मुस्ताङ । मुस्ताङमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ८३ नम्बरको बसले थासाङ गाउँपालिका–२ कोखेठाँटी नजिक विपरीत दिशाबाट आउँदै गरेको ग ७ प ५०२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक थासाङ गाउँपालिका–१ टुकुचे निवासी २८ वर्षीय प्रमाण थकालीको प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए।
मोटरसाइकलमा सवार टुकुचेकी २५ वर्षीया अपेक्षा थकाली घाइते भएकी छन्। उनको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस र बस चालक पोखरा महानगरपालिका–३३ बागमारा निवासी सन्तोष बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
प्रतिक्रिया