टोकियो। कास्की पोखरा समाज, जापानको आयोजनामा मिति जनवरी २५, २०२६ मा टोकियोको शिन्जुकुस्थित सागामी बिल्डिङको पाँचौँ तलामा ‘प्रवासी भूमिमा राष्ट्रिय बहस’ शीर्षकको बौद्धिक बहस कार्यक्रम भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।
प्रवासी भूमिमा रहेर पनि मातृभूमिप्रतिको माया, राष्ट्रप्रतिको चिन्तन र समाजप्रतिको उत्तरदायित्वलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (NRNA) ICC का उपाध्यक्ष रोबिन सेरचन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमका विशेष वक्ता सौरभले राष्ट्रिय चेतना, प्रवासी नेपालीहरूको भूमिका, सामाजिक दायित्व तथा समसामयिक राष्ट्रिय विषयहरूमा गहन र विचारोत्तेजक धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा जापानस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा ठूलो संख्यामा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम सञ्चालन समाजका महासचिव जिवन पोखरेल (कञ्चन)ले गरेका थिए । कार्यक्रमका क्रममा समाजको गतिविधिमा निरन्तर सहयोग पुर्याउँदै आएका सहयोगदाताहरूलाई सम्मानसमेत गरिएको थियो।
कार्यक्रमले प्रवासी नेपालीहरूबीच राष्ट्रिय सोच, एकता र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।
प्रतिक्रिया