काठमाडौँ । भेनेजुएलाले आफ्नो भूमिमा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ। शनिबार बिहानै राजधानी कराकस लगायत विभिन्न भूभागमा विस्फोट भएको थियो।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले त्यसलाई अमेरिकाले गरेको अत्यन्त गम्भीर सैन्य हमलाको संज्ञा दिएका छन्। भेनेजुएली सरकारका अनुसार कराकससँगै मिरान्डा, अरागुवा र ला ग्वाइरा राज्यमा एकैसाथ आक्रमण भएको थियो।
आक्रमणपछि राष्ट्रपति मादुरोले देशभर आपतकाल घोषणा गरेको र आफ्नो रक्षा बलहरू परिचालन गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
उनले आवश्यक समय र परिस्थितिअनुसार सबै राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न आदेश दिएको जनाइएको छ। साथै, देशको सार्वभौमिकता र सुरक्षाका लागि सामाजिक तथा राजनीतिक शक्तिहरूलाई एकजुट भएर प्रतिरक्षामा उत्रिन आह्वान गरेका छन्।
‘भेनेजुएलाका जनता र बोलिभेरियन राष्ट्रिय सशस्त्र बल लोकप्रिय–सैन्य–प्रहरी एकतासहित सार्वभौमिकता र शान्ति सुनिश्चित गर्न तैनाथ भएका छन्,’ विज्ञप्तिमा भनिएको छ।
सरकारले अमेरिकाको कदमको कडा निन्दा गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्, महासचिव र अन्य अन्तर्राष्ट्रिय निकायहरूमा औपचारिक उजुरी दर्ता गर्ने जनाएको छ।
ती निकायहरूमार्फत अमेरिकाको आक्रमणको अन्तर्राष्ट्रिय स्तरमै भर्त्सना गरिनुपर्ने माग भेनेजुएलाले अघि सारेको छ। ह्वाइट हाउस र पेन्टागनले भने भेनेजुएलामा भएको आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरो सरकारमाथि मानवअधिकार उल्लंघन, चुनावी धाँधली र लागुऔषध तस्करीको आरोप लगाउँदै भेनेजुएलाको सरकार परिवर्तवन आवश्यक रहेको बताउँदै आएका छन्।
उनले मदुरोलाई सत्ताबाट हटाउन विभिन्न किसिमले दबाब दिँदै आएका छन्। भेनेजुएलाले ती आरोप अस्वीकार गर्दै अमेरिकाले आफ्नो तेल स्रोतमा पहुँच जमाउन सरकार परिवर्तनको प्रयास गरिरहेको दाबी गर्दै आएको छ।
गत महिना अमेरिकाले भेनेजुएलातर्फ जाने–आउने प्रतिबन्धित जहाजमाथि कडा अवरोध (ब्लकेड) घोषणा गरेको थियो। क्यारेबियन क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढाइएको र लागुऔषध तस्करीको आरोपमा विभिन्न जहाजमाथि आक्रमण गरिएको घटनाले पनि दुई देशबीचको तनाव झन् चर्किएको थियो।
प्रतिक्रिया