• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    सुडानको अस्पतालमा भीषण आक्रमण, १३ बालबालिकासहित ६४ जनाको मृत्यु

    248
    SHARES



    दार्फर । सुडानको दार्फर क्षेत्रमा रहेको एक अस्पतालमा भएको साङ्घातिक आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये १३ जना बालबालिका रहेका छन्।

    वोर्ल्ड हेल्थ अर्गनाइँजेसन  (डब्लूएचओ) का महानिर्देशक ट्रेड्रोस अद्धानम घेब्रेयेसुसका अनुसार पूर्वी दार्फर राज्यको राजधानी अल देइनस्थित अल देइन टिचिङ अस्पतालमा शुक्रबार राति आक्रमण भएको हो।

    उक्त आक्रमणमा दुई महिला नर्स र एक पुरुष चिकित्सकसहित कैयौँ बिरामीले ज्यान गुमाएका छन्। महानिर्देशक टेड्रोसले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आक्रमणमा ८९ जना घाइते भएको बताएका छन्, जसमा आठ जना स्वास्थ्यकर्मी समेत रहेका छन्।

    आक्रमणका कारण अस्पतालको बालरोग विभाग, प्रसूति सेवा तथा आकस्मिक कक्षमा ठूलो क्षति पुगेको छ। यससँगै अस्पताल पूर्ण रूपमा बन्द भएको छ, जसका कारण सहरमा अत्यावश्यक स्वास्थ्य सेवा पूर्ण रूपमा ठप्प भएको छ।

    सुडानमा सेना र अर्धसैनिक समूह र्यापिट सपोर्ट फोर्स (आरएसएफ) बीच विगत तीन वर्षदेखि जारी गृहयुद्धका क्रममा स्वास्थ्य संस्थामाथि आक्रमणका घटना लगातार बढ्दै गएका छन्। डब्लूएचओका अनुसार हालसम्म स्वास्थ्य क्षेत्रमा २१३ वटा आक्रमण पुष्टि भइसकेका छन्, जसमा २ हजार ३६ जनाको ज्यान गएको छ।

    शुक्रबारको यो आक्रमण कसले गराएको हो भन्नेबारे भने हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। सन् २०२३ को अप्रिलदेखि सुरु भएको यस द्वन्द्वले विश्वकै सबैभन्दा गम्भीर मानवीय सङ्कटमध्ये एक सिर्जना गरेको छ। युद्धका कारण हजारौँ मानिस मारिएका छन् भने १ करोड २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

    अन्तर्राष्ट्रिय निकायहरूले दुवै पक्षमाथि युद्ध अपराध तथा मानवता विरुद्धका अपराधको आरोप लगाउँदै आएका छन्। विशेषगरी दार्फर क्षेत्रमा आरएसएफद्वारा गरिएको हिंसालाई संयुक्त राष्ट्रसंघका केही विज्ञहरूले नरसंहारको संज्ञा दिएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ