काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत साढे दुई करोड रुपैयाँ पठाउने निर्णय गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रयोग हुने छ। तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा आएको बाढीले नेपालतर्फ रसुवा, नुवाकोट र धादिङमा क्षति पुऱ्याएको उप्रेतीले बताए।
बाढीपछि उद्धार, राहत तथा खोजीका लागि सुरक्षा संयन्त्र तीव्र रूपमा परिचालन गरिएको छ। बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसी तथा रसुवागढी क्षेत्रमा ठूलो जनधनको क्षति पुऱ्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनालगत्तै विपद् कमान्ड पोस्टको बैठक बसेर उद्धार तथा राहत कार्य अघि बढाइएको हो।
जोखिम न्यूनीकरणका लागि जल तथा मौसम विज्ञान विभागको प्रणालीमार्फत बिहान ९ बजेर ५ मिनेटमा चितवनसम्मका सम्भावित प्रभावित क्षेत्रमा एसएमएस अलर्ट पठाइएको थियो। बाढीलाई निरन्तर ट्रयाक गर्दै प्रत्येक आधा घण्टामा सतर्कता सूचना जारी गर्ने व्यवस्था मिलाइएको छ। बाढीका कारण विभागको एउटा स्टेसनसमेत बगाएको छ।
बाढी मलेखु पार गरेर अगाडि बढिसकेको छ। मुग्लिङ बजारसहित त्रिशूली नदी करिडोरमा बाढीको प्रभाव पर्न सक्ने भएकाले ती क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ। तिब्बततर्फको अस्थायी बाँध कमजोर भई फुटिसकेकाले माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएको र थप जोखिम क्रमशः घट्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया