• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    धनकुटाका स्वतन्त्र उम्मेदवार तामाङसँग लिखित स्पष्टीकरण माग

    371
    SHARES



    धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटाबाट स्वतन्त्रतर्फ उम्मेदवारी दिएका लाक्पा तामाङसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले लिखित स्पष्टीकरण माग गरेको छ ।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको तामाङको अभिव्यक्तिलाई लिएर उजुरी परेपछि कार्यालयले सो विषयमा प्रक्रिया अघि बढाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिव्यक्तिमा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईले मतदातालाई पैसा बाँडेको आरोप लगाइएको थियो ।

    सो अभिव्यक्तिलाई आपत्तिजनक ठहर गर्दै नेकपा एमाले धनकुटाले निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक उजुरी दर्ता गराएको थियो ।

    उजुरीमा एमालेका उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत गलत फोन नम्बर र गलत व्यक्तिलाई लक्षित गरी भिडियो तथा अडियो सामग्री सार्वजनिक गरिएको उल्लेख गरिएको छ । ती सामग्रीमा व्यक्तिगत गालीगलौज, चरित्रहत्या तथा मानहानि हुने किसिमका अभिव्यक्ति प्रयोग गरिएको र बदनियतपूर्वक हल्ला फैलाएर निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरिएको आरोप लगाइएको छ ।

    तामाङले धनकुटा मुगाका भुपाल थापालाई एमाले उम्मेदवार राईले एक भोटको १० हजार रुपैयाँ दिएको भन्दै सामाजिक सञ्जालमा फोन रेर्कड अडियोलाई भिडियो बनाएर सार्वजनिक गरेका थिए ।

    उजुरी दर्ता भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त निवेदनमाथि समितिमार्फत छलफल अघि बढाइरहेको जनाएको छ । सोही क्रममा विवादित गतिविधिमा स्वतन्त्र उम्मेदवार तामाङको संलग्नता के कस्तो रहेको हो भन्ने विषय यकिन गर्न कार्यालयले लिखित प्रतिक्रिया माग गरेको सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी इन्द्रकुमार योङहाङले जानकारी दिए ।

    कार्यालयले पठाएको पत्रमा “यस विषयमा के कसो भएको हो?” भनी स्पष्ट प्रश्न गर्दै लिखित जवाफ पेश गर्न अनुरोध गरिएको छ । प्राप्त जवाफको आधारमा आवश्यक निर्णय तथा थप कारबाही प्रक्रिया अघि बढाइने कार्यालयको भनाइ छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता सबै उम्मेदवार र राजनीतिक दलका लागि समान रूपमा लागू हुने स्पष्ट गर्दै सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक प्रचार, व्यक्तिगत आरोप–प्रत्यारोप तथा मानहानी हुने गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा गम्भीर असर पार्ने चेतावनी दिएको छ । यदि उजुरी पुष्टि भएमा प्रचलित कानुनअनुसार थप कारबाही अघि बढाइने पनि कार्यालयले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ