काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले चुनावमा जाने घोषणा गरेपछि अहिलेसम्म अनिश्चिततामा रहेको नेकपा एमाले थप दबाबमा परेको छ।
लामो समयदेखि निर्वाचनमा सहभागी हुने–नहुने दोधारमा रहेको कांग्रेसले विभिन्न कारण देखाउँदै चुनावबाट टाढा रहने संकेत दिँदै आएको थियो। तर अन्ततः स्पष्ट निर्णय गर्दै निर्वाचन प्रक्रियामा सहभागी हुने भएको हो।
कांग्रेसको निर्णयपछि हालसम्म यसको अनिर्णयको राजनीतिक फाइदा उठाउँदै आएको एमालेलाई भने चुनौती बढेको देखिन्छ। यद्यपि एमालेले पनि चुनावमा नजाने निर्णय खुला रूपमा गरिसकेको छैन, तर सरकार चुनाव गराउन नसक्ने भन्दै त्यसको वैधानिकतामाथि निरन्तर प्रश्न उठाइरहेको छ।
निर्वाचनमा जाने निर्णयसँगै कांग्रेसले अन्य राजनीतिक दलहरूसमेतलाई सक्रिय रूपमा सहभागिता जनाउन आग्रह गरेको छ। फागुन २१ गतेको निर्वाचनलाई सबै दलले उत्साहपूर्वक स्वीकार्नुपर्ने उसले बताएको छ।
उता एमालेले सुरक्षा चुनौतीलाई प्रमुख बहाना बनाउँदै चुनाव सम्भव छैन भन्ने दाबी दोहोर्याइरहेको छ। आज बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभामा एमाले नेताहरूले वर्तमान सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाउँदै संसद् पुनर्स्थापनाको माग समेत गरे।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले पर्याप्त सुरक्षा अनुभूति नगरेको कारण चुनाव हुन नसक्ने बताएका थिए।
प्रतिक्रिया