• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपाद्वारा साउन ६ गते बन्दको घोषणा, कुन-कुन जिल्ला हुदैछन बन्द ? संघर्षका थप कार्यक्रमसहित

    13.2K
    SHARES

    काठमाडौँ। सरकारले नेकपाका नेता ओमप्रकाश पुनलाई गिरफ्तार गरेपछि उक्त पार्टीको सेती–महाकाली ब्युरोले साउन ६ गते सेती–महाकाली बन्दको कार्यक्रमसहित सङ्घर्ष घोषणा गरेको छ ।

    कोरोना भाइरस र बाढीपहिरोले निम्त्याएका समस्याहरू समाधानका लागि उदार तथा रचनात्मक कार्यक्रममा जुटिरहेको बेला सरकारले आफ्नो पार्टीका नेता–काकार्यकर्ताहरूलाई कृत्रिम मुद्दा बनाएर अराजनीतिक, अमानवीय, अनैतिक तथा गैरन्यायिक तरिकाले गिरफ्तार गरेको भन्दै नेकपाले सङ्घर्ष घोषणा गरेको हो । जसअनुसार सेती-महाकालीका ९ जिल्ला बन्द हुनेछन् ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरोका इन्चार्ज ओम प्रकाश पुन तथा महिला नेत्री पूर्णिमा धामीलाई बुधबार अपमानजनक ढङ्गबाट झूट्टा मुद्दा भिराएर हिरासतमा राखेको भन्दै ३ साताको समयमा मात्र सेती–महाकालीका विभिन्न जिल्लाहरूबाट एक दर्जन नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरिएकाले नेकपाले सङ्घर्ष घोषणा गरेको हो ।

    सेती–महाकालीमा केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन तथा चूडामणि ओलीसहित दुई दर्जनभन्दा बढी नेता–कार्यकर्तालाई विभिन्न जिल्लाका हिरासत तथा कारागारहरूमा बन्दी बनाएको भन्दै सङ्घर्ष घोषणा गर्नुपरेको नेकपाले जनाएको छ ।

    नेकपाका सेती–महाकाली ब्युरो कार्यालय सचिव छविलालले जारी गरेको विज्ञप्तिअनुसार घोषित सङ्घर्षका कार्यक्रमहरूमा साउन ३ गते प्रचारप्रसार, ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सेती–महाकाली बन्द र ६ देखि ८ गतेसम्म सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने रहेका छन् ।नेकपाको सेती–महाकाली ब्युरो कार्यालयको विज्ञप्तिमा आफ्नो पार्टीले नचाहँदानचाहँदै पनि सरकारी रबैयाका कारण सङ्घर्ष घोषणा गर्नुपरेको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘श्रमिक जनता, उद्योगी–व्यवसायीहरूले सरकारबाट गरिएको राहतको अपेक्षालाई बेवास्ता गरेपछि बढ्दै गएको जनअसन्तुष्टि र विरोध तथा आफ्नो पार्टीभित्रको गुटगत अन्तरविरोधको आक्रोशबाट अन्धो बनेको वली सरकार पतन उन्मुख दलाल पुँजीवादी व्यवस्था र आफ्नो कुर्सी जोगाउन हाम्रो पार्टीमाथि दमनमा उत्रिएको छ जुन फासिवादी हर्कतका अगाडि झुक्नुको साटो लुटेरा, दलाल सरकारलाई मुहतोड जबाफ फर्काइनेछ ।’

    बन्दको प्रभावकारी कार्यान्वयनका निम्ति सिङ्गो पार्टीपङ्क्तिलाई आह्वान गर्दै सहयोगका लागि सेती–महाकालीका आम जनसमुदायमा यसै विज्ञप्तिमार्फत नेकपाले अपिल समेत गरेको छ ।

    ‘अतः आमनागरिकहरू महामारीले उब्जाएको पीडामा उकुसमुकुस भैरहेको अवस्थामा नचाहँदानचाहँदै पनि फासिवादी सरकारको दमन, धरपकड तथा गिरफ्तारी, झूट्टा मुद्दा र राजनीतिक गतिविधिमाथिको प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्न सेती–महाकाली ब्युरोमा सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिएको छ । यसको प्रभावकारी कार्यान्वयनका निम्ति सिङ्गो पार्टीपङ्क्तिलाई आह्वान गर्दै सहयोगका लागि सेती–महाकालीका आम जनसमुदायमा यसै विज्ञप्तिमार्फत अपिल गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

    केपी ओली सरकारले दमन नरोकेपछि बिद्रोही नेपाल कम्युनिष्ट पार्टी आक्रामक ढंगले अघि बढ्ने भएको छ । यसैबीच पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न विशेष निर्देशन दिएका छन् ।

    ओली सरकारले बुधबार पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती–महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची—कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेर जबर्जस्ति हतियार भिडाएर झुट्टा मुद्दा लगाउने तयारी गरेपछि बिहिबार एक बिज्ञप्ति जारी गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

    सरकारले एकातिर विभिन्न सम्पर्क स्रोतमार्फत वार्ताका लागि पटकपटक भेटघाट र छलफल गरेजस्तो गर्ने र अर्कोतर्फ नेता कार्यकर्ताहरुलाई निरन्तर गिरफ्तार गर्ने, झुट्टामुद्दा लगाउने र जनतालाई दुख दिने कार्य जारी राखेपछि विप्लव आक्रोशित बनेका छन् । त्यसकारण विप्लवले आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टी पङ्क्तिलाई विशेष निर्देशन दिएका हुन् ।

    ‘सामाजिक फासिवादी सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्रचार गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिरहेकाले उसका चालबाजीप्रति एकरत्ति भ्रममा नपरेर फासिवादी दमनविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरूलाई सञ्चालन गर्न र आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न सबै पार्टीपङ्क्तिलाई विशेष निर्देशन गर्दछौँ ।’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    नेता पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै विप्लवले सरकारी चालबाजीको भ्रममा नपर्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन् । यसअघि नेकपाले कोरोना महामारीबाट जनता आक्रान्त भएकाले सङ्क्रमण अन्त्य नभएसम्म प्रतिरोधात्मक कारबाही स्थगन गरेको थियो ।

    राष्ट्रको स्वाधीतना र जनताको अधिकारका लागि लडिरहेको आफ्नो पार्टीमाथि गरिएको दमनको भत्र्सना गर्दै महासचिव विप्लवले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने र वार्ता–भेटघाटका लागि प्रचार गर्ने तर पछि गिरफ्तार गर्ने कार्य गरेको भन्दै मानवअधिकारवादी, कानुनविद् र बुद्धिजीवीहरूलाई विशेष ध्यान दिन आग्रह पनि गरेका छन् ।

    नेकपाका नेता ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले बुधबार कैलालीबाट गिरफ्तार गरेको थियो । बिरामी भेट्न आफन्तकोमा पुगेको बेला प्रहरीले उनीहरूलाई लखेटीलखेटी गिरफ्तार गरेपछि नेकपा आक्रोशित भएको हो ।

    नेकपाले अब रोकिएका जनकारवाही समेत सुरु गर्ने भएको छ । कमिसनखोर, भ्रष्ट, दलाल, भूमाफिया, शैक्षिक माफिया र दलाल पुजीपतिहरु अब नेकपाको टार्गेटमा पर्ने निश्चित भएको छ ।

    नेकपाद्वारा बाढीपहिरोका मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारलाई ५२ हजार आर्थिक सहयोग

    यस्तै नेपाल कम्युनिष्ट पार्टी बझाङले सरकारी प्रतिबन्धकाबीच बाढी पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्न एक सभाको सम्पन्न गरेको छ । नेकपा बझाङले गत असार १९ गते राति केदारस्यु गाउँपालिका ८ मल्लेसिमा बर्षापछि आएको बाढीपहिरोमा परि ज्यान गुमाउनेहरुको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

    उक्त पहिरोमा परि २१ घर पुरिएर ७ जनाको ज्यान गएको दु:खद घटनाको १३औ दिनको तिथिमा जिल्लाको मल्लेसिमा नेकपाले केपी सरकारले लागाएको प्रतिबन्धको प्रतिबाद गर्दै श्रद्धाञ्जली सभा गरेको हो । सोही कार्यक्रममा पीडित परिवारहरुलाई राहत स्वरुप ५२ हजार सहयोग गरेको नेकपा बझाङका इन्चार्ज बिराटले सञ्चारकेन्द्रलाई जानकारी दिएका छन् ।

    विराटले आफ्नो पार्टीले जनताको दुख र पीडामा हातेमालो गर्दै भ्रष्टाचार र दलालको विरुद्धमा कडा संघर्ष गरिरहेको जनाउदै यसैबीच आफ्नो पार्टीका केन्द्रिय सदस्य तथा सेतिमहाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र महिला संगठनकी सेम ब्युरो संयोजक पुर्णिामा धामीलगायतका नेता कार्यकर्तालाई ओली सरकारले गिरफ्तार गरेकोप्रति आक्रोश ब्यक्त गरेका छन् ।

    उनले सञ्चारकेन्द्रसँग कुरा गर्दै देशैभरी आफ्ना पार्टीका दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरि अमानवीय ढंगबाट यातना दिने, झुटा मुद्दा लगाएर जेलमा राख्ने जस्ता अराजनीतिक कार्य गरेको भन्दै सरकारका बिरुद्ध आफ्नो पार्टी कडा संघर्षमा उत्रिने बताए । बिहिबार नै जिल्ला इञ्चार्ज बिराट र सेक्रेटरी हरिलालले एक बिज्ञप्ति जारी गर्दै भ्रष्ट दलाल ओली सत्ताको फासिबादी हर्कतको घोर निन्दा गरेका छन् । “जेल र हिरासतमा रहेका नेता कार्यकर्ताको निशर्त रिहाईको जोडदार माग गर्दछ। अन्यथा दलाल सत्ताका सम्पूर्ण हर्कतको प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ।” विज्ञप्तिमा भनिएको छ ।

    यस्तै नेकपा बझाङले कोरोना भाइरसको महामारी र बाढी पहिरोपीडित जनताको उचित राहतको ब्यवस्था गरि बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीका जनताको शिघ्र उद्वार गर्न पनि सरकारसँग माग गरेको छ । विज्ञप्तिमार्फत एकीकृत जनक्रान्ती मार्फत भ्रष्ट दलाल संसदीय ब्यवस्थाको खारेजी र वैज्ञानिक समाजवाद स्थापना गर्ने आन्दोलनमा सहभागी हुन आम राष्ट्रवादी जनतालाई अपिल समेत गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ