• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    ईरानमाथि अमेरिकी हमला: कूटनीतिक प्रयासमा बाधा, पाकिस्तानको कडा विरोध

    2.7K
    SHARES



    काठमाडौँ । ईरानी विदेशमन्त्री अब्बास अराग़चीले अमेरिका र इसराइलमाथि कूटनीतिक मार्ग बन्द गर्ने आरोप लगाएका छन्। अमेरिका–ईरान सम्बन्धमा चिसोपन गहिरिँदै गएको छ भने पछिल्ला घटनाक्रमले पश्चिम एसियामा तनाव थप चर्काएको छ।

    विदेशमन्त्री अराग़चीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “गएको हप्ता जब हामी अमेरिका सँग वार्ता गरिरहेका थियौँ, इसराइली आक्रमणले कूटनीतिक प्रयासमा बाधा पुर्‍याउने निर्णय गर्‍यो। त्यसको अर्को हप्ता, जब हामी युरोपेली देशहरू र युरोपेली संघका प्रतिनिधिहरूसँग छलफल गरिरहेका थियौँ, त्यहीबीच अमेरिकाले कूटनीतिक मार्ग बन्द गर्‍यो।”

    उनले थप प्रश्न उठाएका छन्, “यसबाट तपाईँहरूले के निष्कर्ष निकाल्नुहुन्छ?” उनले युरोपेली मुलुकहरू र बेलायतलाई सम्वोधन गर्दै भनेका छन्, “तपाईँहरू भन्छौँ कि ईरान वार्ताको मेजमा फर्कनुपर्छ। तर ईरान त त्यो मेजबाट कहिल्यै उठेको थिएन।”

    स्मरण रहोस्, सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका सन् २०१८ मा एकतर्फी रुपमा बाहिरिएको थियो। त्यसयता ईरानले परमाणु संवर्धन बढाउने चेतावनी दिँदै आएको छ। पछिल्लो हप्ता हुन लागेको वार्ताको छैठौँ चरण इसराइली आक्रमणका कारण प्रभावित भएको थियो।

    पाकिस्तानको विरोध

    ईरानमाथि अमेरिकी हमलापछि पाकिस्तानले कडा विरोध जनाएको छ। पाकिस्तानका विदेशमन्त्री इसहाक डारले एक्समार्फत वक्तव्य जारी गर्दै भनेका छन्, “पाकिस्तान ईरानका परमाणु स्थापनामाथि अमेरिकाद्वारा गरिएको आक्रमणको निन्दा गर्दछ। यो हमला इसराइलका लगातार हमलापछि गरिएको हो, जसले क्षेत्रीय अस्थिरता र हिंसा बढाउने जोखिम बढाएको छ।”

    पाकिस्तानले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै भनेको छ, “यी हमलाहरूले अन्तर्राष्ट्रिय कानुनका सम्पूर्ण प्रावधानहरू उल्लङ्घन गरेका छन्। ईरानलाई संयुक्त राष्ट्र चार्टरअनुसार आत्मरक्षा गर्ने अधिकार छ।”

    पाकिस्तानी विदेशमन्त्री डारले सबै पक्षलाई संयम अपनाउन र आम नागरिकको जीवनरक्षा गर्न आग्रह गरेका छन्। “सङ्घर्ष तत्काल अन्त्य हुनु आवश्यक छ। अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना सबै पक्षले गर्नुपर्छ। संवाद र कूटनीति नै यस संकटको समाधान हो,” वक्तव्यमा उल्लेख छ।

    इसराइलमा क्षति

    ईरानी आक्रमणका कारण इसराइलमा पनि क्षति पुगेको छ। इसराइली आपतकालीन सेवा म्यागेन डेविड एडोम (एमडीए) का अनुसार, ईरानबाट गरिएको हवाई आक्रमणमा परी १६ जना घाइते भएका छन्। तीमध्ये एक ३० वर्षीय पुरुषको अवस्था स्थिर रहेको बताइएको छ भने अन्य १५ जना सामान्य घाइते भएका हुन्।

    तेल अवीवमा एक भवनमा क्षति पुगेको छ र ६ जना मानिसलाई त्यसबाट सुरक्षित निकालिएको इसराइली प्रहरीले जनाएको छ। केही मानिस अझै पनि भवनभित्र फसेको हुनसक्ने अनुमान गरिएको छ।

    ईरान, अमेरिका र इसराइलबीचको यो तनावपूर्ण अवस्था अहिलेको विश्व राजनीतिको एक संवेदनशील मोड बनेको छ। एकातर्फ कूटनीतिक पहलमा अवरोध आइसकेको छ भने अर्कातर्फ सैन्य कार्यवाहीले क्षेत्रीय अस्थिरता गहिर्याउने सम्भावना देखिन्छ। पाकिस्तानजस्ता देशहरूले संयम र संवादको बाटो रोज्न आग्रह गरिरहेका बेला, ठूला शक्तिहरूको टकरावले विश्व शान्तिमा गम्भीर प्रश्न उठाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ