काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने दावी गरेका छन् । अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको उनले स्पष्ट पारे।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हैसियत बिनाको व्यक्तिले विना प्रक्रिया अनधिकृत रूपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्ने बताए ।
अहिलेको कार्की सरकारको ‘कानुनी हैसियत नै नभएको’ भन्दै उनले कसैले टपक्क टिपेर टाँसिदिएको सरकार भएको बताए। ‘यो फेद न टुप्पोको सरकार हो,’ उनले भने।
कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर-माउर देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए। उनले व्यङ्ग्य गर्दै भने, ‘नागपञ्चमीतिर गोबर लगाएर नाग टाँसे जसरी कसले ल्याएर टाँसिदिएको सरकार हो, यहाँ नागको फोटो कसले टाँस्यो ? खोज्दै छु म।’
कसैले भोट नहालेको सरकारले व्यवस्थाको बारेमा सहमति गर्ने कुनै हैसियत नराख्ने उनले बताए। रिहर्सलमा सिकाएको पाठ केटाकेटीले गर्दै जाँदा बिगारेको उनले भनाइ छ। ‘त्यहाँ गरिएको सहमति त्यहीँ च्यातेर हिँडे त,’ उनले भने।
एमाले र कांग्रेस जनधारका ऐतिहासिक पार्टी भएकाले फेरि पनि देश चलाउन यी दुई पार्टीकै आवश्यकता पर्ने ओलीको अभिव्यक्ति थियो। देशमा ‘अपराध छोप्न र महत्त्वाकाङ्क्षा पूरा गर्न’ १४३ वटा पार्टी बन्ने क्रम नै हास्यास्पद भएको टिप्पणी गर्दै उनले एमालेलाई विरोध गर्नु र पार्टी चलाउनु समानार्थीझैं बनाइएको आरोप लगाए।
यता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको राजनीतिक अवस्थाबारे ‘अर्थपूर्ण छलफल’ भइसकेको ओलीले बताए। उनले त्यसको परिणाम भोलि देखिने दावी गरे ।
प्रतिक्रिया