• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार विजनेश

    सुर्खेतमा प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नवीनतम प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव सुरु

    6.6K
    SHARES



    सुर्खेत । प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नवीनतम प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव सुर्खेतमा सुरु भएको छ । कर्णाली प्रदेशको राजधानीमा सुरु भएको उक्त मेलामा घरेलु तथा साना उद्योगसम्बन्धी विभिन्न विधाका चार सयभन्दा बढी स्टलहरू रहने छन् ।

    महोत्सव मुलआयोजक समारोहका संयोजक चन्द्रबहादुर बिसीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष दीपक बुढालगायतका वक्ताले कर्णालीको समृद्धिका लागि घरेलु तथा साना उद्योगहरूको भूमिकाका बारेमा आफ्ना धारणा राखेका छन् ।

    यस्तै मन्तब्य राख्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले कर्णालीको विशिष्टीकृत अवस्थालाई ध्यान दिदैं गाउँगाउँमा स्थापना भएका लघु, घरेलु तथा साना उद्योगहरू समग्र देश र प्रदेशकै मेरुदण्ड भएकाले यसको प्रवद्र्धन र विकासमा प्रदेश सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए । आगामी मंसिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न कलाकारहरूको निरन्तरको प्रस्तुतिसहित देउडा प्रतियोगिता, ब्याडमिण्टन प्रतियोगिताकोसमेत आयोजना गरिएको छ ।

    मेलालाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै शाहीले आफूले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले व्यवस्था परिवर्तनपछिको कार्यान्वयनको चरणमा वर्तमान सरकार रहेकाले यस्तो भएको बताएका छन् ।

    वर्तमान सरकार बनेको करिव दुईवर्ष पुग्नै लाग्दा पनि जनताले जुन रुपमा अपेक्षा गरेका थिए त्यस अनुसार काम गर्न नसकिएको उल्लेख गरेका मुख्यमन्त्री शाहीले प्रदेशको कानून निर्माण गर्नुपर्ने, प्रदेश सरकारका नयाँ संरचना खडा गर्नुपर्ने र कर्मचारी अभाव भएका कारण जनअपेक्षाअनुसार काम गर्न नसकेको स्पष्टीकरण दिए ।

    तिब्र विकास, आर्थिक समृद्धि र असल सुशासन देशको मुख्य ऐजेण्डा भएको बताएका मुख्यमन्त्री शाहीले जनता अभावै अभावबीच बाँचिरहेको बताए । लामो समयको विकास बिहिनताको अवस्थापछि नयाँ संरचनामा गठन भएका सरकारप्रति अपेक्षा राखेका जनताले अहिलेको सरकारले केही गरेन भन्ने भावना साँचो भएको उनको तर्क थियो । ‘गाउँगाउँमा भ्रष्टाचार बढेको छ, हिंसा कम भएको छैन, जनताले असुरक्षित महशुस गरिरहेकै छन्,’ मुख्यमन्त्री शाहीले भने, ‘यद्यपि प्रदेश सरकार आफ्ना काम कारबाही व्यवस्थापनमा तीव्रताका साथ लागिरहेको छ ।’

    प्रदेशको समुन्नति र विकासका लागि कानून बनाइरहेको उल्लेख गरेका उनले परिवर्तित व्यवस्था अनुसार प्रदेश र जिल्ला तहमा प्रशासनिक संरचना बनाइसकेको दाबी गरे । राजनीतिक नेतृत्वले सोचेजस्तो र भनेजस्तो कर्णालीको विकास गर्न चुनौती थपिएको बताएका मुख्यमन्त्री शाहीले अहिले पनि कर्णालीका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नभएकाले विकास निर्माणका काम ठप्प भएको बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ