न्यूयोर्क। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार न्यूयोर्क सिटीको अदालतमा बयान दिएका छन् ।
उनले आफू ‘निर्दोष’, ‘सभ्य व्यक्ति’ रहेको बताउँदै अमेरिकाद्वारा अपहरण गरिएको उल्लेख गरेका छन्। शनिबार अमेरिकाले आफ्नो देशमाथि गरेको सैन्य कारबाहीपछि यो उनको पहिलो सार्वजनिक अभिव्यक्ति हो।
मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाको विशेष बलले कराकासस्थित निवासबाट कब्जा गरेर लगेको थियो।
अन्तर्राष्ट्रिय कानुनविपरीतको उक्त कदमको व्यापक निन्दा भएको छ । उक्त कारबाहीपछि उनीहरूलाई संघीय अदालतमा ‘नार्कोटेरोरिज्म’ लगायतका आरोपमा सुनुवाइका लागि उपस्थित गराइएको हो।
सोमबार दिउँसो १२ बजे अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के हेलरस्टिनसमक्ष उनीहरूलाई छोटो कारवाहीका लागि उपस्थित गराइयो। यससँगै उनीहरू अमेरिकामा मुद्दा सामना गर्न सक्छन् कि सक्दैनन् भन्ने लामो कानुनी लडाइँ सुरु भएको छ।
हातकडी लगाइएर निलो जेल पोसाकमा रहेका मदुरो र उनकी पत्नीलाई सुरक्षाकर्मीले अदालतमा ल्याए। अंग्रेजीमा भएको कारवाही स्पेनी भाषामा अनुवाद सुन्न दुवैले हेडसेट लगाएका थिए। मदुरोले दोष अस्वीकार गर्दै न्यायाधीशलाई भने, ‘म अपहरणमा परेँ। म निर्दोष र सभ्य व्यक्ति हुँ, म मेरो देशको राष्ट्रपति हुँ।’
अदालत बाहिर सडकपारि प्रहरीले अमेरिकी अपहरणको विरोध गर्ने सानो प्रदर्शनकारी समूहलाई तितरबितर पारेको थियो । उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर मदुरो समर्थक दर्जनजतिलाई हटाएको थियो। त्यहाँ एक व्यक्तिले अमेरिकी कारबाहीविरुद्ध प्रदर्शन गरिरहेकाहरूबाट भेनेजुएलाको झन्डा खोसेको दृश्य देखियो।
यदि दोषी ठहरिएमा मदुरो, उनकी पत्नी, छोरा र अन्य तीन जनालाई लागूऔषध कार्टेलसँग मिलेर हजारौँ टन कोकिन तस्करी गराउन सहयोग गरेको आरोपमा आजीवन कारावास हुन सक्छ। केही पर्यवेक्षकका अनुसार मदुरोलाई कार्टेलसँग जोड्ने ठोस प्रमाण छैन।
मदुरोका वकिलहरूले उनको गिरफ्तारीको वैधानिकता चुनौती दिने बताएका छन्। उनीहरूको दाबी छ, मदुरो परदेशी सार्वभौम राष्ट्रका प्रमुख भएकाले अभियोजनबाट प्रतिरक्षा पाउने हैसियतमा छन्। यद्यपि अमेरिका र केही देशहरूले उनलाई भेनेजुएलाको वैध नेता मान्यता दिएका छैनन्।
अराइन्मेन्टका क्रममा फ्लोरेसले पनि आफूमाथि लागेका अमेरिकी आरोप अस्वीकार गरिन्। न्यायाधीश हेलरस्टिनले मदुरोलाई मार्च १७ मा अर्को सुनुवाइका लागि उपस्थित हुन आदेश दिएका छन्।
अमेरिकीविरुद्ध ‘आक्रमण’ को आरोप
सुनुवाइको अन्त्यतिर मदुरोका वकिल ब्यारी जे पोलाकले उनका ग्राहक ‘सार्वभौम राष्ट्रका प्रमुख’ भएकाले त्यही हैसियतअनुसारका विशेषाधिकार पाउनुपर्ने बताए।
पोलाकका अनुसार उनको ‘सैन्य अपहरणको वैधानिकतामाथि प्रश्न’ छन् । ती कानुनी चुनौतीहरूलाई लिएर ‘ठूलो संख्यामा’ पूर्वविचार निवेदन दर्ता गरिनेछ।
यसअघि तस्वीरहरूमा मदुरो र उनकी पत्नीलाई कडा सुरक्षा घेरामा हेलिकप्टरबाट थुनुवा केन्द्रबाट अदालततर्फ ल्याइँदै गरेको देखिएको थियो। उनीहरूलाई दुई दिनअघि कराकासबाट जबरस्ती उठाइएको थियो।
सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकमा महासचिव एन्टोनियो गुटेरेसले वासिङ्टनले मदुरोलाई नियन्त्रणमा लिँदा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएकोमा चिन्ता व्यक्त गरे।
‘३ जनवरीको सैन्य कारबाहीमा अन्तर्राष्ट्रिय कानुनका नियमहरू पालना नभएको देखिन्छ। चार्टरले कुनै पनि राज्यको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रतामाथि बल प्रयोग गर्ने वा धम्की दिने कुरालाई निषेध गर्छ,’ गुटेरेसले संयुक्त राष्ट्रसंघको चार्टर उल्लेख गर्दै भने।
‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न सबै सदस्य राष्ट्रहरूले चार्टरका सबै प्रावधान पालना गर्न निरन्तर प्रतिबद्ध रहनु जरुरी छ’, उनले भने ।संयुक्त राष्ट्रसंघका लागि भेनेजुएलाका राजदूत सामुएल मोनकाडाले अमेरिकाले आफ्नो देशमाथि अवैध सशस्त्र आक्रमण गरेको आरोप लगाए।
मोनकाडाका अनुसार भेनेजुएलामा बमबारी, नागरिक संरचनाको ध्वंस, नागरिक र सैनिकको ज्यान गएको र मदुरो तथा उनकी पत्नीको ‘अपहरण’ गरिएको छ।
कार्यरत राष्ट्रप्रमुखलाई अपहरण गर्नु अन्तर्राष्ट्रिय कानुनको मूल मान्यता, अर्थात् पदमा रहेका नेताको व्यक्तिगत प्रतिरक्षाको उल्लङ्घन भएको उनले बताए। यस्तो कदमले सबै देशका लागि खतरनाक उदाहरण स्थापित गर्ने चेतावनी पनि दिए।
भेनेजुएलाका शक्तिशाली सहयोगी रूस र चीनले मदुरोको अपहरणको कडा निन्दा गर्दै उनको रिहाइको माग गरे। अमेरिकाका सहयोगी फ्रान्स र कोलम्बियाले पनि वासिङ्टनको सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानुन कमजोर बनाएको भन्दै चिन्ता व्यक्त गरे।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक भाल्ट्जले भने मदुरोको नियन्त्रणलाई ‘कानुन कार्यान्वयनको कारबाही’ भन्दै बचाउ गरे। ‘संयुक्त राज्य अमेरिकाले एक नार्कोट्राफिकरलाई पक्राउ गरेको हो, जो अब अमेरिकामै मुद्दा सामना गर्नेछ,’ भाल्ट्जले भने।
उनले मदुरो ‘अमेरिकी जनताविरुद्ध आक्रमणका लागि जिम्मेवार’, ‘पश्चिमी गोलार्द्ध अस्थिर बनाउने’ र ‘भेनेजुएलाका जनतालाई अवैध रूपमा दमन गर्ने’ व्यक्ति भएको आरोप लगाए।
प्रतिक्रिया