• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जेलेन्स्कीलाई जसरी बालेन र रविहरूलाई अघि सारियो : दुर्गा प्रसाईं

    265
    SHARES



    काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा ‘डिप स्टेट’ को आधारमा नयाँ राजनीतिक शक्ति र पात्रहरू उभ्याइएको गम्भीर आरोप लगाएका छन्।

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, रास्वपाकै बरिष्ठ नेता बालेन शाह र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पश्चिमा शक्तिसँग जोडिएका पात्रको रूपमा चित्रित गर्दै नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने प्रयास भइरहेको दाबी गरे।

    पत्रकार सम्मेलनमा विभिन्न भिडियो सामग्री प्रस्तुत गर्दै प्रसाईंले नेपालमा ‘नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी’ (एनइडी) लगायत पश्चिमा संस्थाको खुला हस्तक्षेप भइरहेको आरोप लगाए। उनका अनुसार देशका शिक्षित र आफूलाई अभिजात वर्ग ठान्ने केही समूह नै अहिले ‘डिप स्टेट’ को मुख्य सहायक बनेका छन्।

    उनले सार्वजनिक गरेका भिडियो र अभिव्यक्तिमा बालेन शाहजस्ता पात्र विदेशी स्रोतको सहयोगमा परिचालित रहेको र सामाजिक सञ्जालको एल्गोरिदम प्रयोग गरेर जनमतलाई प्रभावित पार्ने काम भइरहेको दाबी गरिएको छ।

    प्रसाईंले सन् २०१३–१४ यता नेपालमा ‘फ्री तिब्बत’ एजेन्डालाई संस्थागत गर्न पश्चिमाहरूले लगानी गरिरहेको जिकिर गरे। उनका अनुसार नयाँ राजनीतिक दल र अनुहारहरूलाई अगाडि सारेर नेपालको हिमाली भूभागमा नयाँ दलाई लामा जन्माउने र चीनविरुद्ध नेपाललाई प्रयोग गर्ने रणनीति अघि बढाइएको छ।

    उनले जेन्जी आन्दोलन, सिंहदरबार र सर्वोच्च अदालतमा भएका आगजनीका घटनाहरू पनि यही योजनाको हिस्सा भएको दाबी गर्दै भने, ‘बन्द कोठामा बसेर योजना बनाउने बालेन र रविजस्ता नेताहरू पनि सडकमा आगो लगाउनेहरूसरह दोषी हुन् र उनीहरूमाथि कारबाही हुनुपर्छ।’

    गोविन्द केसीको अनसनदेखि विवेकशील साझाको उदयसम्म सबै प्रक्रिया पश्चिमाहरूको १३ वर्ष पुरानो योजनाअन्तर्गत भएको प्रसाईंको दाबी छ। उनले युक्रेनमा जेलेन्स्कीलाई सामाजिक सञ्जालमार्फत ‘हिरो’ बनाइएको उदाहरण दिँदै नेपालमा पनि त्यही मोडल प्रयोग गरेर बालेन र रविलाई अघि सारिएको आरोप लगाए।

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न निषेधित क्षेत्र तोडेर विमानस्थल पुग्न समर्थकहरूलाई आह्वान

    उनले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न निषेधित क्षेत्र तोडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्न समर्थकहरूलाई आह्वान समेत गरे।

    देश जोगाउन राजसंस्थाको विकल्प नरहेको दाबी गर्दै उनले फागुन १ गते राजा ज्ञानेन्द्रलाई स्वागत गर्न विमानस्थलमा उर्लिन जनतासँग अपिल गरे। काठमाडौँ प्रशासनले तोकेको निषेधित क्षेत्रको अवज्ञा गर्दै घेरा तोड्ने चेतावनी समेत उनले दिए।

    प्रशासन र प्रहरी नेतृत्वलाई चुनौती दिँदै प्रसाईंले भने, ‘राजा आउने विषयमा रोक लगाउने को हो ? सक्ने भए राजालाई हतकडी लगाएर देखाओस्। केही भयो भने निर्मल निवास घेरेर राजालाई नारायणहिटीमा गद्दीमा राख्छौँ।’

    उनले आफू जेल जान तयार रहेको तर देशलाई समाप्त पार्ने खेलको मौन साक्षी नबस्ने बताए। साथै, राजा ज्ञानेन्द्रलाई पनि अब डर नमानी जनआह्वान स्वीकार गर्दै अघि बढ्न आग्रह गरे।

    ओली–प्रचण्डलाई हिन्दु राष्ट्र स्वीकार गर्न आह्वान

    मन्तव्यकै क्रममा प्रसाईंले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि सच्चिएर अघि आउन आग्रह गरे। उनले वैदिक सनातन हिन्दु राष्ट्र र राजसंस्था स्वीकार गरेमा उनीहरूलाई समेत साथ दिन तयार रहेको बताए।

    उनका अनुसार वामपन्थीहरू राष्ट्रवादी भए पनि राजसंस्थामाथि प्रहार गरेर ऐतिहासिक गल्ती गरेका छन्। देश गम्भीर संकटमा रहेकाले अब राजा, राष्ट्र र धर्म बोकेकाहरू एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

    प्रसाईंले वर्तमान व्यवस्था र सरकारले गराउन लागेको निर्वाचनको कुनै औचित्य नरहेको दाबी गरे। उनले ९० प्रतिशत जनता चुनाव नचाहने अवस्थामा रहेको भन्दै यो प्रक्रिया विदेशी शक्तिको इसारामा सत्ता कब्जा गर्ने प्रयास मात्र भएको आरोप लगाए।

    ‘यो निर्वाचन होइन, देश सुम्पने खेल हो। त्यसैले चुनाव हुन दिँदैनौँ,’ उनले भने। साथै, आफ्नो अभियानका कारण बैंकको ब्याजदर १६ प्रतिशतबाट ६ प्रतिशतमा झरेको दाबी गर्दै व्यापारी र सर्वसाधारणलाई आन्दोलनमा साथ दिन आग्रह गरे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ