• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    निर्वाचन तयारीमा सरकार सक्रिय, सुरक्षा समितिको बैठक आज

    385
    SHARES



    काठमाडौं । सरकारले आगामी निर्वाचनका तयारीलाई तीव्रता दिँदै देशलाई निर्वाचनमुखी दिशामा अघि बढाउने संकेत दिएको छ । हालै राजनीतिक परामर्श र सुरक्षा तयारी दुवै मोर्चामा सक्रियता बढाएको सरकारले आइतबारदेखि निर्वाचन सुरक्षा रणनीति औपचारिक रूपमा अघि बढाउने तयारी गरेको छ ।

    गतसाता प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका शीर्ष नेतासँग प्रारम्भिक परामर्श थालेकी थिइन् । त्यसपछि शनिबार अपराह्न उनले राष्ट्रपतिको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा बैठक गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेकी छन्, “राष्ट्रपतिको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी र सुरक्षाबारे गहन छलफल भयो। राजनीतिक वातावरण निर्माणदेखि सुरक्षा अवस्था सुदृढ पार्ने विषयमा ध्यान केन्द्रित गरिएको छ।”

    उनका अनुसार सो बैठकमा आगामी निर्वाचनका लागि अनुकूल वातावरण निर्माण, सम्भावित चुनौतीहरूको समीक्षा र सुरक्षाको समग्र अवस्थामाथि छलफल भएको थियो । सबै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा तत्परता जनाएका छन् ।

    राष्ट्रपति कार्यालयको पहलमा दलका नेतासँग र जेन–जी पुस्ताका प्रतिनिधिहरूसँग भइरहेको संवादलाई अघि बढाउँदै सरकारले दलहरूसँग प्रत्यक्ष भेटघाट सुरु गरेको छ । प्रधानमन्त्री कार्कीले यसक्रममा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरेकी छन् । उनका अनुसार यो सातादेखि अन्य दलका नेताहरूसँग पनि छलफल विस्तार गरिँदैछ । “निर्वाचनको वातावरण बनाउन राजनीतिक तहबाटै पहल सुरु गरिएको छ,” — प्रधानमन्त्री कार्कीको ‘एक्स’ पोस्टमा उल्लेख छ ।

    केन्द्रीय र जिल्ला तहमा सुरक्षा संयन्त्र सक्रिय

    आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्रीको अध्यक्षतामा बस्ने उक्त समितिमा गृह र रक्षा सचिवसहित चारै सुरक्षा निकायका प्रतिनिधि सहभागी हुनेछन् । प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिअनुसार, बैठकले हालको एकीकृत निर्वाचन सुरक्षा योजनाको समीक्षा गर्दै आवश्यक नीतिगत निर्देशन दिनेछ ।

    यससँगै गृह मन्त्रालयको शान्ति, सुरक्षा र अपराध नियन्त्रण महाशाखा प्रमुखको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ, जसले जिल्लास्तरमा समन्वय गरी सुरक्षा योजना कार्यान्वयन गर्नेछ । हरेक जिल्लामा सीडीओको नेतृत्वमा जिल्ला निर्वाचन सुरक्षा समिति पनि सक्रिय भएको प्रेस नोटमा उल्लेख छ ।

    प्रधानमन्त्री कार्कीले सबै पक्षलाई “सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सहयोग गर्न” आह्वान गरेकी छन् । गृहमन्त्री अर्यालको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ— “सरकारले पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेको छ। एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा अघि बढिरहेको छ। निर्वाचन आयोगसँग घनिष्ठ समन्वय भइरहेको छ र सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधन सुनिश्चित गरिएको छ।”

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ