काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला नेतृत्वको सरकार अवैधानिक रहेको दाबी गर्दै त्यसलाई समर्थन गर्न नसकिने बताएका छन्।
भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई शुभकामना सन्देश दिँदै महासचिव विप्लवले राजनीतिक दलविनाको समृद्धि सम्भव नभएको उल्लेख गरे। उनले नेपाललाई कुनै पनि शक्तिको अधीनमा जान नदिने प्रतिबद्धता पनि व्यक्त गरे।
देशको वर्तमान राजनीतिक संकट समाधानका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड दिँदै उनले भने, “देश जटिल परिस्थितिमा छ। दल छन्, नेता छन्, तर आज राज्य नै कहाँ छ भन्ने प्रश्न उठेको छ। यस्तो अवस्थामा महाधिवेशन हुन लागेको छ।”
महासचिव विप्लवले एमालेमाथि धेरै प्रश्न उठिरहेका बेला महाधिवेशन आयोजना गरिएको भन्दै त्यसका उत्तर दिन यो अवसर उपयोग गरिएको हुनसक्ने टिप्पणी गरे। “आज संसारले एमालेको महाधिवेशनलाई हेरेको छ—संकटको निकास दिन सक्छ कि सक्दैन भनेर,” उनले भने, “त्यसको जवाफ दिन एमाले सफल भएको छ।”
उनले राजनीतिक दलहरूले लामो संघर्ष गरे पनि जनताका अपेक्षा अझै पूरा हुन नसकेको स्वीकार गरे। साथै, विश्वभर साम्राज्यवादी शक्तिहरूले विकासोन्मुख मुलुकका प्राकृतिक स्रोतसाधन दोहन गर्न कठपुतली सरकार लाद्ने प्रयास गरिरहेको आरोप लगाए।
“आज नेकपा एमालेमाथि गम्भीर हमला भइरहेको छ,” विप्लवले भने, “त्यसको प्रमुख कारण एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर अडान राख्दै आउनु हो।”
प्रतिक्रिया