काठमाडौँ । फिलिपिन्सको दक्षिण–पूर्वी तट नजिक शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार मिन्दानाओ टापुको पूर्वी तटबाट करिब १२३ किलोमिटर टाढा र ५८.१ किलोमिटर गहिराइमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पपछि तत्काल क्षतिको विवरण प्राप्त नभए पनि अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले फिलिपिन्सका अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेको जनाएको छ। फिलिपिन्सको भौगर्भिक तथा ज्वालामुखी संस्थानले यस भूकम्पलाई विनाशकारी र जीवन–खतरामा पार्न सक्ने सम्भावनासहितको भन्दै पूर्व र दक्षिणी तटीय क्षेत्रमा बस्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।
उक्त संस्थाले भूकम्पको तीव्रता ७.६ म्याग्निच्युड मापन गरेको सिएनएनले उल्लेख गरेको छ। अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार, फिलिपिन्सका केही भागमा १ देखि ३ मिटर अग्ला छालहरू देखा पर्न सक्ने सम्भावना रहेको छ।
यस्तै, इन्डोनेसिया र पलाउका केही तटीय क्षेत्रमा ३० सेन्टिमिटरदेखि १ मिटरसम्मका छाल आउन सक्ने चेतावनी दिइएको छ। फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ अर्थात् भूकम्पीय रूपमा अत्यन्त सक्रिय क्षेत्रमा पर्ने देश हो।
प्रतिक्रिया