काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभर घुमन्ते उम्मेदवार जाने चलन चलाएको बताएका छन् । शुक्रबार नेकपा एमाले युवा सङ्घको पहिलो बैठकमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
‘अहिले फेरि केपी ओलीलाई सदनमा आउन नदिने भनेर काठमाडौँ महानगरका मेयर बालेन शाह झापा जाँदैछन्’, बस्नेतले भने, ‘आफू जन्मेको ठाउँमा चुनाव लड्ने होला । आफू हुर्केको र मतदाता भएको ठाउँमा चुनाव लड्ने होला । अहिले घुमन्ते उम्मेदवारहरू देशभरि जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टीले निकालेको छ । घुमन्तेहरूलाई घुमाइदिनुस् । विकास देखाइदिनुस्, समृद्धि देखाइदिनुस् । भोट नेकपा एमालेलाई हाल्नुस् ।’
नेता बस्नेतले यसपालिको निर्वाचनमा घुमन्ते उम्मेदवार बाइबाई र रैथाने उम्मेदवार हाई हाईको नारा लगाउन एमाले कार्यकर्तालाई आग्रह समेत गरे । यो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लड्दै आएको झापा–५ बाट रास्वपा नेता बालेन शाह चुनाव लड्न लागेपछि बस्नेतले यस्तो बताएका हुन् ।
बस्नेतले जेनजी आन्दोलनका क्रममा रवि लामिछाने जेलबाट भागेपछि अन्य कैदी पनि भागेको र त्यस क्रममा १२ जना कैदी मरेको जिम्मा रवि लामिछाने र बालेन शाहहरूले लिनुपर्ने दाबी समेत गरे ।
जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको एक–एक हिसाब हुने भन्दै उनले हत्या हिंसाको बाटो रोज्ने वा विकास र सम्मृद्धिको बाटो रोज्ने भन्ने कुरा नेपालका युवाहरूको काँधमा पुगेको बताए ।
प्रतिक्रिया