काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता तथा इरानी महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई इरानका सुरक्षा बलले गिरफ्तार गरेका छन्। नरगिस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर्वी सहर मशहदमा अन्य केही कार्यकर्तासँगै सुरक्षा बलले ‘हिंस्रक तरिका’मा पक्राउ गरेको हो। फाउन्डेसनले उनको गिरफ्तारीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
नोबेल समितिले पनि मोहम्मदीको पक्राउप्रति गहिरो चासो व्यक्त गर्दै उनी जहाँ राखिएकी छन्, त्यसबारे तत्काल जानकारी दिन इरानी सुरक्षा निकायसँग आग्रह गरेको छ। समितिले मोहम्मदीको सुरक्षा र सम्मान सुनिश्चित गर्दै बिना सर्त रिहा गर्नुपर्ने माग गरेको छ।
यद्यपि, इरान सरकारका तर्फबाट मोहम्मदीको गिरफ्तारीबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन। बीबीसीका अनुसार सरकार मौन रहेको छ। इरानमा महिलामाथि हुँदै आएको दमनविरुद्ध निरन्तर संघर्ष र मानवअधिकारको पक्षमा आवाज उठाएको योगदानका लागि मोहम्मदीलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
डिसेम्बर २०२४ मा उनलाई मेडिकल रिपोर्टका आधारमा जेलबाट तीन साताका लागि अस्थायी रिहा गरिएको थियो। उनी सन् २०२१ देखि तेहरानस्थित कुख्यात एविन जेलमा बन्दी जीवन बिताउँदै आएकी थिइन्। मोहम्मदीले आफ्नो संघर्षको क्रममा पटक–पटक गिरफ्तारी र विभिन्न सजायको सामना गर्दै आएकी छन्।
प्रतिक्रिया