• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    रुस–युक्रेन युद्ध: किभमा क्षेप्यास्त्र र ड्रोनको व्यापक हमला

    372
    SHARES



    काठमाडौं। रुसले युक्रेनको राजधानी किभमा ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन प्रयोग गर्दै भीषण हवाई आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा हालसम्म कम्तीमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

    शनिबार रातिदेखि सुरु भएको आक्रमण किभका विभिन्न क्षेत्रमा केन्द्रित थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्ध सुरु भएयताकै राजधानी किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक भएको बताएका छन्।

    युक्रेनी सेनाका अनुसार रुसले प्रहार गरेका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटा अवरोध गरिएको छ। साथै, आक्रमणमा प्रयोग गरिएका १२५ वटा ड्रोनमध्ये १०८ वटा निष्क्रिय पारिएको सेनाको दाबी छ।

    युक्रेनी वायुसेनाले आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्रसहित विभिन्न आधुनिक हतियार प्रणाली प्रयोग गरिएको जनाएको छ।

    किभका मेयर भिताली क्लिच्कोका अनुसार आक्रमणबाट आवासीय भवन, व्यापारिक संरचना, सुपरमार्केट तथा छात्रावासमा क्षति पुगेको छ। केही स्थानमा आगलागीसमेत भएको र दमकल टोली आगो नियन्त्रणमा जुटिरहेको बताइएको छ।

    राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार रुसले पछिल्लो एक सातामा युक्रेनमाथि करिब १,४५० ड्रोन, १,६४० भन्दा बढी निर्देशित बम तथा ९९ वटा विभिन्न प्रकारका क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्।

    यसैबीच, युक्रेनले रुसको प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीज का दुई गोदाममा ड्रोन आक्रमण गरेपछि त्यसको जवाफस्वरूप रुसले किभमाथि यो आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    (एजेन्सी)

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ