• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय कभर स्टोरी

    आन्दोलन झन चर्किदै गएपछि इरानी सेनाले भन्यो- प्रदर्शनमा बच्चा नल्याउनू, गोली लागे गुनासो नगर्नू

    535
    SHARES



    काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जना मारिएको दाबी गरिएको छ।

    इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन्। यसको सुरुवात २८ डिसेम्बर २०२५ मा भएको थियो।

    टाइम म्यागजिनले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै राजधानीका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको बताएको छ, जसमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको हो।

    बीबीसीले शुक्रबार राति रश्त शहरको एउटा मात्र अस्पतालमा ७० जनाको शव ल्याइएको पुष्टि गरेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, इरानमा सरकार विरोधी प्रदर्शनहरू थप हिंसात्मक र व्यापक बनिरहेका छन् । इरानबाट प्राप्त रिपोर्टहरूका अनुसार, विगत चार दिनमा सुरक्षा बलको कारबाहीमा सयौँ मानिसहरूको मृत्यु भएको छ वा उनीहरू घाइते भएका छन्।

    इरानका तीनवटा अस्पतालका कर्मचारीहरूले उनीहरूकहाँ घाइतेहरूको संख्या अत्यन्तै धेरै रहेको बताएका छन् ।

    अधिकारीहरूले प्रदर्शनकारीहरूलाई चेतावनी दिँदै उनीहरूलाई ‘ईश्वर विरुद्धको अपराधी’ मान्न सकिने बताएका छन्। इरानमा यो यस्तो अपराध हो, जसको सजाय मृत्युदण्ड हुन सक्छ।

    सुरक्षा बलले बिहीबार राति प्रदर्शन चर्किएपछि धेरै ठाउँमा गोलाबारी गरेको थियो, त्यसपछि लगातार कारबाही जारी छ।

    यसैबीच, रिभोलुसनरी गार्ड्सका एक अधिकारीले सरकारी टेलिभिजनसँग कुरा गर्दै अभिभावकहरूले आफ्ना छोराछोरीलाई प्रदर्शनबाट टाढा राख्नुपर्ने, यदि उनीहरूलाई गोली लाग्यो भने गुनासो नगर्न चेतावनी दिएका छन् ।

    प्रदर्शन रोक्न सबै शक्ति लगाउँदै सरकार

    रिपोर्टका अनुसार, सुरुका केही दिनसम्म सरकारले कस्तो अडान लिनेछ भन्ने स्पष्ट थिएन। एन्टी-रायट्स (दङ्गा नियन्त्रण) प्रहरीका एक अधिकारीले नै सुरक्षा बलहरू अन्योलमा रहेको बताएका थिए।

    अगाडि के हुन्छ भन्ने कसैलाई ठ्याक्कै थाहा थिएन, तर शुक्रबार सार्वजनिक भएका विभत्स तस्बिर र कडा अभिव्यक्तिहरूबाट अब सरकारले पूर्ण शक्तिको प्रयोग गरिरहेको स्पष्ट भएको छ।

    यसअघि सरकारले देशभर इन्टरनेट र फोन सेवा लगभग बन्द गरिदिएको थियो। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रदर्शनकारी मारिएमा इरानी सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए।

    विज्ञहरूको आशंका– सरकार निर्मम कारबाहीबाट पछि हट्दैन

    विज्ञहरूका अनुसार प्रदर्शन मध्यम वर्गीय इलाकासम्म फैलिएकाले अब सरकार निर्मम कारबाही गर्न हिचकिचाउने छैन। आगामी दिनमा हताहत हुनेको संख्या अझ बढ्न सक्ने उनीहरूको अनुमान छ।

    इरान पहिले नै इजरायलसँगको संघर्ष, अन्तर्राष्ट्रिय प्रतिबन्ध, खस्कँदो अर्थतन्त्र, बिजुली र पानीको अभावजस्ता समस्यासँग जुधिरहेको छ। सरकारभित्र पनि मतभेद छ।

    राष्ट्रपति मसूद पजशकियानले सार्वजनिक रूपमा नरम अडान देखाइरहेका छन्, तर उनका धेरै मन्त्रीहरू कडा कारबाहीको पक्षमा छन्। सरकारले अमेरिका र इजरायलले यी प्रदर्शनहरूलाई उकासेको आरोप लगाएको छ।

    केही प्रदर्शनकारीहरूले पूर्व राजाका छोरा रजा पहलवीको समर्थनमा नारा लगाइरहेका छन्, जसले विदेशबाट प्रदर्शनलाई तीव्र बनाउन अपिल गरेका छन्।

    कुर्द इलाकाहरूमा पनि मानिसहरू सडकमा उत्रिएका छन्। धेरै प्रदर्शनकारीहरू अब उनीहरूसँग गुमाउनका लागि केही बाँकी नरहेको बताइरहेका छन् ।

    महँगीले बढाएको आक्रोश

    देशभरका जेनजी आक्रोशित छन्। यसको मुख्य कारण आर्थिक बदहाली हो। डिसेम्बर २०२५ मा इरानी मुद्रा ‘रियाल’ इतिहासकै न्यून स्तरमा पुगेर प्रति अमेरिकी डलर करिब १.४५ मिलियन (१४ लाख ५० हजार) पुग्यो।

    वर्षको सुरुदेखि रियालको मूल्य झण्डै आधा भइसकेको छ। यहाँ महँगी चरम सीमामा पुगेको छ। खाद्य वस्तुको मूल्यमा ७२ प्रतिशत र औषधिको मूल्यमा ५० प्रतिशतसम्म वृद्धि भएको छ। यसबाहेक सरकारले २०२६ को बजेटमा ६२ प्रतिशत कर बढाउने प्रस्ताव गरेपछि सर्वसाधारणमा ठूलो आक्रोश पैदा भएको छ।

    खामेनीको अपिल– ट्रम्पलाई खुसी पार्न देश बर्बाद नगर्नुहोस्

    इरानका सर्वोच्च नेता अली खामेनीले शनिबार देशभर भइरहेका प्रदर्शनका बीच शुक्रबार पहिलो पटक राष्ट्रलाई सम्बोधन गरेका थिए। इरानको सरकारी टिभीले उनको भाषण प्रसारण गरेको थियो।

    खामेनीले इरानले ‘विदेशीका लागि काम गर्ने भाडाका मानिसहरू’ लाई सहन नगर्ने बताए। उनले प्रदर्शनको पछाडि विदेशी एजेन्टहरू रहेको र उनीहरूले देशमा हिंसा भड्काएको दाबी गरे ।

    खामेनीले देशमा रहेका सार्वजनिक सम्पत्तिलाई नोक्सान पुर्‍याएर अमेरिकी राष्ट्रपतिलाई खुसी पार्न चाहने केही उपद्रवीहरूले यस्तो गरिरहेको बताए ।

    तर, इरानको एकजुट जनताले आफ्ना सबै शत्रुहरूलाई हराउनेछन्। उनले ट्रम्पलाई इरानको मामिलामा दखल दिनुको सट्टा आफ्नै देशको समस्यामा ध्यान दिन आग्रह गरे।

    उनले थपे, ‘इस्लामिक रिपब्लिक सयौं हजारौं महान मानिसहरूको रगतको बलमा सत्तामा आएको हो। जसले हामीलाई नष्ट गर्न चाहन्छन्, उनीहरूका अगाडि इस्लामिक रिपब्लिक कहिल्यै पछि हट्ने छैन।’

    क्राउन प्रिन्सले भने– देश फर्कने तयारी गर्दैछु

    इरानका क्राउन प्रिन्स रजा पहलवीले आफू देश फर्केर चलिरहेको प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन्। ६५ वर्षीय रजा पहलवी करिब ५० वर्षदेखि अमेरिकामा निर्वासित जीवन बिताइरहेका छन्। शनिबार बिहान उनले आफू देश फर्कने तयारीमा रहेको बताए।

    सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा रजा पहलवीले लेखेका छन्, ‘म पनि आफ्नो देश फर्कने तयारी गर्दैछु ताकि हाम्रो राष्ट्रिय क्रान्तिको जितको समयमा म तपाईँहरू सबैका साथ, इरानको महान जनताको बीचमा खडा हुन सकूँ। मलाई पूर्ण विश्वास छ कि त्यो दिन अब धेरै नजिक छ।’

    क्राउन प्रिन्सलाई सत्ता सुम्पने माग

    इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिपछि अयातोल्ला रुहोल्लाह खुमेनी सत्तामा आए। उनी सन् १९७९ देखि सन् १९८९ सम्म १० वर्ष सर्वोच्च नेता रहे। त्यसपछि अयातोल्ला अली खामेनी सन् १९८९ देखि हालसम्म ३७ वर्षदेखि सत्तामा छन्।

    इरान आज आर्थिक संकट, चरम महँगी, अन्तर्राष्ट्रिय प्रतिबन्ध, बेरोजगारी र लगातारका जनआन्दोलनजस्ता गम्भीर चुनौतीहरूसँग जुधिरहेको छ। ४७ वर्षपछि अब वर्तमान आर्थिक बदहाली र कडा धार्मिक शासनबाट दिक्क भएका मानिसहरू परिवर्तन चाहन्छन् ।

    यसै कारण ६५ वर्षीय क्राउन प्रिन्स रजा पहलवीलाई सत्ता सुम्पने माग उठिरहेको छ। प्रदर्शनकारीहरू उनलाई एक धर्मनिरपेक्ष र लोकतान्त्रिक विकल्प मान्छन्। युवा पुस्ताको बुझाइ छ- पहलवीको फिर्तीले इरानमा आर्थिक स्थिरता, वैश्विक स्वीकार्यता र व्यक्तिगत स्वतन्त्रता ल्याउन सक्छ।

    तेल निर्यातमा निर्भर अर्थतन्त्र

    सन् २०२४ मा इरानको कुल निर्यात करिब २२.१८ बिलियन डलर थियो, जसमा तेल र पेट्रोकेमिकल्सको ठूलो हिस्सा थियो। जबकि आयात ३४.६५ बिलियन डलर रह्यो, जसले व्यापार घाटा १२.४७ बिलियन डलर पुर्‍यायो।

    सन् २०२५ मा तेल निर्यातमा कमी र प्रतिबन्धका कारण यो घाटा बढेर १५ बिलियन डलर पुगेको छ। इरानले चीनलाई ९० प्रतिशत तेल निर्यात गर्दछ।

    सन् २०२५ मा जीडीपी वृद्धि केवल ०.३ प्रतिशत रहने अनुमान छ। प्रतिबन्ध नहटी वा आणविक सम्झौताको बहालीविना व्यापार र रियालको मूल्य स्थिर गर्न कठिन देखिन्छ।

    (एजेन्सीहरूको सहयोगमा)

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ