काठमाडौँ । पछिल्लो समय परेको अविरल वर्षा र बाढीका कारण देशका विभिन्न भूभागमा रहेका झोलुङ्गे पुलहरूमा क्षति पुगेको छ।
बिहीबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले पुर्याएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य जारी रहे पनि सडक अवरुद्ध हुँदा स्थलगत पहुँच र तथ्याङ्क सङ्कलनमा कठिनाइ भइरहेको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ।
विभागका उपमहानिर्देशक तथा प्रवक्ता कमलकुमार अधिकारीका अनुसार सुदूरपश्चिमको महाकाली नदी क्षेत्रदेखि गण्डकी प्रदेशको कालीगण्डकी करिडोरसम्मका झोलुङ्गे पुलहरूमा क्षति पुगेको छ।
यद्यपि, बाढी–पहिरोले सडक सञ्जाल अवरुद्ध पारेको र प्रादेशिक संरचनामा सीमित कार्यालय रहेकाले सबै क्षेत्रबाट विस्तृत तथ्याङ्क सङ्कलन गर्न चुनौती देखिएको हो।
‘बाढीले बाटो बगाएका कारण हाम्रा प्राविधिक साथीहरूलाई प्रभावित स्थलमै पुग्न समस्या भइरहेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘जिल्ला–जिल्लामा कार्यालय नहुँदा र प्रदेशस्तरमा एउटा मात्र कार्यालय रहँदा सबै क्षेत्रको यथार्थ विवरण तत्काल जुटाउन केही कठिनाइ भएको हो, विवरण सङ्कलनको काम भइरहेको छ।’
बुधबार दोधारा चाँदनी नगरपालिका ४ र भिमदत्त नगरपालिका १३ जोड्ने झोलुङ्गे पुलको लम्बाई १४५३ मिटर रहेको र ८ पिल्लरमध्ये पिल्लर नम्बर ३ भाँचिएको जनाइएको छ ।
उक्त झोलुङ्गे पुलको दोधारा तर्फको ५.६ मिटर बिचको भाग माथि उठी आवत जावतमा समस्या भएको झोलुङ्गे पुलको पिल्लर समेत भत्किन गई पुल भाँचिएको र बाटो अवरोध भएको छ ।
प्रतिक्रिया