काठमाडौँ । अमेरिकाले भेनेजुएलाको तेल बोकेको अर्को एक ट्यांकर जहाज कब्जा गरेको छ। अमेरिकी तट रक्षक बल (यूएस कोस्टगार्ड) ले भेनेजुएला तट नजिक उक्त ट्यांकर नियन्त्रणमा लिएको हो। यस घटनाले अमेरिका र भेनेजुएलाबीचको कूटनीतिक तनाव झनै चर्किएको छ भने भेनेजुएलाको तेल निर्यातमा थप असर पर्ने देखिएको छ।
यसअघि पनि अमेरिकाले भेनेजुएलाबाट आएको तेल बोकेको जहाजमा लागूऔषध रहेको आरोप लगाउँदै विभिन्न ट्यांकरहरू कब्जा गरेको थियो। साथै, भेनेजुएलाबाट आवत–जावत गर्ने तेल ट्यांकरहरूमा कडाइ बढाइएको थियो।
यसैक्रममा पछिल्लो पटक तेल बोकेको भेनेजुएलाको एक ट्यांकर कब्जा गरिएको हो। युएस डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटीले उक्त कारबाहीको पुष्टि गरेको छ।
होमल्याण्ड सिक्योरिटी विभागकी सचिव क्रिस्टी नोएमले ट्यांकर कब्जा गरिएको भिडियो सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा सार्वजनिक गर्दै लेखेकी छन्, “२० डिसेम्बरको बिहान गरिएको एक कारबाहीमा यूएस कोस्टगार्डले डिपार्टमेन्ट अफ डिफेन्सको सहयोगमा भेनेजुएलाबाट छुटेको एक तेल ट्यांकर नियन्त्रणमा लिएको छ।”
सात मिनेट लामो उक्त भिडियोमा अमेरिकी हेलिकप्टर एक जहाजको डेकमा अवतरण गरेको देखिन्छ। जहाजको छेउमा ‘सेन्चुरीज’ लेखिएको देखिन्छ।
नोएमले अमेरिकाले यस क्षेत्रमा ‘नार्को–टेररिज्म’ का लागि प्रयोग हुने तेलको गैरकानुनी कारोबार रोक्न निरन्तर कारबाही जारी राख्ने स्पष्ट पारेकी छन्। उनले लेखेकी छन्, “हामी तिमीहरूलाई खोज्नेछौँ र रोक्नेछौँ।”
अमेरिकाले भेनेजुएलाले तेलबाट आर्जन हुने आम्दानी लागूऔषध कारोबार र आतंकवादसँग सम्बन्धित गतिविधिमा प्रयोग गर्दै आएको आरोप लगाउँदै आएको छ। यद्यपि भेनेजुएला सरकारले यी आरोपहरूलाई निराधार भन्दै निरन्तर खण्डन गर्दै आएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको तेल कारोबारमाथि कडा नाकाबन्दी लगाउने अभिव्यक्ति दिएपछि यस्ता ट्यांकर कब्जाका कारबाहीहरू तीव्र बन्दै आएका छन्।
विश्लेषकहरूका अनुसार अमेरिका–भेनेजुएलाबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुन सक्ने र मूल्यमा वृद्धि हुन सक्ने आशंका पनि बढ्दै गएको छ।
प्रतिक्रिया