काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग नयाँ भन्सार सम्झौता गरेका छन्।
रोयटर्सका अनुसार जापानबाट अमेरिकामा निर्यात हुने गाडीका भन्सार महसुल घटाउने र त्यसको सट्टामा जापानले ५५० अर्ब अमेरिकी डलरको लगानी र ऋणको प्याकेज घोषणा भएको हो।
अहिले जापानबाट अमेरिका जाने गाडीमा २७.५ प्रतिशत भन्सार महसुल तोकिएको छ। अब भन्सार दर घटाएर १५ प्रतिशतमा ल्याउने सम्झौता भएको हो।
यो दर अगस्ट १ देखि लागु हुने भनिएको छ। जापानबाट निर्यात हुने अन्य सामग्रीको भन्सार दर पनि २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत पुर्याइएको रोयटर्सले जनाएको छ।
भन्सार दर घटाएको घोषणासँगै यसको प्रभाव जापानको शेयरबजारमा देखिएको छ। जापानको शेयरबजार निक्केई एक वर्ष यताकै उच्च विन्दुमा पुगेको छ। जापानी कार कम्पनी टोयोटाको सेयर १४ प्रतिशतले बढ्दा होन्डाको ११ प्रतिशतले बढेको छ।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले जापानसँग इतिहासकै सबैभन्दा ठूलो व्यापार सम्झौता गरेँ। यो अमेरिकाका लागि निकै उत्साहजनक समय हो।’
जापानी प्रधानमन्त्री फुमियो इशिबाले पनि सम्झौता सकारात्मक भएको बताएका छन्। ‘यो सम्झौता अमेरिकासँग व्यापार नाफा गर्ने मुलुकहरूमध्ये सबैभन्दा कम महसुल दर भएको सम्झौता हो,’ उनले भनेका छन्।
हाल जापानमा महंगी बढेको भन्दै भइरहेको विरोधबीच उनले राजीनामा दिने चर्चा चलिरहेको थियो। उनले यो खबर पनि असत्य रहेको बताए।
दुई देशबीचको व्यापार सन् २०२४ मा २३० अर्ब अमेरिकी डलर पुगेको थियो। जापानले ५५० अर्ब डलर बराबरको लगानी र ऋणमार्फत औषधि र सेमिकन्डक्टरहरू उत्पादन गर्ने सम्झौता गरेको हो।
यस सम्झौतामा जापानले अमेरिकी चामलसहितका केही कृषिजन्य उत्पादनको आयात बढाउने पनि प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया