नयाँ दिल्ली । व्यंग्यात्मक सामाजिक सञ्जाल अभियानबाट चर्चामा आएको ‘कॉकरोच जनता पार्टी’ (सीजेपी) ले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै शुक्रबार दिल्लीमा विरोध प्रदर्शन गर्ने भएको छ।
पार्टीका संस्थापक अभिजीत दीपके अमेरिका बाट भारत फर्किएपछि संसद मार्ग प्रहरी कार्यालय हुँदै जंतर–मंतरमा पुगेर शान्तिपूर्ण आन्दोलन गर्ने कार्यक्रम तय गरिएको छ। आन्दोलनका आयोजकहरूले प्रदर्शन पूर्ण रूपमा कानुनको दायराभित्र र अहिंसात्मक हुने बताएका छन्।
सीजेपीका प्रवक्ता सौरव दासले शिक्षामन्त्री प्रधानको कार्यकालमा बारम्बार परीक्षा प्रश्नपत्र चुहावटका घटना भएको, जसका कारण लाखौं विद्यार्थी प्रभावित भएको आरोप लगाए। उनले सरकारसँग शिक्षामन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन्।
आन्दोलनमा सहभागी हुन समर्थकहरूलाई राष्ट्रिय झण्डा, पुस्तक तथा फूल लिएर आउन आग्रह गरिएको छ। आयोजकहरूले कुनै पनि प्रकारको हिंसा वा अव्यवस्था नगर्न अपिल गर्दै लोकतान्त्रिक ढंगले असन्तुष्टि व्यक्त गरिने बताएका छन्।
यसैबीच आन्दोलनलाई लिएर सुरक्षा र भीड व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गर्दै दिल्ली उच्च अदालतमा याचिका दायर गरिएको थियो। तर अदालतले तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको उक्त अभियानलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला सीजेपीले आफू कुनै राजनीतिक दल वा नेताको प्रभावमा नरहेको स्पष्ट पारेको छ। राष्ट्रिय जनता दलका सांसद मनोज झासँग पार्टीको सम्बन्ध रहेको आरोपको समेत पार्टीले खण्डन गरेको छ।
आन्दोलनलाई अभिनेता प्रकाश राज तथा शिक्षाविद् सोनम वाङचुकलगायत केही सार्वजनिक व्यक्तित्वले समर्थन जनाएका छन्। वाङचुकले शिक्षा प्रणालीमा देखिएका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
नीट प्रश्नपत्र चुहावट प्रकरणपछि भारतमा शिक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला सीजेपीको प्रदर्शनले थप राजनीतिक तथा सार्वजनिक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया