News Portal

  • ओली-प्रचण्ड सरकारले युद्धस्तरमै दमन चलायो: विप्लव (हेर्नुहोस् बिस्तृतमा)

    १४०० पटक

    काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै निर्मम दमन चलाइरहेको बताएका छन् ।

    आफ्नो ताजा धारणा पार्टीको मुखपत्र रातोखबर मार्फत सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।  ‘देशभर जनताले घर अप्रेसन, खानतलासी र गिरफ्तारी खेप्नु परिरहेको छ । घोषित युद्ध नभए पनि युद्धस्तरमै दमन चलाइएको छ । २०४९—५० सालतिरको भन्दा चर्को दमन गरिएको छ । एउटा राज्यआतङ्क चलिरहेको छ ।’ उनले भनेका छन्- ‘यता हाम्रो प्रतिरोध सङ्घर्ष पनि एकपछि अर्को नयाँ चरणतिर अग्रसर छ । यसले स्वभावतः जनतामा केही जिज्ञासाहरू जन्माएको छ । वास्तविकता के हो त ?’

    हेर्नुहोस् महासचिव विप्लवको पुरा लेख यस्तो छ ।

    अहिले केपी—प्रचण्डको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै निर्मम दमन चलाइरहेको छ । उसले पार्टीका वरिष्ठ नेता स्थायी समिति सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्ड, पाँचजना पीबीएम कमरेडहरू पदम, शिलु, जीवन्त, गम्भीर, ओम, पाँचजना सीसीएम कमरेड दीपेश, किरण, देवनारायण, आजाद, असल र दर्जनौँ अन्य कमरेडहरूलाई गिरफ्तार गरेको छ । साथै सयौँजनालाई झूट्टा मुद्दा लगाएको छ । देशभर जनताले घर अप्रेसन, खानतलासी र गिरफ्तारी खेप्नु परिरहेको छ । घोषित युद्ध नभए पनि युद्धस्तरमै दमन चलाइएको छ । २०४९—५० सालतिरको भन्दा चर्को दमन गरिएको छ । एउटा राज्यआतङ्क चलिरहेको छ । यता हाम्रो प्रतिरोध सङ्घर्ष पनि एकपछि अर्को नयाँ चरणतिर अग्रसर छ । यसले स्वभावतः जनतामा केही जिज्ञासाहरू जन्माएको छ । वास्तविकता के हो त ?

    हामीमाथि मुद्दा चलाउनु, कमरेडहरूलाई गिरफ्तार गर्नु र नेपाल कम्युनिस्ट पार्टीमाथि दमन गर्नुको कारणमा केपी सरकारले मुख्यतः तीनवटा आरोप लगाएको छ ः पहिलो, स्थानीय चुनाव र केन्द्रीय चुनावमा बम पड्काएर उम्मेदवारहरूको ज्यान लिन खोजेको, दोस्रो, देशका विभिन्न भागमा विस्फोट र आगजनी गरेर आतङ्क मच्चाएको, तेस्रो, चन्दा सङ्कलन गरेको (चन्दा आतङ्क मच्चाएको) । वास्तवमा केपी—प्रचण्ड सरकारले लगाएका यी आरोपहरूमा कुनै सत्यता र तुक छैन ।

    पहिलो कुरा हाम्रो पार्टीले कथित स्थानीय चुनाव, प्रदेश र केन्द्रीय चुनाव बहिष्कार गरेको हो । हामीले शान्तिवार्तामा काङ्ग्रेस—एमाले र प्रचण्डहरूबाट धोका भएपछि नै यो व्यवस्था नमान्ने घोषणा गरेका थियौँ र सोही धारणाअनुसार चुनाव बहिष्कार गरेका हौँ । चुनाव बहिष्कार गर्दा जनतालाई दलाल पुँजीवादी संसदीय व्यवस्था मान्न नहुने सन्देश दिनका लागि जनसमर्थन, बुझाइको स्तर र चेतनाअनुरूप राजनीतिक सङ्घर्षहरू सञ्चालन गरेका थियौँ । त्यसमा हाम्रो पार्टीको उद्देश्य चुनावी नेताहरूको ज्यान लिने थिएन । सायद यत्तिको ज्ञान केपी—प्रचण्डहरूलाई हुनु नै पर्ने हो । ज्यान नै लिन चाहेको भए र पार्टीले योजना त्यसरी नै बनाएको भए कति भन्ने मात्र हो, त्यसमा कुनै समस्या नै पर्ने थिएन । त्यसैले प्रतिरोध सङ्घर्ष र जनतालाई सन्देश दिन खोजेको कुरालाई जबर्जस्त ज्यान लिन खोजेको मुद्दा बनाएको छ । यो उसले भनेजस्तो ज्यान लिन खोजेको सत्य नभएर राज्यले क्रान्तिको घाँटी कलिलो अवस्थामा नै निमोठ्ने कल्पना गरेको मात्र हो । बरु बहिष्कार अभियानमाथि दमन गरेर दुईजना कमरेडहरूको ज्यान त त्यसबेलाको प्रचण्ड सरकारले लिएको हो नि ! हामीले ज्यान लिन नै चाहेका हुन्थ्यौँ भने कुनै पनि तागतले हाम्रो उद्देश्यलाई रोक्नसक्ने अवस्था थिएन । सायद यो सत्य सबैलाई थाहा पनि छ । तसर्थ केपी—प्रचण्ड सरकारले लगाएको यो आरोप सत्य नभएर क्रान्तिकारीमाथि दमन गर्नका लागि बुनेको बनावटी मामिला मात्र हो ।

    दोस्रो तर्क उसले नेपाल कम्युनिस्ट पार्टीले बम पड्काएर देशैभरि आतङ्क मच्चाएको भन्ने प्रचार पनि गलत हो । यो निश्चित हो– हामीले केही समयदेखि दलाल, देशबेचुवा, भ्रष्ट, कमिसनखोर, तस्कर, व्यभिचारीहरूलाई भौतिक कारबाहीहरू गरिरहेका छौँ । उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने, उनीहरूबाट जनताको सम्पत्ति लुटेबापत क्षतिपूर्ति गराउने, उनीहरूको भ्रष्ट जीवनशैलीलाई भत्काउने कार्य गरिरहेका छौँ तर यसको उद्देश्य कतै पनि आतङ्क मच्चाउने नभएर राष्ट्रघाती, दलाल, भ्रष्ट, अपराधीहरूलाई उचित डण्ड दिने र जनतालाई न्याय दिने उद्देश्य छ । यो कुरा जनताबाट आमरूपले अनुमोदित र स्वीकृत छ । राज्यले यस्ता अपराधीहरूलाई कारबाही गर्नुको सट्टा उनीहरूबाट घूस लिएर उनीहरूलाई पुरस्कृत गर्ने र दोषमुक्त गर्ने जुन कार्य गरिएको छ त्यसलाई रोक्ने र अपराधीहरूलाई सजाय दिने अन्य कुनै बाटो नै छैन । हामीले गरेका यी कारबाहीप्रति कुनै पछुतो छैन र यसबापत दमनमा परिन्छ भने हाम्रो कुनै गुनासो छैन । तर यी घटनाबारे जसरी गलत तरिकाले प्रचार गरिएको छ त्यो सरासर गलत छ किनकि हामीले जनघाती तत्वहरूमाथि गरेको कारबाही हाम्रो विषय र स्वार्थको कुरा नभएर नेपाली जनताको ढुकुटी लुट्ने तत्वहरूबाट जनतालाई सुरक्षित गर्नका लागि गरिएका कारबाही हुन् । यी कारबाहीहरूलाई उग्रवादी र अतिवादी देख्नु भनेको राज्य भ्रष्ट, तस्कर, दलाल, सुदखोरहरूको रक्षा र स्वार्थपूर्ति गर्न चाहन्छ भन्ने मात्र साबित हुन्छ ।

    तेस्रो तर्क आर्थिक सङ्कलन गरेको भन्ने जुन प्रचार छ यो झन् पूराका पूरा बेइमानीपूर्ण र भ्रामक छ । के सत्य हो भने हाम्रो पार्टी बनेपछि हामीले उद्योगी–व्यवसायी, देशभक्त, प्रगतिशील, निर्माण–व्यवसायी, व्यापारी मित्रहरूबाट आर्थिक सहयोग सङ्कलन गर्दै आएका छौँ र सबैबाट हार्दिकताका साथ सहयोग पनि पाएका छौँ । हामीले सहयोगदाताहरूलाई बकाइदा सहयोग रसिद मात्र दिएका छैनौँ, पारदर्शी हिसाब राख्दै सम्मानसमेत गरेका छौँ । सम्भवतः नेपालका कुनै पनि पार्टीको भन्दा हाम्रो पार्टीसँग नै आर्थिक पारदर्शिता प्रस्ट छ । हामीले आर्थिक सङ्कलन, कोष निर्माण, वितरण र निकासा सबै विभागीय प्रणालीमा गरिरहेका छौँ । हामीले सहयोग रकमबाटै जनतालाई सहयोगदेखि करोडौँबराबरका नमुना कार्यहरू पनि व्यवस्थित प्रकारले सम्पन्न गरेका छौँ र निर्माण गरिरहेका छौँ । के कुनै पार्टीको यस्तो कार्य उल्लेख छ ? छैन जब कि आर्थिक सहयोगको कुरा गर्ने हो भने एमाले—माके, काङ्ग्रेस र अन्य पार्टीहरूले हामीले वर्षमा सङ्कलन गर्ने सहयोगबराबर त एकैजना नेताले सङ्कलन गर्ने गरेको छ । अर्कोतिर उनीहरूले राज्य र सरकारमा बसेर कराडौँ र अर्बौंबराबरको भ्रष्टाचार गरिरहेका छन् तर ती पार्टीमा के कुनै हिसाब छ ? के कुनै पार्टीले जनताबाट उठेको सहयोगलाई पारदर्शी गरेको छ ? किमार्थ छैन ! बरु चन्दा उठाएको पैसा पचाउन र बाँडफाँट गर्न मारामार हुँदै आएको छ । यी संसद्वादी पार्टीले आजसम्म अर्बौंबराबरको आर्थिक सहयोग सङ्कलन गरेका छन् । कतै त्यसको हिसाब छ र विरोध छ ? छैन ! अनि यी भ्रष्ट, लिच्चड, बदनाम तत्वहरूले हामीलाई चन्दा उठाएकोमा गिरफ्तार गर्ने आरोप लगाउन मिल्छ ? के यी तुच्छ तत्वहरूसँग त्यो नैतिक हैसियत छ ? कत्ति पनि छैन जनसमुदाय ! हामी त प्रस्ट छौँ क्रान्ति गर्न अग्रसर पार्टीले आर्थिक सहयोग गर्नु उसको नैसर्गिक अधिकार हो र जनताले पनि सहयोग गर्नु ऐतिहासिक जिम्मेवारी हो किनकि क्रान्ति हाम्रो स्वार्थको मात्र कुरा होइन, यो त जनता र देशको जीवनलाई परिवर्तन गर्ने अपूर्व साझा अभियान हो । अझ हाम्रो पार्टीको नेतृत्वमा नयाँ जनसत्ता बन्दै गएको छ र उसले जनताको सेवाकै लागि कर लिने अधिकार पनि राख्दछ ।

    वास्तवमा केपी—प्रचण्ड सरकारले हामीमाथिको दमनबारे जे कारणहरू पेस गरेको छ ती सही एवम् वास्तविक कारण होइनन् । वास्तविक कारण अर्कै छन् । ती कारणहरू निम्नरहेका छन्– पहिलो, उनीहरूले संसदीय व्यवस्थालाई सुदृढ गर्न खोज्नु र हामीले त्यसका विरुद्ध सङ्घर्ष गर्नु, दोस्रो, केपी—प्रचण्ड सरकार श्रमिक वर्गीय कम्युनिस्ट सरकार नभएर नामको कम्युनिस्ट, कामको दलाल पुँजीपति वर्गको संरक्षक सरकार हुनु, तेस्रो, केपी—प्रचण्ड सरकार विभिन्न साम्राज्यवादी शक्तिहरूको, विशेषतः भारतीय साम्राज्यवादको दलालमा परिणत हुनु र चौथो, नेपालमा क्रान्ति विकास हुँदै जानु तर केपी—प्रचण्ड क्रान्तिका विरुद्ध हुनु ।

    संसद्वादी दलहरू र तत्कालीन माओवादी पार्टीबीचमा शान्तिवार्ता सुरु भएपछि नै एमाले–काङ्ग्रेसहरूले माओवादीलाई भारतको सहयोगमा संसदीय व्यवस्थामा पतन गराउन चाहन्थे । प्रचण्डले केही समय पार्टीलाई ढाँटे पनि उनी भारतको चाकरमा गिर्दै गए र उसैको दबाबमा प्रचण्डले जनसत्ता, जनसेना, जनअदालतलगायत सबै जनयुद्धका उपलब्धिहरूलाई समाप्त पार्नेमा गए । त्यहीँबाट नै प्रचण्डसँग हाम्रो सङ्घर्ष चल्यो । उनी जनयुद्धलाई विसर्जन गर्दै दलाल पुँजीवादी संसदीय व्यवस्थामा विघटन हुन पुग्छन् भन्ने हाम्रो ठहर थियो र हामीले उनको आत्मसमर्पणवादविरुद्ध निर्मम सङ्घर्ष चलायौँ । पछि उनी भारतको तलुवा चाट्दै संसदीय व्यवस्थामा पतन हुन पुगेपछि हामीले पार्टी नै नयाँ पुनर्गठन ग¥यौँ र दलाल पँुजीवादी संसदीय व्यवस्था स्वीकार नगर्ने दृष्टिकोण अगाडि सा¥यौँ । जब संसदीय व्यवस्थाको संविधान बनाउँदै कथित चुनावहरू गर्न पुगे त्यसपछि तत्कालीन माओवादी केन्द्र नराम्रोसँग पछारिन पुग्यो । उसले आफ्नो सङ्कट टार्न जनयुद्धकालमा दुस्मन घोषणा गरेको एमालेमा विलीन हुन पुग्यो । एमाले आफ्नो रणनीतिमा सफल हुँदै प्रचण्डहरूलाई अजिङ्गरले पचाएजस्तै पचाउन पुग्यो । अहिले हामीमाथिको दमनको पहिलो कारण यही हो । एमाले—माके मिलेर चुनाव जितेपछि संसदीय व्यवस्था सुदृढ होला भन्ने जुन सोचाइ बनाएका थिए त्यो चुनावको समयदेखि नै हाम्रो पार्टीको प्रतिरोधद्वारा ध्वस्त भएको छ र नेपालमा संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको धार जोडदार रूपले अगाडि आएको छ । यसलाई केपी—प्रचण्डहरूले हेर्न पनि सकिरहेका छैनन् जसको कारण उनीहरूले हाम्रो पार्टीमाथि निर्लज्ज प्रकारले दमन गरिरहेका छन् ।

    दोस्रो कुरा, यहाँ केपी—प्रचण्डको सरकार बनेपछि कम्युनिस्टका विरुद्ध कम्युनिस्ट लडिरहेको जस्तो देखिए पनि यो सत्यभन्दा फरक छ । यहाँ केपी—प्रचण्ड सरकारको कुरा होइन, यो राज्यसत्ताको चरित्रको विषय हो । राज्य दलाल पुँजीपति वर्गको भइसकेपछि त्यसमा जो पुगे पनि उसको साधन बन्ने मात्र हो । आज केपी—प्रचण्ड बाहिर कम्युनिस्ट मानिए पनि र सरकार कम्युनिस्टहरूको जस्तो लागे पनि सत्य त्यस्तो होइन र छैन । आज सत्ता नेपालमा दलाल पुँजीपतिवर्गकै हातमा छ र केपी—प्रचण्डहरू दलाल पुँजीवादी सत्ताकै हतियार मात्र हुन् भने शान्तिप्रक्रियामा प्रचण्डवरिपरि एउटा जण्ड दलाल पुँजीपति वर्ग पैदा हुन पुगेको छ । त्यसैले केपी—प्रचण्डहरूलाई लपेटामा पारेको छ । उनीहरूले दलाल पुँजीपति वर्गको स्वार्थअनुरूप कामहरू गरिरहेका छन् र काम गर्न बाध्य छन् । उनीहरू दलाल पुँजीपतिका साधन बन्न पुगेपछि दलाल पुँजीपतिवर्गको हितमा जनताको मुक्तिको आवाज र स्वाधीनताको सङ्घर्ष अस्वीकार्य हुनु र यसप्रति दमनकारी बन्नु स्वाभाविक हुन्छ । यसलाई कसले के ठीक र के बेठीक भनेको छ भन्ने विषयमा सरोकार हुँदैन । उसलाई दलालहरूको राज्य चलाउनुपर्ने हुन्छ, त्यो दमनद्वारा मात्र सम्भव हुन्छ । त्यसैले केपी—प्रचण्डहरू दलाल राज्यसत्ताको विरोधी नेपाल कम्युनिस्ट पार्टीमाथि दमनकारी बनिरहेका छन् ।

    तेस्रो कारण केपी पहिलेदेखि नै भारतको नोकरका रूपमा बदनाम पात्र हुन् । विशेषतः महाकाली नदी भारतलाई दिनेमा निर्णायक भूमिका निर्वाह गरेपछि र उनले भारतसँग अनेकौँ साँठगाँठ गरेपछि त्यस स्तरमा उदाङ्गिएका थिए । तर पछि उनले बनावटी रूपमा भए पनि भारतीय नाकाबन्दीको समयमा राष्ट्रवादी नारा दिएर लोकप्रिय भए तर यो देखावटी मात्र थियो भन्ने कुरा आज आएर देशका नदीनाला पुनः सुम्पिँदै गएपछि स्पष्ट हुँदै गएको छ । आज आएर भारतको योजनामा अनेकौँ सम्झौताहरू गरेपछि उनी पुनः राष्ट्रघातीका रूपमा पतन हुँदै गएका छन् ।

    अर्कोतिर जनयुद्ध कालसम्म भारतविरोधी शक्ति र राष्ट्रिय स्वाधीनतावादीका रूपमा चिनिएका प्रचण्ड भित्री रूपमा त्यो थिएनन् । शान्तिकालमा आएपछि उनको आत्मसमर्पणवादी मुकुण्डो धुजाधुजा भयो भने पछिल्लो समयमा त केपीभन्दा पनि तल गिर्न पुगेका छन् । हाम्रो पार्टीले उनीहरूका यी राष्ट्रघाती सम्झौताहरूको व्यापक रूपमा भण्डाफोर गर्दै प्रतिरोध कारबाहीहरू सञ्चालन गरिरहेको छ । माथिल्लो कर्णाली, अरुण तीन, कोसी उच्चबाँध, विराटनगरको भारतीय गैरकानुनी कार्यालय, माथिल्लो मस्र्याङ्दी, बुटवलको जितगढी अतिक्रमणलगायत कार्यमाथि भएका कारबाही यसैका उदाहरण हुन् । राष्ट्रिय स्वाधीनताका सङ्घर्षहरू अगाडि बढेपछि साथै केपी—प्रचण्ड भारतको चाकरमा पतन हुन थालेपछि भारतकै इसारामा उनीहरूले राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई कमजोर पार्न हामीमाथि यो दमन चलाइरहेका छन् ।

    चौथो कुरा, यी सबै सङ्घर्षको केन्द्र भागमा हामीले नेपालमा दलाल पुँजीवादी राज्यसत्तालाई समाप्त पार्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्ति अगाडि बढाएका छौँ भने केपी—प्रचण्ड सरकारले दलाल पुँजीवादी सत्तालाई संरक्षण गर्ने कार्य गरिरहेको छ । यसैको अन्तरविरोध नै केपी—प्रचण्ड सरकारको दमनको मुख्य कारण हो । केही समयसम्म नेपाली जनतालाई उनीहरूले आफूहरू कम्युनिस्ट नै भएको भ्रम दिन कोसिस गरे र अहिले पनि गरिरहेका छन् । वास्तविकतामा एमाले तीस वर्षअगाडि नै क्रान्तिकारी धाराबाट संशोधनवादी हुँदै प्रतिक्रान्तिकारी तत्वमा पतन भइसकेको पार्टी थियो जसबारेमा प्रचण्डले नै जनयुद्धको बेलामा ‘प्रतिक्रियावादी, भारतको चुत्थो दलाल र पाले, क्रान्तिको गला रेट्ने दुस्मन (हेर्नुस् नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्ताबेजहरू, ग्रन्थ १) भनेर घोषणा गरिसकेका थिए । उसले क्रान्तिकारी धारामाथि दमन बर्साउनु स्वाभाविक नै थियो । पछि प्रचण्ड स्वयम् घोर दक्षिणपन्थी, संशोधनवादी हुँदै दलाल पुँजीवादी धारामा पतन हुन पुगेपछि उनी पनि क्रान्तिबाट भयभीत र त्रसित हुनुका साथै क्रान्तिमा दमनकारी बन्नु स्वाभाविक थियो । यता हाम्रो पार्टीले भने अहिले एमाले—माके (नेकपा) लाई दुस्मन घोषणा नगरे पनि यो दलाल पुँजीवादी राज्यसत्तालाई ध्वंस गर्ने र वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने क्रान्तिको नेतृत्व गरिरहेको छ । हामीमाथि दमन हुने वा नहुने कुराले यसलाई कुनै प्रभाव पार्दैन । जति नै दमन भए पनि दलाल पुँजीवादी सत्ताको प्रतिरोध गर्नु र क्रान्तिलाई सफलतापूर्वक अगाडि बढाउनु हाम्रो जिम्मेवारी हुन्छ र हामी त्यसै गरिरहेका छौँ । दलाल पुँजीवादी सत्ताको दमन, हाम्रो प्रतिरोध साथै हाम्रो प्रतिरोध र केपी—प्रचण्डको दमन यसैको प्रतिबिम्ब हो ।

    दमन र प्रतिरोध सङ्घर्ष अगाडि बढेपछि साथै यो चर्केर माथि पुग्ने स्पष्ट देखिएपछि आम श्रमिक जनताले सरकारको विरोध गरिरहेका छन् । त्यति मात्र होइन, कम्युनिस्ट पार्टीहरू, देशभक्त शक्ति, लोकतान्त्रिक शक्ति, मानवअधिकारवादी संस्थाहरूले केपी—प्रचण्ड दमनको विरोध गरिरहेका छन् । सबैले राज्यको दमनलाई सीमा नाघेको भन्दै भण्डाफोर गरिरहेका छन् । विरोधपछि सरकारले कताकति वार्ताको प्रचार पनि गर्ने गरेको छ । मानिलिऊँ, सरकार वार्ता गर्न चाहन्छ तर नेपाल कम्युनिस्ट पार्टीले चाहिरहेको छैन । दमन गर्नु उसको बाध्यता हो । यो एकदमै गलत प्रचार हो । आफैँ दमन गर्ने, आतङ्क मच्चाउने र आफैँ वार्ताको हल्ला फैलाउनुमा कुनै तुक छैन । सरकारले हामीसँग राजनीतिक आचरण देखाउन चाहन्छ भने प्रथमतः सरकार हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउँदै (अघोषित रूपले) यति चर्को दमनमा आउनुपर्ने कुनै कारण नै छैन । उसले दमन तुरुन्तै रोक्नुपर्छ र गिरफ्तार गरिएका कमरेड प्रकाण्डलगायत नेताहरूलाई तुरुन्त मुक्त गर्नुपर्छ । राजनीतिक विचार र आस्थाका आधारमा गरिएको दमनप्रति माफी माग्नुपर्छ ।

    दोस्रो, सरकारले वार्ताको नाटक बन्द गरेर राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता र पार्टी स्वतन्त्रतालाई सुनिश्चित गर्नुपर्छ र नेपाल कम्युनिस्ट पार्टीका विचार र नीतिहरूलाई जनताका बीचमा राख्दा सुन्ने आँट गर्नुपर्छ । यदि वैचारिक प्रतिस्पर्धामा अलिकति पनि आँट छ भने नेपाल कम्युनिस्ट पार्टीलाई खुला कार्यक्रमहरू गर्न र विचारहरूमा प्रतिस्पर्धा गर्ने हिम्मत गर्नुपर्छ । तेस्रो, पार्टीका विरुद्ध लगाइएका झूट्टा मुद्दाहरू खारेज गरिनुपर्छ र निर्वाध रूपले क्रान्तिकारी नेता–कार्यकर्ताहरूलाई जनताका बीचमा पुग्ने र वैचारिक राजनीतिक प्रतिस्पर्धा गर्ने छूट दिनुपर्छ । चौथो, विदेशी विशेषतः भारतीय साम्राज्यवादी तत्वका सामु घोर आत्मसमर्पण गर्दै गरिएका राष्ट्रघाती सम्झौताहरू खारेज गर्नुपर्छ र उसको गुलामीका लागि क्रान्तिकारी, देशभक्त, प्रगतिशील शक्तिहरूमाथिको दमन रोक्नुपर्छ । पाँचौँ, नेपाली श्रमिक वर्ग, जाति, समुदायमाथि भइरहेको विभेद, उत्पीडन, दमनको अन्त्य गर्दै जनताका अधिकारहरूलाई वास्तविक रूपमा सुनिश्चित गर्न तयार हुनुपर्छ । छैटौँ, नेपालमा दलाल पुँजीवादी राज्यसत्ता राख्ने वा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने भन्ने राजनीतिक अधिकार पूर्ण रूपले नेपाली श्रमिक जनतामाथि निर्भर छ । जनताको यो अधिकार कुनै पनि बहानामा कुण्ठित गरिनु हुँदैन । जनताको अधिकार सुनिश्चित गर्न सरकार तयार हुनुपर्छ । यी कुराहरूप्रति बेवास्ता गर्दै हाम्रो पार्टीका बारेमा भएनभएका नितान्त झूट प्रचार गर्दै दमन गरिरहिन्छ भने केपी—प्रचण्डले बुझेकै हुनुपर्छ र बुझ्नुपर्छ– उनीहरूले भीषण प्रतिरोधको सामना गर्नुपर्नेछ ।

    दमनबाट क्रान्ति रोकिएला वा समाप्त होला भन्ने कल्पना सपनामा पनि नदेखे हुन्छ । वैज्ञानिक समाजवादप्रतिको हाम्रो आदर्श र निष्ठासामु तिम्रो दमनको ध्वाँस त प्वाँखजति पनि गहु्रँगो छैन ! हाम्रो वैज्ञानिक समाजवादी क्रान्ति जनताको मनमा बसिसकेको आन्दोलन हो । आजसम्मका नेपाली क्रान्तिहरूमा बलिदान गर्ने सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते योद्धा र क्रान्तिलाई हरतरहले सहयोग पु¥याउँदै आएका श्रमिक जनताले साथ दिएको आन्दोलन हो । त्यति मात्र होइन, सच्चा कम्युनिस्ट, देशभक्त, प्रगतिशील र लोकतन्त्रवादी शक्तिहरूले पनि जायज ठान्दै समर्थन गरिरहेको आन्दोलन हो । यो एकपछि अर्को उचाइतिर उठिरहेको छ र सबै बाधा–अवरोधहरूलाई परास्त गर्दै अगाडि बढ्ने निश्चित छ । अन्ततः दलाल पुँजीवादी सत्ताको दमन होइन, श्रमिक वर्गको विद्रोह र क्रान्ति सफल हुनेछ । भूतपूर्व कम्युनिस्टहरू ! के माक्र्सवाद—लेनिनवाद—माओवादले दिएको वैज्ञानिक शिक्षा यही होइन त ? उसो भए दमनको विनाशकारी बाटोमा किन, वैज्ञानिक समाजवादको अनिवार्यतालाई स्वीकार गरौँ ।

    २०७५ भदौ २६ मा प्रकाशित

    प्रतिकृया दिनुहोस्

    दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    काठमाडौँ । सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ...

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...