सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवराज दुलाल निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका बंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार दुलालले २१ हजार ६९९ मत प्राप्त गरेका छन् भने तामाङ १९ हजार १४६ मतसहित दोस्रो स्थानमा रहे। नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ९२६ मत ल्याउँदै तेस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भए।
दुलाल यसअघि प्रतिनिधिसभा–२ को ‘क’ क्षेत्रबाट दुई पटक प्रदेशसभा सदस्य निर्वाचित भइसकेका नेता हुन्। युवा नेतृत्व र जनमुखी काम गर्ने शैलीका कारण उनी जिल्लामा लोकप्रिय मानिन्छन्। संगठनात्मक अवस्था अपेक्षाकृत कमजोर भए पनि सक्रिय र परिणाममुखी नेतृत्वका कारण उनले यस पटक प्रतिनिधिसभा चुनावमा विजय हासिल गर्न सफल भएका हुन्।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ मा २०३९ साल फागुन ७ गते जन्मिएका दुलालले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। प्रदेशसभा सदस्यका रूपमा दुई कार्यकाल काम गरिसकेका उनले बागमती प्रदेश सरकारमा सामाजिक विकास तथा पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत निर्वाचित भएका थिए। त्यसबेला बस्नेतले ३९ हजार ३८१ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका शेरबहादुर तामाङ २७ हजार ५१५ मतसहित दोस्रो स्थानमा रहेका थिए।
यस पटकको निर्वाचनमा भने इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष बंशलाल तामाङसँग कडा प्रतिस्पर्धा भए पनि अन्ततः युवराज दुलाल विजयी भएका छन्।
प्रतिक्रिया