बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले चुनावअघि राजनीति दलहरू, पूर्वराजा र नव युवा पुस्ताबीच नवीन समझदारी गर्नुपर्ने दोहोर्याएका छन् ।
पार्टीको चुनावी प्रचार कार्यक्रम अन्तर्गत रुपन्देही १ को खैरेनीमा आयोजित सभामा बोल्दै उनले भविष्यमा कसैले विद्रोह गर्न नपर्ने र अन्यायमा नपर्ने अवस्था बनाउन नवीन समझदारी आवश्यक रहेको बताए ।
उनले २०८४ मा हुने चुनाव ०८२ मा गर्दैमा देशका समस्या समाधान नहुने उल्लेख गर्दै चुनावलाई २ महिनादेखि ६ महिना पर सार्न सकिने सुझाव समेत दिए ।
‘चुनाव भन्दा अगाडि राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नयाँ समझदारी गरौं, देशमा नमिलेका विषयहरू मिलाऔं’, लिङ्देनले भने–‘निषेधको राजनीति हामीले लामो समयसम्म गर्यौं अब कसैले कसैलाई निषेध गर्ने अथवा कसैले हार्ने होइन देशले जित्ने नयाँ समझदारी गरेर अगाडि जाऔं त्यसो भयो भने मात्रै भविष्यमा कसैले विद्रोह गर्न पर्दैन, कोही अन्यायमा पर्नुपर्दैन ।’
राप्रपाले ठूला दलहरूलाई एक वर्ष अगाडिदेखि नै राजासहित नवीन समझदारी गर्न आग्रह गरेको र नगरेमा देश दुर्घटनामा जाने कुरा संसद् र सडकबाट सार्वजनिक रूपमा राख्दै आएपनि बेवास्ता गर्दा भदौ २३ र २४ को जेनजी आन्दोलन निम्तिएको दाबी गरे ।
अध्यक्ष लिङ्देनले फेरि पनि देश जबरजस्त चुनावतिर अघि बढेको उल्लखे गर्दै राप्रपाले सबै दलहरूलाई राष्ट्रिय सहमतिमा आउन र समझदारी गरेर मात्र चुनावमा जाऔं भन्ने प्रयत्न गरिरहेको बताए ।
‘आज देश जबरजस्त चुनावतिर अघि बढेको छ तर हामी सबै दलहरूलाई राष्ट्रिय सहमतिमा आउन र चुनाव अरु २ महिना, ५ महिना वा ६ महिना पछि गरे पनि हुन्छ भन्ने प्रयत्न गरिरहेका छौं,’ उनले भने ।
लिङ्देनले रास्वपा नयां दल नभई पटक पटक असफल भएका पुराना दलहरूकै एजेण्डा बोकेको पार्टी भएको टिप्पणी गरे । राप्रपाले अघि सारेको भ्रष्टाचारविरुद्धको नारा, संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र र प्रदेश खारेजी नै नयां मुद्दा भएको बताए ।
प्रतिक्रिया