• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हनुमानढोकामा लिङ्गो उठाइएसंगै औपचारिक रूपमा सुरु भयो इन्द्रजात्रा

    201
    SHARES



    काठमाडौँ । काठमाडौँमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ।

    इन्द्रजात्राको मुख्य सुरुवाती विधिका रूपमा लिङ्गो उठाएपछि जात्राका विभिन्न कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने गर्छन्। लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजा तथा अन्य संस्कार सम्पन्न गरिएको छ।

    इन्द्रजात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। यस अवसरमा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ। हनुमानढोका दरबार क्षेत्र आसपासमा विभिन्न देवीदेवताका मूर्ति तथा रथको दर्शन गर्न श्रद्धालु तथा सर्वसाधारणको भीड लाग्ने गर्छ।

    जात्राका क्रममा हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ निकालेर काठमाडौँका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ। जात्रामा लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न सांस्कृतिक प्रदर्शनसमेत गरिन्छ।

    इन्द्रजात्राको अवसरमा हनुमानढोका तथा आसपासका क्षेत्रमा विशेष चहलपहल बढेको छ। स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकसमेत जात्राका विभिन्न गतिविधि अवलोकन गर्न काठमाडौँको बसन्तपुर क्षेत्रमा पुगेका छन्।

    यस्तो छ पौराणिक महत्व 

    वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवार समुदायले मनाउने जात्रा हो। आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा नेवार समुदायले इन्द्रजात्रा मनाउँने गर्दछ।

    त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वय काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लागेको र त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ।

    इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो -ध्वजा) स्थापना हो । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो ।

    देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला लागेको बिश्वास गरिन्छ । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थालेको मान्यता छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ