काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भदौ २३ गतेको घटनामा निर्दोष विद्यार्थीहरूलाई मानवढाल बनाएर देशभर हिंसा मच्चाइएको आरोप लगाएका छन्। दाङमा बिहीबार आयोजित एमाले लुम्बिनी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै ज्ञवालीले भने, “शान्तिपूर्ण प्रदर्शनमा निस्किएका विद्यार्थीहरूको भावना पवित्र थियो, तर केही घुसपैठियाहरूले उनीहरूलाई दुरुपयोग गरे।”
ज्ञवालीले सोधे, “आज हाम्रो प्रश्न छ- को थिए ती घुसपैठियाहरू, जसले क्याम्पस पढ्दै गरेका निर्दोष विद्यार्थीहरूलाई संसद् भवन भत्काउनका लागि मानवढाल बनाएर अघि धकेले ?” उनका अनुसार विद्यार्थीहरूको मूल भावना शान्तिपूर्ण थियो।
“उनीहरूले भनेका थिए- एउटा रुखको हाँगा पनि भाँच्दैनौं, फूलका बेर्ना पनि मास्दैनौं, दुवो पनि मिच्दैनौं। तर ती निर्दोष विद्यार्थीहरूलाई हिंसामा तानियो,” ज्ञवालीले भने। “विद्यार्थीहरूलाई उक्साएर संसद् भवनमाथि आक्रमण”
ज्ञवालीले थपे, “गैंची र बेल्चा लिएर संसद् भवनका पर्खाल भत्काउन, सुरक्षा पोष्ट कब्जा गर्न उक्साउनेहरू नै मूल दोषी हुन्। उनीहरूले युवाहरूलाई प्रयोग गरेर दु:खान्त घटना घटाए।” उनका अनुसार, देशमा हिंसाको संस्कृति र अराजकताको बीउ रोप्नेहरूले अब जनतासामु जवाफ दिनुपर्ने समय आएको छ।
जागरण सभामा ज्ञवालीले सरकारले विद्यार्थीहरूका जाहेज मागलाई सम्बोधन गर्न नसके देशमा असन्तुष्टि बढ्ने चेतावनी पनि दिए। उनले भने, “विद्यार्थीहरूको आवाज सुन्ने साटो उनीहरूलाई घेराबन्दीमा पार्नु र हिंसाको आरोप लगाउनु लोकतन्त्रको अपमान हो।”
प्रतिक्रिया