजस्तो क्षेत्रीय शक्तिका रूपमा उदाइरहेको देशले आफ्नो गोटी त्यसैअनुसार चालिरहेको छ । त्यस्तो देशबाट हामी आफ्नो स्वाधीनता सीधै पाइहाल्छौँ भन्ने कुरा हुँदैन र त्यसैले आफ्नो देशको रक्षाका लागि सबै कुरा मसिनो गरी हेर्नुपर्दछ भन्नेमा हामी छौँ ।
अमेरिकी परियोजना एमसीसीबारे राजनीतिक पार्टी र सबैको कित्ताबन्दीजस्तो देखएको छ । यस विषयमा के भन्नुहुन्छ ?
यसका विषयमा त पर्याप्त बहस छ । अनौठो कुरा के छ भने अहिले रेडियोमा समेत एमसीसीको विज्ञापन गर्ने गरिएको छ । काङ्ग्रेसनजिकका देखिन खोज्ने मिडियाहरूबाट एमसीसीका पक्षमा वातावरण बनाउन खोजेको जस्तो देखिन्छ । खुलेआम रूपमा विज्ञापन गर्ने गरिएको छ । यस्तो बेलामा राज्य निरीह देखिन्छ । हुनत केपी वली नै पास गर्नुपर्छ भन्ने पक्षमा छन् । यस विषयमा अमेरिकी मन्त्रीहरूले नै बारम्बार भनिसकेका छन्– यो २००४ मा जर्ज बुसकै पालाबाट सुरु गरेको र जहाँजहाँ आफ्नो पकड कम छ त्यहाँ आफ्नो प्रभाव बढाउनलाई गरेको रणनीति हो । यो सैन्य रणनीतिलाई सेवा पुर्याउने उद्देश्य हो । यसको उद्देश्य नै जहाँजहाँ आफ्नो पकड कमजोर छ, त्यहाँ क्षेत्रीय स्तरबाट, महादेशीय स्तरबाट र ग्लोबल स्तरबाट विश्वमा आफ्नो पकड बनाउने हो । यसरी उनीहरूले भनेकै छन् ।
दक्षिणएसियामा आफ्नो पकड कमजोर भएकाले यसलाई बलियो बनाउनका लागि विकास गरिएको सैन्य रणनीति हो भनेर अमेरिकाले भनेको छ । अमेरिकाको सैन्य रणनीतिलाई मद्दत गर्ने रणनीति नै एमसीसी हो भनेर अमेरिकाले भनिसकेको छ । विकास निर्माणका नाममा, सहयोगका नाममा आफ्नोअनुसार कानुन बनाउने, सरकार बनाउने र देशलाई उपनिवेश बनाउने अन्तिम लक्ष्य हो । राम्रो कुरा के छ भने यसका बारेमा जनता पनि सचेत हुँदै गएका छन् र सरकारी पार्टीभित्र पनि यसको बहस तीव्र भएको छ । हामीले पनि यसलाई पास हुन दिनु हुन्न भनेका छौँ ।
नेपालमा कम्युनिस्ट व्यवस्था नआओस्, यो चाइनासँग नजाओस् भन्ने, चाइनालाई घेर्ने, नेपाललाई आफ्नो मुठीमा राख्ने, नेपालमा अमेरिकी सेना राख्ने, आफ्नोअनुसारको कानुन बनाउने भन्ने यसको उद्देश्य हो । एमसीसी प्रोजेक्ट लागू भए नेपालले छुन नपाउने, उनीहरूकै कानुनअनुसार गर्ने, उसको इच्छाअनुसार गर्ने भन्ने छ । यसले के देखाउँछ भने एमसीसी पारित भएमा नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि पूर्ण रूपले हस्तक्षेप हुनेछ र देश पराधीन हुनेछ भनेर हामीले विरोध गरेका हौँ ।
यो सरकार र व्यवस्थासँग असन्तुष्ट अन्य कम्युनिस्ट पार्टीहरू जो जनवाद वा समाजवादमा विश्वास राख्छन्, उनीहरूका बीचमा क्रान्तिकारी ध्रुवीकरण, पार्र्टी एकता वा संयुक्त मोर्चा, कार्यगत एकतालगायत प्रसङ्ग चलेका छन् । यो प्रक्रिया अहिले कुन अवस्थामा छ र यसबारेमा नेकपाको नीति के छ ?
यो विषयमा सबैको चासो छजस्तो लाग्छ । मानिसहरूले भनेका पनि छन् । हामीलाई खबर पनि पठाइरहनुभएको छ । बुद्धीजीवी, वामपन्थी व्यक्तित्वहरूले । यस्तो बेलामा उहाँहरूले हामीलाई विकल्प दिनुपर्यो भनिरहनुभएको छ । हामीले यसलाई सकारात्मक रूपमा ग्रहण गरेका छौँ । हामीले यस विषयमा के भनेका छौँ भने यो दलाल पुँजीवादी सत्ता र यसका विरुद्धमा जाने सबै कम्युनिस्ट क्रान्तिकारीहरूसँग हाम्रो सहकार्य गर्ने नीति प्रस्टै छ । हामीले पहिलेदेखि नै भन्दै आएका छौँ र पछिल्लो समयमा यो प्रगतितिर गएको छ । ४–५ वटा कम्युनिस्ट पार्र्टीहरूसँग त हाम्रो राम्रै छलफल चलेको छ । पत्रहरू आदानप्रदान पनि भएको छ । कुराकानी पनि भैरहेको छ । अरू विभिन्न व्यक्तित्वहरूसँग पनि विभिन्न माध्यमबाट र प्रत्यक्ष पनि कुरा भैरहेको छ । त्यस हिसाबले हामी निकै उत्साहित छौँ । कार्यगत एकताका विषयमा २१ दल जो बनेको छ त्यसमा हाम्रो समर्थन छ । हाम्रो पार्टी नै त छैन तर त्यसलाई हामीले समर्थन गरेका छौँ ।
अस्ति गृहमन्त्रीले हामीलाई भूमिगत भन्दै पार्टीसँग सहकार्य गर्ने यो मोर्चालाई छोडिँदैन भन्याजस्तो पनि गरे । त्यो त उनको कुरा हो । यो धेरै सङ्कुचित, आतङ्कित, सशङ्कित, त्रसित, अझ यसो भनौँ पूर्वाग्रही, अझ यसो भनौँ अराजनीतिक र अनैतिकजस्तो देखिन्छ तर २१ दलसँग हाम्रो समर्थन छ किनकि २१ दल जो छ त्यसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा लडिरहेको छ । अर्को कुरा मिल्नेसँग हामी पार्र्टी एकता नै गर्ने भन्ने छ र त्यो कुरा पनि चलिरहेको छ । यसमा हाम्रो प्रस्ट कुरा के छ भने समयमा बुद्धि नपुर्याउने, पछि पछुताउने कुराबाट हामीले सिक्नुपर्छ । पहिले हतारमा एकता गर्ने, पछि एकताको भोलिपल्टबाट लडाइँ सुरु गर्ने र झोला बोकेर हिँड्ने गर्नु हुँदैन किनभने मित्रवत् सम्बन्धहरूलाई मित्रवत् बनाउन जोड गर्नुपर्दछ । मैले साथीहरूसँग भेट्दा पनि यो भन्ने गरेको छु ।
नेपालको संस्कार के छ भने भित्र पर्यो भने बाहिरकोलाई नदेख्ने, उछित्तो काढ्ने संस्कारको पनि समस्या छ जस्तो लाग्छ भने त्योभन्दा त मैत्रीपूर्ण सम्बन्ध बनाएर हो नि त सहकार्य गर्ने एकतामा राम्रोसँग मेहनत गर्ने तर हतार नगर्ने । हतारमा एकता गरेर अर्को दिनबाट फेरि लडाइँ सुरु गरेर बोलीचाली नै बन्द गरेर भएको मित्रता पनि सक्ने रूढिवादी चिन्तनमा जानु हँुदैन । त्यसका लागि बरु सहकार्य राम्रोसँग गर्ने र एकताका लागि वातावरण बनाउँदै जाने भनेका छौँ । रणनीतिक मोर्चाहरू बनाउने हुनसक्छ । हाम्रो यो छ र यसमा राम्रो प्रगति भएको छ । सायद निकट भविष्यमा नयाँ परिणामहरू पनि आउलान् । यही कुरा हामीले अरूसँग पनि भनेका छौँ । राजनीतिक, सैद्धान्तिक स्तरमा गरिने बहसमा त हामी तयार नै छौँ ।
सत्ताधारीहरू कम्युनिस्ट होइनन्, हामी त हौँ नि ! हामी त भागेर हिँड्ने पक्षमा छैनौँ । हामी त सँगै बसेर बहस गर्न तयार छौँ नि । हतारमा एकता गर्ने, भोलिपल्टबाट उछित्तो काढ्ने ? अहिले केपी–प्रचण्डहरूको हेरौँ न । सायद हामीजस्तो नजिकबाट कसैले बुझेको छैन होला के, अहिले सायद काङ्ग्रेस पनि दङ खाएर बसिरहेको छ होला । तिनीहरूले एक–अर्कालाई सत्तोसराप गरेको, उछित्तो काढेको, बर्बराएको कुरा, लगाएको आरोपहरूको चाङ देखेर काङ्ग्रेस पनि प्वाक्क परेर बसेको जस्तो लाग्छ । यो अनुभवसहित हामी सबै मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने पक्षमा छौँ । हामीलाई वामपन्थी बुद्धिजीवीहरूले दिएको सुझावजस्तै यो व्यवस्थाको विकल्प खोज्ने शक्तिहरूले साहसका साथ नयाँ एकता र नयाँ मोर्चाहरू निर्माण गर्नेतिर जानुपर्दछ भन्ने हाम्रो जोड छ ।
पछिल्लो चरणमा अलि सङ्घर्ष र आन्दोलन गर्नुपर्दछ भन्ने युवाहरूको जोड छ नै तर अलि पाका अग्रज कम्युनिस्ट नेताहरू पनि नेकपाप्रति आकर्षित भएको र उहाँहरू पनि तपाईंहरूसँग सहकार्य गर्न चाहनुहुन्छ । तपाईंहरू यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
यो राम्रो कुरा हो र हामीबीच विभिन्न स्तरमा प्रत्यक्ष कुराकानी पनि भैरहेको छ । हामी जीवन्त सम्पर्कमा पनि छौँ । स्थापित व्यक्तित्वहरू, वामपन्थी बुद्धिजीवीहरू, लेखकहरू, वामपन्थीहरू, साहित्यकार, कलाकार सबैको, देशभक्तहरूको सुझाव के छ भने सहकार्य गरौँ भन्ने छ । हामी छलफल गरिरहका छौँ । उहाँहरूको सुझाव हामीले हार्दिकतापूर्वक ग्रहण गरेका छौँ । त्यसमा हाम्रो पार्र्टीले कसरी लान्छ, कस्तो स्थान दिन्छ भन्ने कुरामा सबै प्रस्ट भए हुन्छ । हामी सङ्कुचित छैनौँ ।
मुख्य कुरा देशलाई बदल्ने हो । समाजलाई रूपान्तरण गर्ने हो । राज्यसत्तालाई रूपान्तरण गर्ने कुरा हो । नेपाली जनताका बीचमा जनताको व्यवस्था लिएर आउने कुरा हो । त्यसमा सहकार्य गर्न कुनै कठिनाइ छैन । हामी आनन्दपूर्वक सहकार्य गर्न सक्छौँ । हामीले आधार तयार पार्नुपर्छ भनेका छौँ । हाम्रो देशलाई नयाँ युगतिर प्रवेश गराउने कुरामा कुरा मिल्यो भने हामी तयार रहेको कुरा भनिरहेका छौँ र यसका लागि वातावरण पनि बन्दै गएको छ ।
पछिल्लो समयमा पार्टीका वरिष्ठ नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लगायत नेताहरू कोही प्रतिबन्धपछि र कोही प्रतिबन्धअगाडिदेखि नै राज्यको जेल र हिरासतमा हुनुहुन्छ । एउटा पार्टी नेतृत्वको हैसियतले उहाँहरुलाई कसरी सम्झनुहुन्छ र बन्दीहरूप्रति के भन्नुहुन्छ ?
यो गम्भीर विषय पनि हो र भावनात्मक विषय पनि हो । हामीले पार्र्टी पुनर्गठनको बेलादेखि नै के भन्दै आएका छौँ भने हामी नेपाली जनताका लागि नयाँ बाटो, अलि कठिन बाटो र अलि मौलिक बाटो हिँड्छौँ भनेकै थियौँ । त्यसपछि हामीले त्याग, समर्पण र बलिदानको बाटो हिँड्छौ भनेकै थियौँ । यो प्रतिबद्धतासहित हामी महाधिवेशनमा गयौँ र एकताबद्ध भयौँ । जनताका पक्षमा लड्ने कुरा इतिहासदेखि नै अलि जटिल विषय छ । देशका पक्षमा लड्ने कुरा इतिहासदेखि नै पेचिलो बनेको छ । जसले लड्न सक्छ उसले नै जनताको साथ पाएको कुरा इतिहासदेखि नै छ । त्यो बाटोमा हामी प्रतिबद्ध भएर हिँडेका हौँ । त्यो गर्दा हामीले सुरु पनि गर्याैँ र प्रतिरोध आन्दोलन पनि अघि बढायौँ ।
भ्रष्टाचारविरुद्ध र राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढ्यो । आन्दोलन अघि बढ्दै जाँदा हाम्रा जिम्मेवार कमरेडहरू अहिले राज्यको नियन्त्रणमा, जेल र हिरासतमा हुनुहुन्छ । चरम यातना दिइएको छ र मनोवैज्ञानिक रूपले प्रताडित गर्ने कार्य पनि भएको छ । हामीले बुझेको कुरा के हो भने क्रान्तिमा जनताको भविष्यका पक्षमा लड्दाखेरि विभिन्न क्षेत्रबाट त्याग, योगदान, बलिदान गर्नुपर्ने हुन्छ । त्यसमध्ये जेल, हिरासत पनि एउटा हो । ११ जना साथीहरू त सहिद भैसक्नुभयो । सयौँ कमरेडहरू यातनासहित जेल र हिरासतमा हुनुहन्छ । केहीसँग हाम्रो कुरा पनि भएको छ र लेखी पनि रहनुभएको छ । जनयुद्धमा दिएको यातनाभन्दा तल गिरेर पनि यातना दिने, निच खालका गाली गर्ने काम भएको पाइएकोे छ । हामीले भनेका छौँ– जेल पनि एउटा मोर्चा हो । कैयौँ साथीहरू जेलको मोर्चाबाट पनि लडिरहनुभएको छ ।
हाम्रा सहयोद्धा वरिष्ठ कमरेडहरू हेमन्तप्रकाश ओली ‘सुदर्शन’, चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, अनिल, माइला लामा, आदर्श, रणवीर, निर्माण, जोखिमलगायत कमरेडहरू जेलमा हुनुहुन्छ । उहाँहरू जेलको मोर्चामा निर्धक्क लड्नुभएको छ । उहाँहरूलाई हाम्रो सलाम र विशेष सम्मान छ । उहाँहरू यो मोर्चामा सफल र विजयी भैरहनुभएको छ । उहाँहरूलाई झुकाउन चाहन्थे तर उहाँहरू क्रान्तिको अभियानमा लामबद्ध भैरहनुभएको छ । उहाँहरूले लेखहरू, अन्तर्वार्ता र भनाइहरूबाट जनतालाई शिक्षित पनि गरिरहनुभएको छ । यसले हामीलाई ऊर्जा पनि भैरहेको छ । हाम्रो क्रान्तिको सफलतासँगै जेल मोर्चामा पनि विजय हासिल हुन्छ भन्ने कुरामा विश्वास छ । यो पार्र्टी पुनर्गठनको सुखद अवसरमा उहाँहरूलाई म भावपूर्ण सम्मान व्यक्त गर्दै हामी लडौँ र जित्छौँ भन्ने सन्देश सम्प्रेषण गर्न चाहन्छु ।
अहिले पछिल्लो चरणमा जेल परेका नेता–कार्यकर्ताहरूको त्यहाँ सङ्घर्ष गर्दै जेलबाट निस्किसकेपछि जिम्मेवारीको व्यवस्थापनका कुराहरू पनि छन् । कतिपय विभिन्न दबाबमा परेर त्यहाँ कागज गरेर निस्केकाहरू पनि छन् । कतिपयचाहिँ विभिन्न कारणले यो पार्र्टी छोडेर अन्य पार्र्टीमा गएका र त्यहाँ पनि असन्तुस्ट भएर यो पार्र्टी र आन्दोलनलाई माया र सद्भाव राख्नेहरू पनि छन् । सँगसँगै केही समयअगाडि पार्टीले शुद्धीकरण अभियानका क्रममा विभिन्न नेता–कार्यकर्ताहरूलाई अर्को नयाँ जिम्मेवारीमा खटाएको कुरा पनि छ । यी सबैखालका नेता–कार्यकर्ताहरूलाई कसरी बुझ्नुहुन्छ ? ती नेता–कार्यकर्ताहरूको व्यवस्थापनको कुरा के छ ?
राम्रो कुरा उठाउनुभयो । एउटा शुद्धीकरण अभियानको, एउटा राज्यले नियन्त्रण गरेपछि आएका समस्याहरू र अर्को जेलमा परेर छुटेकाहरूको कुरा छ । जेलमा साथीहरू लडिरहनुभएको छ । त्याग गरिरहुनुभएको छ, अगाडि पनि मैले भनेँ । कैयौँ साथीहरूलाई समस्या पर्यो, टिक्न सक्नुभएन । अलिअलि झुक्नुभयो । त्यसो गर्नु हुँदैनथ्यो । हामीले भनेका पनि छौँ । यो कुनै स्वार्थका लागि त थिएन । यो जनताको स्वार्थका लागि हो भन्ने बुझेपछि त्यति धेरै आत्तिनुपर्ने त थिएन । जो साथीहरूले कागज गरे, आत्मसमर्पण गरे, त्यो अहिले नै केही हुँदैनथ्यो । त्यसो गर्नु जरुरी नै थिएन । कैयौँ ठाउँमा त म के सुन्छु भने पुलिसले नै नआत्तिनुहोस् भनेको अवस्था छ । सबैतिर सकारात्मक अवस्था छ । यही बेला नै आत्तिनुपर्ने त थिएन । उहाँहरूको दिमागमा जनयुद्धको जस्तो भूत चढेको हो ।
एकीकृत जनक्रान्तिमा हामी आफ्नो स्टेपअनुसार गैरहेका छौँ । यहाँ आत्तिनुपर्ने थिएन । आत्तिएर जो साथीहरू विचलित हुनुभयो, उहाँहरूलाई कारबाही पनि गरेका छौँ र भनेका पनि छौँ । तर हाम्रो भनाइ के छ भने कमीकमजोरी भए पनि रूपान्तरण हुनुपर्छ । जस्तै पूर्वमाकेका साथीहरू त्यहाँ पुग्दा पनि कैयौँले भन्नुहुन्छ– हाम्रो मन त त्यतै छ । हाम्रो साथ त्यतै छ । त्यो त भन्न पाइयो त । थोत्रो घरमा बसे पनि सफा र सुन्दर घरको प्रशंसा गर्न त पाइयो त । सुखद भविष्यको कल्पना गर्न त पाइयो त । तपाईंहरू विचलित हुनुभयो, पार्र्टीले कारबाही गर्यो भने पनि तर सही त यही बाटो नै हो नि त । यो त हामीले जानीबुझीकन आत्मसाथ गरेको बाटो हो । हिँड्न कठिन भयो, लडियो । उपाचार गर्दै, आराम गर्दै अघि बढौँ र रूपान्तरित हौँ भन्ने मेरो भनाइ हो ।
दोस्रो कुरा अलि पर पुगेका साथीहरू जस्तै बादल गएको जस्तो क्या ! नाटकजस्तो । हिजो हामीसँग आउँदाखेरि प्रचण्डलाई सत्तोसराप गर्ने, जमिनमुनि भासिनेजस्तो गरी भन्ने, आएको डेढ वर्ष बितेको छैन, फेरि कमजोरी गरेँ भन्दै उतै भासिन पुग्ने ! यस्तो पनि हुन्छ ? मलाई लाग्छ, प्रचण्डले एक्लै बस्दाखेरि कहिलेकहीँ गौरवपूर्ण इतिहासको स्मरण गर्दा हुन्जस्तो पनि लाग्छ के ! ट्रेन्चमा बसेर, ढिँडो खाएर, गुन्द्री र कम्बलमा सुतेर, जनमुक्ति सेनाको लाममा बसेर देखेको गौरवपूर्ण इतिहासको स्मरण पनि गर्दा हुन्जस्तो लाग्छ के ! अहिले सिंहदरबारमा बसे पनि, आलिसान महलमा बसे पनि त्यो स्मरण त हुँदो हो नि जस्तो लाग्छ । त्यहाँबाट हुनेवाला केही छैन । हुने बाटो यही नै हो । हुने बाटो भनेको रिभुलेसनको, क्रान्तिको बाटोबाट नै हो । त्याग, समर्पण, कठिनाइको बाटो नै हो । रूपान्तरणको बाटोबाटै हुने हो । त्यहाँ पुुगेका साथीहरूलाई पनि म त के भन्छु भने फेरि फर्किनुहोस्, सबै एक ठाउँमा आउनुहोस् ।
एक ठाउँमा प्रचण्डले भन्नुभा रैछ– सबै माओवादीहरू एक ठाउँमा हौँ । मेरो पनि भनाइ त्यही हो– आउनुहोस्, फर्किनुहोस्– प्रचण्डहरू, बाबुरामहरू । अँध्यारो बाटोतिर गएपछि त्यता बाटो छैन भनेर टाउको ठोकेर मर्नु र सिद्धिनुभन्दा त फर्किनुपर्यो नि त । त्यहाँबाट केही हुनेवाला छैन । आउनुहोस्, क्रान्तिको बाटो यही नै हो । उहाँहरूलाई यस्तो भनाइ छ भने हाम्रा साथीहरूलाई पनि रूपान्तरण भएर जाऔँ भन्ने छ । कैयौँ साथीहरू त्यहाँ गएर, विचलित भएर, हैरान भएर बसेका छन् । आउनुहोस्, दुःख गर्ने, त्याग गर्ने कुरा छ, आउनुहोस् भनेको छु ।
यसैमा अर्को कुरा के छ भने कैयौँ पूर्वसहयोद्धाहरूले के भन्ने गरेको सुनिन्छ भने हाम्रो कसो हुन्छ, के हुन्छ भन्ने गरेको भन्ने सुनिन्छ । यो भनेको क्रान्ति हो । क्रान्तिमा स्थायी स्वामित्व कसैको पनि हुन सक्दैन । यो क्रान्तिकारीहरूको दायित्व र जिम्मेवारी हो । यो कर्तव्य हो । यसमा जो पनि जोडिन पाउँछ । यहाँ कुनै पूर्वाग्रह, यता–उता भन्ने कुरा हुँदैन । आउनुहोस्, सहकार्य गरौँ । नेपाली समाजलाई वैज्ञानिक, महान् सभ्यतातिर लैजाऊँ । हामी सबै मिलेर त्यसको संरक्षण गरौँ । मेरो यो आग्रह छ ।
शुद्धीकरण अभियानमा नयाँ जिम्मेवारीमा खटाइएका नेता–कार्यकर्ताहरूका विषयमा चाहिँ… ?
ठीक हो । मानिसहरूले यसलाई जसरी हेरे पनि यो हामीले चालेको ठूलो कदम हो । हामीले गरेको भनेको नयाँ कार्यविभाजन मात्रै हो । पार्टीको केन्द्रीय समिति भनेको राजनीतिक जनरल स्टाफजस्तै हो । यहाँ बस्नेहरूले पनि नयाँ जिम्मेवारीसहित गरौँ र अरू साथीहरूले पनि नयाँ जिम्मेवारीसहित गरौँ भन्ने भयो । यसलाई हामीले शुद्धीकरण भन्यौँ । यो राम्रैसँग लागू भएको छ । यो खुसीको कुरा हो । जहाँसम्म कतै तालमेल नमिलेको भन्ने कुरा छ, त्यहाँ हामी मजाले छलफल गर्न सक्छौँ । एउटा क्रान्तिकारीले जस्तोसुकै अवस्था र ठाउँमा बसे पनि खुसीका साथ गर्ने कुरा हो । त्यो वातावरण हामी बनाउँछौँ र कमरेडहरूले पनि त्यो गरिरहनुभएको छ । जहाँसम्म विरोधीहरूको कुरा हो, अब दुर्घटना गराउँछन्, बेढङ्गको कदम चाल्छन् भन्ने कुरा छ, राम्रो पार्टी बनाएपछि राम्रो कदम पो हुन्छ त । यसलाई अन्य कुनै कोणबाट, आग्रह–पूर्वाग्रहबाट हेर्न जरुरी छैन ।
यो सरकार नेकपालाई कहिलेकहीँ खतरनाक शक्तिका रूपमा प्रस्तुत गर्छ, कहिलेकहीँ सामान्य हो र यसलाई नियन्त्रणमा लिन्छौँ भन्छ । कहिलेकहीँ वार्ता र संवादका कुरा पनि आउँछन् । सरकारले वार्ता चाहेको तर नेकपाले वार्ता नचाहेको भन्ने कुरा आउँछ । वार्ता र संवाद के हो र यसको खास कुरा के हो ?
तपाईले दुईवटा विषय उठाउनुभयो । पहिलो कुरा राज्यले हामीलाई कस्तो रूपमा लिएको छ भन्ने कुरा हो भन्ने पनि छ । कैयौँ हाम्रा मित्रहरूले के भन्नुहुन्छ भने यो बेलामा त अलि गर्नुपर्ने हो । अलि कम भयो कि के हो ! एकडेढ वर्षमा त केही डाङडुङ पनि सुनिन्न भन्ने कुरा पनि पठाउनुभयो । यो बेलामा अलि ठूलो दनक दिनुपर्छ भन्ने पनि छ । कसैले फेरि होइन, फर्केर आउनुपर्यो । चुनावसुनाबको तयारी गर्नुपर्दछ भन्ने पनि छ । यी सबैखाले बुझाइहरू एकपक्षीय छन् । हामी रिभोलुसनमै छौँ र त्यस्तै खालका कदम चालेका छौँ । यो बडो सुझबुझपूर्ण पनि छ । मैलै एक ठाउँमा यस्तै अन्तर्वार्तामा भनेको पनि छु हामीले गर्ने क्रान्ति जनताले नदेख्ने मोडभन्दा पर जानु हुँदैन । क्रान्ति त हुने तर जनताले नदेख्ने ठाउँमा जाने क्रान्ति हुनु हुँदैन ।
जनताको आँगनभन्दा पर जाने क्रान्ति हामीले चाहेको होइन । कसैको अपेक्षा योभन्दा अलि बढी हुनुपर्छ भने कति हुनुपर्छ ? हामी जहिले पनि तयार छौँ नि ! जनताले एनसेललाई यतिले पुगेन भन्नुभयो, हामीले गर्यौँ । कैयौँ भ्रष्टाचारीहरूलाई योभन्दा बढी हुनुपर्छ भनियो, त्यो गर्यौँ । तपाईंहरू बन्दुक र बम मात्र नपड्काउनुहोस् है भन्ने सुझाव आयो, ठीक छ त, हामी जनतासँगै छौँ । हामी जेल बसिरहेका छौँ । हामी लडिरहेका छौँ । हामी यस्तो क्रान्तिका पक्षमा छौँ जसलाई जनताले ग्रहण गरोस् र यसलाई उचित ठानोस् । मानाैँ यसलाई घटनाका रूपमा नभएर यसलाई भावना र सद्भावको रूपमा हेरौँ । तिहारपछि एउटा पत्रिकाले के लेख्यो भने तिहारपछि नेकपा चौकी हान्ने तयारी गर्दैछ । होला–होला भनेर मान्छेले हल्ला गर्न थाले । त्यस्तो कुरा होइन । हामी यो भन्छौँ– तपाईंहरू नै भन्नुहोस् यो सत्ताले काम गरेन पनि, हामीले क्रान्तिको मात्रालाई कति उठाउनुपर्छ तपाईंहरू तयार हुनुहोस्, हामी त सधैँ तयार छौँ नि ।
जहाँसम्म राज्यको कुरा छ, अस्ति भर्खरै गृहमन्त्रीले ३ वटा आरोप लगाए ः एउटा कुरा भूमिगत भनेर उनले भने । हामीले भूमिगत कहिल्यै भनेका छैनौँ भने केको भूमिगत ? भूमिगत भन्ने शब्द त हिजो पञ्चायतको बेलाको बाध्यताको शब्द हो । आज केको भूमिगत ? हामी त आज जनताको बीचमा बसेर प्रतिस्पर्धा गरिरहेका छौँ । हामी त खुलामञ्चमा आउन तयार छौँ नि । यो शब्द उनले जे प्रयोग गरे त्यो आतङ्कित शब्द हो । दोस्रो कुरा उनले चन्दा उठाएर आतङ्क मच्चायो भने । हामीलाई चन्दामा मात्रै त विश्वास छैन नि ! त्यो पनि निहुँ खोज्ने र अरूलाई त्रसित पार्ने कुरा हो । उद्योगी व्यवसायीसँग सहकार्य भयो भन्ने आतङ्क हो । तेस्रो कुरा जनताका अधिकारहरूलाई अवरोध गरे भन्ने कुरा । आफूले बोल्नै नदिने र प्रतिबन्ध लगाउने, दमन गर्ने ? यो सबै कुराले के हो भने राज्य आतङ्कित छ ।
यसो भन्ने हो भने भौतिक रूपले हिजो जनयुद्धको बेला त्यस्ता मान्छेहरू राज्यले मारेको थियो, सक्किएको थियो त ? साढे १० हजार मान्छे मार्दा र तथ्याङ्कमै साढे ८ हजार हाम्रा मान्छे मार्दाखेरि ? अहिले हाम्रा केही हजार साथीहरू समातिएर अथवा केही दर्जन साथीहरू सहिद भएर यो सकिन्छ त ? यो त दृष्टिकोणको कुरा हो नि मान्छे मारेर क्रान्ति सकिने, पार्र्टीमाथि दमन गरेर क्रान्ति सकिने भन्ने कुरा हुन्छ ? त्यो त अज्ञानताको कुरा हो । सत्तामा बसेपछि अहंकार गरेर हुन्छ ? क्रान्ति त कतिबेला सकिन्छ भने जब जनताका समस्याहरू सबै हल हुन्छन् नि, त्यही बेला मात्रै क्रान्ति सकिन्छ । जनता उत्पीडनमा रहेसम्म क्रान्ति सकिँदैन । एउटा पार्र्टीका नेता–कार्यकर्ताहरूको बलिदान हुनसक्छ, केही नेता–कार्यकर्ताहरूमा समस्या आउनसक्छ तर क्रान्ति सकिँदैन । जनता फेरि विद्रोह गरेर आउँछन । जनता फेरि क्रान्ति लिएर आउँछन् । साँचो कुरा के हो भने क्रान्ति एउटा उभारतिर र नयाँ गतितिर गैरहेको छ । भ्रम त जे पाले पनि हुन्छ ।
अर्को वार्ताको कुरा जो छ, यसमा हामीले प्रस्ट भनेका छौँ– बाहिर जे प्रचार छ, त्यो सबै झूट कुरा हो । हाम्रो पार्र्टी बन्ने बेला नै हामीले हाम्रा कुरा सुन भनेका होइनौँ रत्नपार्कमा ? हामीले यो पार्र्टी पुनगर्ठन गर्ने बेला पनि रत्नपार्कमा भनेको होइन ? प्रचण्डसँग विद्रोह गर्दा पनि हामीले भनेको होइन तपाईं जतासुकै जानुहोस्, राज्यले हाम्रो कुरा सुन्नुपर्छ । जनयुद्धको कुरा सुन्नुपर्छ । सुन भनेको के त ? हामी कुरा गर्न तयार छौँ भनेको हो नि । हामीले पार्टी पुनर्गठन गर्दा र महाधिवेशनबाट पनि त्यही भनेका छौँ । हामीले प्रतिरोध सङ्घर्ष सुरु गरे पनि त्यही भनेका थियौँ त, आज पनि त्यही भनिरहेका छौँ । राज्यले हाम्रो कुरा सुन्नुपर्छ भनेका छौँ । हामीले यहाँ थोरै आफ्नो, व्यक्तिको कुरा, परिवारको कुरा, समूहको कुरा गरेका छौँ र ? हामीले त जनताको कुरा गरेका छौँ नि ! कस्तो कानुन लेखे र कस्तो–कस्तो कानुन बने, कस्तोखाले अर्थनीति भयो भने जनता सुखी हुन्छन्, हामीले भनेको त त्यो हो नि त ! हामी भन्छौँ नि त ! यसो भन्दाखेरि लौ वार्ताको पक्षमै छैनन् भन्ने ? यो कसरी कुरा मिल्यो ? हाम्रो इतिहासले उनीहरूकै दाबीलाई खण्डन गर्दछ ।
जहाँसम्म प्रतिबन्धको कुरा छ, उनीहरू पुगेका छन् । हाम्रा सुदर्शन कमरेडकहाँ पुगेर वार्ता गरिदिनुपर्यो भनेका छन् । हाम्रा कैयौँ जिम्मेवार सीसीएम कमरेडहरूलाई भेटेर पनि वार्ता गरौँ भनेका छन् । खै त ? वार्तालाई षड्यन्त्रमा प्रयोग गर्नु भएन नि ! उनीहरूले चाहेका हुन् भने त राज्यले बोल्नुपर्यो नि ! राज्य त कस्तो भने नि म सुन्छु– सीके राउतजस्तो बनाउने रे । सीके राउत त सीके राउत मात्र हुनसक्छ, नेपाल कम्युनिस्ट पार्र्टी त्यो हुँदैन । कसैले हामीलाई दिल्ली लगेर बार्ता गर्न चाहला, त्यो प्रचण्ड–बाबुराम मात्रै हुन्छन् त्यस्तो । नेकपा त्यस्तो हुँदैन । यो कुरा बुझे हुन्छ, यही सत्तामा पसाउने, यहीँ मात्र घुमाउने जो अहिले घुमिरहेका छन, नि उनीहरूका लागि मात्र हुन्छ, नेपाल कम्युनिस्ट पार्र्टीका लागि त्यो हुँदैन । छलफल केका लागि हो, हामी त सधैँ खुला नै छौँ त । वार्ता हाम्रो कुरा होइन, वार्ता त देशको भविष्य र जनताको स्वार्थलाई केन्द्रमा राखेर मात्र हुन्छ । अहिले कताकता हल्ला पनि चल्यो रे– सरकार इमानदार थियो, नेकपाको लिडरसिपले रुचि राखेन रे ! यो भ्रामक कुरा हो । यो जनतालाई भ्रमित पार्ने कुरा हो, यो सत्य कुरा होइन ।
कोराना महामारीपछि नेकपाले आक्रामक कारबाहीहरू स्थगित गर्यो र कार्यकर्तालाई जनसेवामा लाग्न निर्देशन गर्यो । राज्यका तर्फबाट भने गिरफ्तारी र दमन रोकिएको देखिएन । देशैभरि गिरफ्तार गर्ने र छापामार्ने क्रम बढिरह्यो । तिहारको भाइटीकाकै दिन सङ्खुवासभाको चैनपुरमा गोली चलेको छ । देशमा युद्धको घोषणा पनि भएको छैन । बमगोला पनि पड्किरहेकै अवस्था छ । तपाईंहरूलाई खुला कार्यक्रम गर्न पनि राज्यले दिएको छैन । यो स्थिति के हो ? यो अवस्थामा तपाईंहरूको नीति कार्यक्रम के हुन्छ त ?
पहिलो कुरा कोरोना सुरु भएपछि जनताको जीवनमा जुन सङ्कट पैदा भयो, यो मानवीय संवेदनाको दृष्टिकोणले पनि सङ्कटको अवस्था थियो । यो बेलामा कोरोना सङ्कटबाट पार नलाग्दासम्म अथवा सहज अवस्था नहुँदासम्म फौजी कारबाहीहरू अथवा आक्रामक कारबाहीहरू गर्दैनौँ भनेका थियौँ । सायद सरकारले यसलाई हाम्रो कमजोरीका रूपमा ठान्यो होला । जनताको सेवामा गएका हाम्रा नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने काम गर्यो । उसले गिरफ्तारी र दमन कहिल्यै रोकेन । औषधी बाँड्न, राहत वितरण गर्न गएका हाम्रा कार्यकर्ताहरूलाई पनि समात्न थालेपछि हामीले जेठमा आएर प्रतिरोध कारबाही गर्ने भनेर खोलेका हौँ ।
हामी आक्रामक कारबाहीहरू गर्दैनौँ तर अनावश्यक रूपमा पिछा गर्ने, गिरफ्तार गर्ने, जनताको सेवामा जुटेका कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, दमन गर्ने गरेको खण्डमा हाम्रो जनमुक्ति सेनाले पनि प्रतिरोध गर्ने भनेका छौँ । हुँदाहुँदा त दसैँतिहारको बेला राज्य त पूरै संवेदनाहीन भएर आयो । हामीले भनेका छौँ– अब त्यो कुरा लागू गर्दैनाँै । हामीले पुलिस–सेनालाई पनि के भनेका छौँ भने सरकारको कानुनको कुरा गरेर मात्र हुँदैन । नागरिकको तरिकाले देशका बारेमा सोच्नुहोस् । आदेशको मात्र पालना गर्दा हिजो के भयो ? आज पनि आदेशको मात्र कुरा नगराैँ । हतियार त हामीसँग पनि होला, जथाभाबी प्रयोग गर्ने ? भन्ने कुरा हुन्छ नि । जनमुक्ति सेना हामीसँग पनि छ त, हामीले खुल्लै भनेका छौँ । हामीले यो संवेदनाको बेलामा सहकार्य गर्न तयार छौँ भनेका छौँ नि । त्यसलाई दमन गरेर, बेवास्ता गरेर सरकार काम गरिरहेको छ । त्यसलाई हामीले अनैतिक भनेका छौँ ।
जहाँसम्म पछिल्लोपटक सङ्खुवासभा र अछाममा जुन प्रतिरोध भयो, त्यो हुन्छ भन्ने कुरा बुझिराखे हुन्छ । हामी खोजेर जाँदैनौँ तर काम गरिरहेको बेला दमन गर्न आए प्रतिरोध हुन्छ । साथीहरू सङ्खुवासभामा काम गरिरहेको बेला २ तिरबाट घेरा हाल्न आएपछि साथीहरूले प्रतिरोध गरेको कुरा हो । त्यो त हुन्छ नै । हामीले आक्रामक कारबाहीहरूको घोषणा गरेका छैनौँ । गर्नुपर्यो भने हामीले राजनीतिक रूपले जनतासँग छलफल गरी निष्कर्ष निकालेर मात्रै गर्दछौँ । हामी शान्तिपूर्ण रूपले आफ्ना कुरा राख्न आउँछौ नि त, यो कुरा पनि सुन्दैन । आफ्नो असफलता ढाकछोप गर्नका लागि राज्य नै हिंसाको बाटोमा छ । आतङ्कको बाटोमा छ भन्ने साबित हुन्छ ।
अबको पार्टीको योजना के छ त ?
पहिलो कुरा जनतामा जुन असन्तुष्टि छ, त्यसबाट जनतालाई निरास हुन नदिन, जनतालाई जागरूक बनाउन र यसको विकल्प छ भनेर सचेतनामूलक कार्यक्रम दिन देशभरि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने रहेको छ । अर्को कुरा जहाँ राज्यले कमजोरी गर्दछ त्यहाँ मित्रहरूसँग मोर्चा बनाई सहकार्य गरेर प्रतिरोध गर्नेमा जाने र त्यसबाट अघि बढ्दै राज्यलाई रूपान्तरण गर्नतिर जाने नै हुन्छ । (इराताेखबर)
प्रतिक्रिया