काठमाडौँ। हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु नारीहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्परा रहेको छ । तिथिका आधारमा मनाइने भएकाले यो पर्व प्रत्येक वर्ष फरक–फरक मितिमा पर्छ ।
यस वर्ष आजबाट आरम्भ भएको श्रीस्वस्थानी व्रत माघ १८ गते पूर्णिमाका दिन समापन हुनेछ । यस अवधिमा व्रत बस्दा वा कथा श्रवण गर्दा सत्य मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने, धर्मपालन र भक्ति मार्गमा मन केन्द्रित हुने विश्वास गरिन्छ ।
पौराणिक मान्यताअनुसार श्रीस्वस्थानी व्रतको सुरुवात सत्ययुगमा भएको मानिन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या र श्रीस्वस्थानी माताको व्रत गरेकी थिइन् ।
लामो समयसम्म व्रत, साधना र संयमको अभ्यासपछि पार्वतीको मनोकामना पूरा भई भगवान् शिवसँग विवाह भएको शास्त्रहरूमा उल्लेख छ । यही कारण श्रीस्वस्थानी व्रतलाई मनोकामना पूर्ति गराउने व्रतका रूपमा लिइन्छ ।
मार्कण्डेय पुराणको हिमवत् खण्डमा यस व्रतको विधि, महत्त्व र कथाहरू विस्तारपूर्वक वर्णन गरिएको छ । यस व्रतले सत्य, धैर्य, संयम र धर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिन्छ ।
परम्परागत रूपमा विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको समृद्धिका लागि श्रीस्वस्थानी व्रत बस्ने गर्दछन् । अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्ति, सफल विवाह तथा जीवनमा स्थायित्वको कामनासहित व्रत लिने चलन छ ।
पछिल्लो समय अध्ययनमा सफलता, रोजगारी, व्यापार उन्नति, स्वास्थ्य लाभ, विदेश यात्रा, सन्तान प्राप्ति, मानसिक शान्ति तथा पारिवारिक सुख–शान्तिका लागि समेत श्रद्धालुहरूले यो व्रत बस्ने गरेका छन् । श्रीस्वस्थानी व्रतलाई बाह्य पूजामात्र नभई आत्मसंयम र आत्म शुद्धिको माध्यमका रूपमा लिइन्छ ।
प्रतिक्रिया