काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार नुवाकोट र काठमाडौंका पार्टी नेताकार्यकर्ताको उपस्थिति काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सामान्य निर्वाचन नभएकाले जीवन–मरणका रूपमा लिएर काम गर्न आग्रह गरे ।
‘यो विशिष्ठ प्रकृतिको निर्वाचन हो । यो निर्वाचन निरन्तरताको निर्वाचन नभएको हुनाले यसको विशेष चरित्र छ,’ प्रचण्डले भने, ‘यो निर्वाचन २३ गतेको जेनजी आन्दोलनमा तत्कालीन सरकारले नरसंहार गरेपछि उत्पन्न परिस्थितिपछिको निर्वाचन हो ।’
भदौ २४ गतेको विध्वंशमा देखिएको अर्को अतिवाद देशीविदेशी प्रतिक्रियावादीको चलखेलबाट भएको उनले टिप्पणी गरे । उनले भने, ‘यो २३ गते युवाहरूमाथि दमन गर्ने अतिवादी, अहंकारी र दम्भी, प्रवृत्ति र २४ गते विध्वंश गर्ने देशी, विदेशी प्रतिक्रियावादीविरुद्ध गरी दुइटा अतिवाद विरुद्धको चुनाव हो ।’
दुवै प्रवृत्तिविरुद्ध नेकपा खडा भएको उनले दाबी गरे । ‘यसविरुद्ध नेपाली कम्युनिस्ट पार्टी खडा छ । र, तीनवटा प्रवृत्तिबिचमा जनमत संग्रहको रूपमा यो निर्वाचन हुँदैछ’, प्रचण्डले भने । त्यसकारण यो निर्वाचनलाई सामान्य रूपमा लिन नहुने उनले बताए ।
‘यो राष्ट्र बचाउने, लोकतन्त्र बचाउने, हामीले लामो संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्ने निर्वाचन हो,’ संयोजक प्रचण्डले भने । यहीकारण यो निर्वाचनलाई जीवनमरणको रूपमा लिन पनि उनले नेताकार्यकर्तालाई आग्रह गरे ।
‘राष्ट्र र राष्ट्रको स्वाधीनताको रक्षा गर्ने तथा प्राप्त अधिकारको रक्षा गर्न नै हामीले नेपाली कम्युनिस्ट पार्टी बनाएका हौँ । यो राष्ट्रको एकताको लागि पनि जरुरी थियो,’ उनले भने । यो निर्वाचनमा आफ्नो पार्टीमात्रै एकताबद्ध रहेको र जनस्तरमा उभार देखिएको उनले बताए ।
प्रतिक्रिया