• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    हिरासत जीवनका तीस दिन

    12.6K
    SHARES

    राजकुमार घिमिरे । समाज विज्ञानका गुरु कार्ल मार्क्सले भन्नुभएको थियो -‘जीवन मरोस तर मृत्यु नबाचोस।’ मेरो हिरासत जीवनमा पनि ठिक त्यसैगरी मृत्युलाइ बाच्न नदिने अठोट रह्यो | सामान्य परिबारबाट हुर्कदै अध्ययन गर्दै बर्गीय आन्दोलनमा समाहित मेरो व्यक्तिगत जीवन माओबादी आन्दोलनको पृष्ठभूमिबाटै निरन्तरतामै आस्था, विश्वास र लगनशिलता रहदै आएको हो।

    समाजमा अन्तरविरोध रहदासम्म मानिस लडिरहन्छ भन्ने मार्क्सको वैज्ञानिक तथ्यलाई मैले काट्न सक्ने कुरा रहेन, त्यसैले चाहे विद्यार्थी हुँदा होस् या चाहे मजदुर, चाहे पत्रकार रहदा होस् समाजबाद हुदै बर्गीय समानता वा साम्यबादसम्मको अपरिहार्य समाज विज्ञानको नियमलाई आत्मसात गरेर आफ्नो बिचार राख्न कुनै पनि हालतमा अपराध हुन सक्दैन। यसरि नै म आफ्नो बिचारलाई राजनीतिक आस्थाको अधिकारको रुपमा बुझ्दै जनपक्षीय पत्रकारितामा जोडिएर आफ्नो काममा खटिरहँदा गत मङ्सिर महिनाको १ गते पोखराको ड्यामसाइडबाट मलाइ गिरफ्तार गरियो ।

    दिनको करिब १२: ३० बजे सादा पोसाकमा आएका प्रहरिले मलाई घेरा हालेर नियन्त्रणमा लिए र मेरो मोबाइल पनि नियन्त्रणमा लिए । सूचनाको हक भनिएको यो मुलुकमा मैले म गिरफ्तार परेको सूचना मेरो परिवारलाई जानकारी गराउदछु भन्दा मलाई त्यो अधिकारबाट बन्चित गराएर गिरफ्तार गरियो । जसले सिंगो पत्रकार जगतलाइ नै त्रसित बनाइदियो । राज्य आतंकको त्यो समयलाई मैले नजिकबाट अनुभूत गरिरहेको थिए त्यसैले मेरा प्रतिबाद र जायजपूर्ण तर्क पनि बेकाम बनिरहेको थियो ।

    पक्राउ गर्ने बखत पक्राउ पुर्जी नदिइकन मलाइ लैजान खोजेपछि ठाडै प्रतिबाद गरे र पक्राउ पुर्जी मागे । तत्पश्चात मलाई अभद्र ब्यबहारको झुठो मुद्धामा हस्ताक्षर गर्न भनियो र त्यो पनि मैले स्विकारिन । किनकी मैले त्यहाँ कसैमाथि अभद्र व्यवहार गरेकै थिइन । देशमा दलाल राज्य व्यवस्थाको अन्त्यसंगै बैज्ञानिक समाजवादी व्यवस्थाको नारा दिएर आफ्ना कार्यक्रमहरु जनतामाझ लगिरहेको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएर सकेको दमन गर्दै अघि बढेको राज्य र प्रतिबन्धित पार्टी आमने सामने हुँदा हामी पत्रकार मात्रै होइन आम जनता, बुद्धिजिबी, बिद्धार्थी , मजदुर सबै सबैले यसको मार खेप्नुपर्ने, दुख कष्ट र हैरानी व्यहोर्नुपर्ने र आवश्यक परे सहिदसम्म पनि आफ्नो कोटा चुक्ता गर्नुपर्ने तथ्यलाई आफ्नो मनमा सम्झिएर राज्यका कर्मचारी प्रहरीप्रति कुनै इर्ष्या, प्रतिसोध नराखी बैदाम प्रहरीको हिरासत गए ।

    सामान्यतया कसैलाई पक्रनु अघिनै उसको बारेमा अनुसन्धान गरेर दोषी देखिएपछि मात्र पक्राउ पुर्जी जारी गरेर उसलाई पक्राउ गर्नुको कारण खुलाएर गिरफ्तार गर्नुपर्दछ । र पक्रेपछि २४ घण्टासम्म अनुसन्धान नसकिने अबस्थामा मात्र म्याद थप गरि अनुसन्धान गरिनुपर्दथ्यो तर मलाई चाहिँ त्यसो नगरी सिधै केहि घण्टा पनि हुन नपाउदै हतार हतारमा जिल्ला प्रसासन कार्यालय लगी म्याद थपेर राखियो । यति हतारमा म्याद थप् गरि थुन्ने राज्यको नियत मैले नबुझ्ने कुरै थिएन | एकैछिन बैदाम प्रहरी प्रमुख कमल शाहसंगको सोधपुछ कुराकानी पश्चात मलाइ थुनुवाकक्षातिर लगेर राखियो ।

    भित्र थुनुवाहरु लागूऔसध कारोबारदेखि मापसेसम्मका सबैखालका मुद्धाका आरोपित ब्यक्तिहरु थिए, उनीहरुसंग मेरो परिचय र छलफल चल्यो तर म भने उनीहरु भन्दा पृथक खालको मुद्धामा बन्दी भएको भएर होला सायद त्यहाँ भित्रका बन्दीहरुले मलाई गरेको सम्मानजनक व्यवहार भने निक्कै सम्झनलायक छ ।

    बन्दीगृहका अधिकांश बन्दीहरू आफु निर्दोष रहेको र प्रशासनदेखि अदालतसम्मको पहुँच र पैसाको खेलो गर्न नसकेका कारण आफुहरु कस्टडीमा बस्नु परेको बताउथे | उनीहरु पैसा र पावरले प्रशासनदेखि अदालतसम्म सबै चुर्लुम्म रहेको बताउथे | मैले पनि उनीहरुका कुरा सुन्दै यी सबै कुराहरुको हल गर्ने भनेको राज्य ब्यबस्थाले नै हो र उत्पीडनमा राख्ने पनि राज्य व्यवस्थाले नै भएको कारण मुलुक कुन व्यवस्थामा छ भन्ने कुरा बुझ्न आबश्यक रहेको तर्क गरे ।

    दलाल राज्यको बिकल्प नखोज्दासम्म सबैको हालत यस्तै हुने त हो नि भनिदिए । बन्दीहरू कुरा सुनेर राज्यप्रति आक्रोसित भएझैँ देखिन्थे र अझ बढी सम्मान देखाउन खोज्दथे । मङ्सिर महिनाको ठण्डीमा चिसो भुइँ मेरो रहरको बिषय थिएन । राज्यले पत्रकार र आस्थाका बन्दीहरुमाथि देखाएको क्रुरता लोकतन्त्रको मजाक थियो या दुई तिहाइको मात ? त्यो भने बुझिएन ।

    यो कदम लालकाबिरुद्द दलाल थियो या इतिहासको मजाक ? त्यो पनि बुझिनसक्नु छ । कुनै बेला दलालकाबिरुद्द रातो कफन बाधेर उत्रनुपर्ने बताएर खुलामञ्चमा चुनावको पेटीलाई घनले हानेर बहिस्कार गर्न सिकाएका बादल आज गृहमन्त्री भएर हामीमाथि यति क्रुर हुन्छन भन्ने कल्पनासम्म पनि गरिएको थिएन । राजनीतिमा नैतिकताको मूल्य नराखेपछि देखिने दृश्य यस्तै हुँदा रहेछन सायद ।

    यस्तै कुराहरु मनमा सोच्दै दिनहरु गुज्रिरहेका हुन्थे | साझ बिहान ‘खाए खा नखाए घिच’ शैलीमा आलुको मात्रै तरकारी अनि तागत नहुने जस्तो खाना हुन्थ्यो । समानताका जतिसुकै गड्डी हाके पनि प्रहरी अधिकृत र जवानको खाना र मेष नै अलग छन् | मानौ की अफिसरले खाने खाना जवानले खानै नहुने जस्तो सामन्ती व्यवस्था आहिले पनि विद्यमान छ | प्रहरी जवानदेखि अफिसरसम्मले अहिलेको व्यवस्थाले आफुहरु पनि उत्पिडनमा परेको र परिवर्तन आवश्यकता रहेको बताउथे तर नुनको सोझो र जागीरले मात्र आफुहरु राज्यको आदेश मान्नुपर्ने बताउथे ।

    रुपमा मलाई हजुर तपाई भनेर सम्बोधन गरेझैँ मिठो बोलेपनि सारमा मेरा लागि भेटघाटमा आएका आफन्तसम्मलाइ पनि भेटघाटमा कडाइ गरिन्थ्यो ,हिरासतमा अरु बन्दीले पाउने फोन सुबिधासमेत मलाई सहजै दिइदैनथ्यो । हाकिमलाई सोध्नैपर्ने , माथिको आदेश लिनैपर्नेजस्ता कुराहरुले आलटाल गरिरहन्थे । यस्ता खालका व्यवहारले प्रहरीभित्र मानवीयता पनि मर्दै गएको हो कि ? भन्ने लाग्दथ्यो। यद्दपी केहि जवानहरु र केहि अधिकृतले भने लुकाएर हाकिमको आखा छलेर फोन गरिदिनेदेखि अरु सुबिधा दिएको कुरालाई भने बिर्सनु हुदैन ।

    मानसिक तनाब दिनलाई हुनसक्छ रातको समयमा लिइने पटक पटकको बयान, घर खानतलासी , प्रत्येक बयान प्रश्नमा विप्लवलाई अगाडी राखेर सोधिने प्रश्न र हैरानीहरु अत्यन्त अस्वभाविक हुन्थे । ७५ जिल्ला घुमाउने भनि दिइने धम्किले केहि अधिकृतहरुले राज्य व्यवस्थाको कतिसम्म चरम अनैतिक कार्यलाइ पनि सहयोग र गुलामी गर्न तयार हुँदा रहेछन भन्ने पनि नजिकबाट बुझ्न पाइयो ।

    कानुनको दुहाइ दिने, हामीलाई पाठ पढाउने र यहि व्यवस्थाले पनि न्यायिक कार्य गर्ने भनि बनाइएको अदालतमा समेत प्रशासनलाई बिपक्षी बनाई मेरा परिबारले उच्च अदालत कास्कीमा हालेको बन्दी प्रत्यक्षकरणीको मुद्धाको सुनुवाइमा मंसिर ६ गते मलाई साधारण तारेखमा छोड्नु भनेर गरेको आदेशलाइ समेत लत्याएर यो अदालत तेरा लागि होइन हाम्रा लागि मात्रै हो भनेझैँ कागजीरुपमा मलाइ छोडेको बनाइ फेरी त्यसलगत्तै रामबजार प्रहरी चौकीलाई बुझाइयो ।

    जीवनमा त्यो दिन जुन दिन मलाइ बैदाम प्रहरी चौकीबाट रामबजार सार्दै थियो प्रहरीको गाडीमा आफ्नो जेब्रे झोलामा कपडा बोकेर चढेपछि यो राज्य व्यवस्थाप्रति घृणाले सीमा नै नाघेको थियो । किनकी आफैले बनाएको अदालतको आदेश नमान्ने राज्यको चरित्र नाङ्गो गरि नाचिरहेको थियो | जीवन गुजारा चलाउन आफ्नै देशमा जागिर खाएका प्रहरी दाजुभाईलाइ घोडा बनाएर गरिएको नाङ्गो हस्तक्षेप आफैले बुझ्न नसकेको कतिपय प्रहरीहरु बताउथे ।

    कि राजनैतिक आस्था अपराध हो भन्नुस, कि अदालत तिम्रा लागि होइन भनेर भनिदिनुस यसरी राज्यले गरेको मनलाग्दीलाई नस्विकार्नुस भनेर मैले पनि प्रहरी अधिकारिहरुलाई सुझाब दिए | राज्यको यो चरित्रले अनावश्यक दमनमा प्रहरीलाइ धकेलेर अन्तत प्रहरीले दबाउन सकेन भन्ने पारेर बिदेशी डलरको खेतीमा फेरी अर्को फोर्सको नाटक गरि केहि डलरवाला दलालहरुले युद्धको खेति गर्न सक्ने र त्यसको लागि प्रहरी अब सचेत हुनुपर्ने तर्क राख्दा भने मौन रुपमा स्वीकारेको आभास पनि भएको थियो ।

    ब्यबस्था परिबर्तन वा क्रान्तिलाइ आबश्यकता पनि ठान्ने तर माथिको आदेश पनि काट्न नसक्ने स्थितिमा रहेको प्रहरीको अबस्था र नेपालमा संसदीय व्यवस्थाले प्रहरी कर्मचारिलाइई कतिसम्म जरा गाडेर निर्विकल्प दास बनाइरहेको रहेछ भन्ने सजिलै बुझ्न सकिन्थ्यो | यिनै सवाल जवाफ छलफल र कस्टडीको निरन्तरतामै कास्की क्षेत्र न ३ को उपनिर्बाचन पनि भएछ ।

    प्रतिबन्धित नेकपाले बहिस्कार पनि गरेछ तर राज्य यतिसम्म आतंकित रहेछकि चुनाबकै दिन मतदानकेन्द्रमा खटिएका आफनै सरकारी पार्टीका कार्यकर्तासम्मलाइ पनि विप्लब देखेछ, त्यति मात्रै हैन, आफ्नै घर टोल अगाडी आगो तापेर बसेका युबालाइ पनि विप्लब देखेछ र चुनावका दिन त खचाखच हिरासतमा निर्दोस युवाहरु लाइ हुलिरहेको थियो ।

    दिनहरु बित्दै गएतर बाहिर ठुलो संख्यामा कास्कीका पत्रकारहरु विस्थापित भैसकेका रहेछन . यसै शिलशिलामा विस्थापित पत्रकारहरु र हिरासतमा रहेका पत्रकारहरुको रिहाइको दिन नेपाल पत्रकार महासंघको केन्द्र देखि नै मिसन टोली बनाइ दबाब दिएसंगै म पनि गैरन्यायिक हिरासत बसाईका ३० दिन पुरा गरी जिल्ला प्रसासन कार्यालय कास्कीबाट मंसिर ३० गते १ हजार धरौटीमा रिहा भए | मेरो रिहाइको लागि लागिपरेका अग्रज पत्रकार, बिभिन्न पत्रकार संगठन, अन्य राजनैतिक संगठनका व्यक्तिहरु, परिवारजन र सबै शुभचिन्तकहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

    प्रतिक्रिया