१८ औं गणतन्त्र दिवसको अवसर पारेर समाजवादी क्रान्तिलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउने उद्देश्यले ‘अर्को मोर्चा (The Next Front)’ नामक वैचारिक–राजनीतिक–सांस्कृतिक फोरम गठन गरिएको छ। यस फोरमको अध्यक्षतामा लेखक तथा साहित्यकार खेम थपलिया रहेका छन्।
फोरमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली क्रान्तिकारी आन्दोलनमा देखा परेका विचलन, पतनशीलता र गुटगत स्वार्थको घेराबाट बाहिर निस्कन ‘नयाँ ढङ्गको संघर्ष’ आवश्यक भएको निष्कर्षसहित ‘अर्को मोर्चा’ को औपचारिक प्रारम्भ भएको घोषणा गरेको हो।
जनयुद्धद्वारा चुनौती दिइएको संसदीय व्यवस्था फेरि पुनर्स्थापित हुनुमा क्रान्तिकारी कम्युनिस्ट नेताहरूको व्यक्तिगत र गुटगत स्वार्थ जिम्मेवार रहेको ठहर गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “कम्युनिस्ट पार्टीहरूमा चलेका दुई लाइन सङ्घर्षमा सत्रुतापूर्ण अन्तर्विरोध, सत्ताको पावर सेयरिङमा सङ्कीर्ण कुटिलता, कार्यनीतिको नाममा रणनीतिकै बलिदान गर्ने प्रवृत्तिले नेपाली कम्युनिस्ट आन्दोलन गहिरो संकटमा परेको छ।”
‘अर्को मोर्चा’ ले समाजवादी मुटुमा जीवन देख्ने तर पतनशील पुँजीवादसँग सम्झौता गर्न खोज्ने प्रवृत्तिहरूलाई कठोर रूपमा आलोचना गर्दै समाजवादको चम्किलो जूनलाई “धर्तीमा उभ्याउने” युगीन कार्यभार आफूले ग्रहण गरेको स्पष्ट पारेको छ।
फोरमले आफूलाई वैचारिक, राजनीतिक र सांस्कृतिक तीनवटै आधारमा परिचालन गर्ने र उत्पीडित जनसमुदाय, श्रमिक, किसान, युवा–विद्यार्थी, बौद्धिक वर्ग, संस्कृतिकर्मी लगायत सबै परिवर्तनकामी शक्तिलाई एउटै मोर्चामा ल्याउने उद्देश्य राखेको जनाएको छ।
विज्ञप्तिको शैली र भाषिक तवरले यस मोर्चाको उद्देश्य केवल राजनीतिक प्रतिस्पर्धामा सीमित नरही एउटा वैकल्पिक चेतनाको निर्माणतर्फ केन्द्रित रहेको संकेत गर्दछ। विचार, साहित्य, संस्कृति, संगठन र समाज रूपान्तरणको साझा एजेण्डासहित यो फोरमले दीर्घकालीन क्रान्तिकारी मिसनको नयाँ रूपरेखा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया