• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमालेको सक्रिय राजनीतिबाट बिदा भए ३३ वर्ष लगातार केन्द्रीय कमिटीमा रहेका काशिनाथ

    647
    SHARES



    काठमाडौँ । नेकपा एमाले संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट लामो स्ट्याटस लेख्दै ३३ वर्ष केन्द्रीय कमिटीमा काम गर्दा पनि आफू नेता नभएको भन्दै यो महाधिवेशनदेखि सक्रिय राजनीतिबाट बिदा भएको बताएका हुन्। काशिनाथ अधिकारी एमालेको पाँचौं महाधिवेशनदेखि लगातार केन्द्रीय कमिटीमा थिए।

    ‘पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरे। जति दिन काम गरेँ पूरा मनले गरेँ। इमान, निष्ठा र समर्पणकासाथ गरेँ। तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थ रूपमा गरेँ,’ उनले भनेका छन्।

    आफू ल्यांगल्यांगे कार्यशैलीको विरोधी रहेको बताउँदै जसरी पनि जिम्मा पूरा गर्ने मेरो कार्यशैली रहेको उनले बताएका छन्।

    ‘नेकपा(एमाले) मा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि म कहिल्यै नेता थिइन। म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ। समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता थिएँ। मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिन। सपना असल कम्युनिस्ट बन्ने थियो तर सबै मानकहरू पूरा गर्न सकिनँ,’ उनले भनेका छन्।

    उनले अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने बताएका छन्। त्यस्तै साधारण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भव काम गर्ने उद्घोष गरेका छन्।

    ‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ बर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु। लामो राजनीतिक जीवनमा म बाट भएका भूलचुकहरू प्रति सम्बन्धित सबैसँग क्षमा माग्दछु,’ उनले भनेका छन्।

    नेकपा एमालेको जारी ११औं महाधिवेशनमा लामो समयदेखि ओली निकट रहेका काशीनाथ अधिकारीले यसपालि कुनै पदमा उम्मेदवारी दिएनन्।

    पार्टीको अनुशासन आयोग प्रमुखमा उम्मेदवार प्रस्ताव गरिएका उनले विद्रोह गरेर उम्मेदवारी दर्ता नगरेको चर्चा थियो। तर खासमा निर्धारित समयभन्दा ढिला गरी मनोयनपत्र दर्ता गर्न गएकाले उम्मेदवारी दिनबाट छुटेको उनले बताएका छन्।

    उनले सुरूमा उम्मेदवारी दिन मानेका थिएनन्। पछि सबैले कर गरेर मनाएपछि मनोनयनपत्र दर्ता गर्न गएका थिए। तर त्यति बेलासम्म मनोयनपत्र दर्ता गर्ने समय घर्किसकेकाले उम्मेदवारी दर्ता नभएको उनले बताए।

    अधिकारीको राजनीतिक टाइमलाइन

    २०८० जेठदेखि नेकपा(एमाले) केन्द्रीय सङ्गठन विभागको प्रमुखको जिम्मेवारी
    २०७८ मंसिरदेखि २०८० जेठसम्म नेकपा(एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको ईञ्चार्जको जिम्मेवारी
    २०७७ फागुनदेखि २०७८ मंसिरसम्म नेकपा(एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको सह–ईञ्चार्जको जिम्मेवारी
    २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा आयोजित नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित । केन्द्रीय कमिटीको दोस्रो बैठकबाट स्थायी कमिटीको सदस्यमा मनोनीत
    २०७६ श्रावणदेखि २०७७ फागुनसम्म तत्कालीन नेकपाको बागमती प्रदेश सङ्गठन कमिटीको सह–संयोजकको जिम्मेवारी
    २०७५ जेठ ३ गते नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)का बिच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गठन । नेकपाको केन्द्रीय सदस्यमा मनोनीत
    २०४७ साल जेठदेखि नेकपा ( माले ) नारायणी क्षेत्रीय सङ्गठन कमिटीको सचिव – २०४७ पौषसम्म
    २०७३ श्रावणदेखि २०७५ जेठसम्म तत्कालीन प्रदेश नं.३, प्रदेश सङ्गठन कमिटीको सहसंयोजकको जिम्मेवारी
    २०७१ असार १९ देखि श्रावण २ गतेसम्म काठमाण्डौमा आयोजित नेकपा(एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित । केन्द्रीय कमिटी बैठकबाट पुनः पोलिटव्युरो सदस्यमा निर्वाचित
    २०७१ श्रावणदेखि २०७३ श्रावणसम्म केन्द्रीय पुस्तकालय तथा अभिलेख विभागको प्रमुखको जिम्मेवारी
    २०६६ जेष्ठमा सम्पन्न नेकपा(एमाले) केन्द्रीय कमिटीको बैठकबाट पोलिटब्यूरो सदस्यमा निर्वाचित
    २०६६ असारदेखि २०७१ असारसम्म नेकपा(एमाले)को तत्कालीन नारायणी अञ्चल समन्वय कमिटीको संयोजक
    २०६५ फागुन ५–१४ मा वुटवलमा सम्पन्न नेकपा(एमाले)द्वारा आयोजित नेकपाको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्यमा पुनः निर्वाचित
    २०६४ साल चैत्र २८ गते सम्पन्न संविधानसभा सदस्यका लागि चितवन क्षेत्र नं २ वाट उम्मेदवार । पराजित
    २०५९ माघ १८–२२ मा जनकपुरमा सम्पन्न नेकपा (एमाले)द्वारा आयोजित नेकपाको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको सदस्य
    २०५९ फागुनबाट २०६६ ज्येष्ठसम्म नेकपा(एमाले)को केन्द्रीय कार्यालय–सचिवको जिम्मेवारी
    २०५४ साल माघ १४–२० मा नेपालगन्जमा सम्पन्न नेकपा(एमाले) द्वारा आयोजित नेकपाको छैटौँ राष्ट्रिय महाधिवेशनबाट पुनः निर्वाचित केन्द्रीय कमिटीको सदस्य
    २०५४ फागुनदेखि २०५९ माघसम्म नेकपा(एमाले)को तत्कालीन गण्डकी अञ्चल समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी
    २०५३ पौषदेखि २०५४ माघसम्म नेकपा(एमाले) केन्द्रीय सङ्गठन विभागको सचिव
    २०४९ माघ १४–२० मा काठमाण्डौमा सम्पन्न नेकपा ( एमाले )द्वारा आयोजित नेकपाको पाँचौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको सदस्य
    २०४९ माघदेखि २०५४ माघसम्म नेकपा(एमाले)को तत्कालीन नारायणी अञ्चल समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी
    २०४७ पौषमा सम्पन्न माले र मार्क्सवादी एकीकरण । नेकपा (एमाले) गठन पश्चात् राष्ट्रिय परिषद्को सदस्यमा मनोनीत तथा नेकपा ( एमाले )को नारायणी क्षेत्रीय कमिटीको सचिवको जिम्मेवारी – २०४९ माघसम्म
    २०४६ सालको भाद्र महिनामा नेकपा(माले) द्वारा सिराहामा भूमिगतरुपमा आयोजित नेकपाको चौथो राष्ट्रिय महाधिवेशनमा चितवनबाट प्रतिनिधि
    २०४६ सालको संयुतm जनआन्दोलनमा चितवनमा नेकपा ( माले ) को आन्दोलन संयोजक
    २०४५ साल श्रावण देखि नेकपा ( माले ) चितवन जिल्ला सङ्गठन कमिटीको सचिव र नारायणी–जनकपुर क्षेत्रीय कमिटीको सदस्य – २०४७ जेठसम्म
    २०४१ बैशाख ९ गतेदेखि नेकपा ( माले ) मकवानपुर जिल्ला सङ्गठन कमिटीको सचिव तथा नेकपा ( माले ) नारायणी क्षेत्रीय सङ्गठन कमिटीको सदस्य – २०४५ श्रावणसम्म
    २०३९ साल पौषदेखि नेकपा (माले ) चितवन जिल्ला सङ्गठन कमिटीको उपसचिव
    २०३८ साल चैत्रदेखि नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी )को पूर्णकालीन ( भूमिगत ) कार्यकर्ता
    २०३७ साल कात्तिक ७ गते सिन्धुपाल्चोकको पिस्करमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी– लेनिनवादी)को सदस्यता प्राप्त
    २०३७ सालदेखि २०४६ सालसम्मको भूमिगत अवधिमा दीपक, रोशन, गोविन्द, आदि टेक न्याम (छद्म नाम)बाट परिचित
    २०३६ साल बैशाख देखि नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी– लैनिनवादी) सिन्धुपाल्चोक जिल्ला अन्र्तगत सक्रिय दलको सचिव
    २०३५ सालको अन्त्यमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)मा प्रवेश
    २०३३ साल श्रावणमा पश्चिमको रातो झण्डा भनिने ‘सर्वहारावादी क्रान्तिकारी सङ्गठन नेपाल (प्रोन)‘ संगको सम्पर्क । २०३४ सालको अन्त्यमा सर्वहारावादी क्रान्तिकारी सङ्गठन नेपाल ( प्रोन )को सदस्यता प्राप्त

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ