काठमाडौँ । सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजना गर्ने क्रममा एक डोम (दलित) परिवारलाई जबरजस्ती उठिबास गराइएको घटना प्रतिनिधिसभामा उठेको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले संसदमा कुरा उठाउँदै, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवले डोम परिवारको घर जेसिबी लगाएर भत्काएको आरोप लगाए। उनले दोषीलाई कानुनी कारबाही गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।
पीडित दीपक मरिककी श्रीमती अनिता मरिकका अनुसार, उनीहरूको परिवार वर्षौँदेखि उक्त स्थानमा बस्दै आएको थियो। तर महायज्ञ गर्नुपर्ने भन्दै बलपूर्वक घर भत्काइदिएको र आफूहरूलाई अन्यत्र जान बाध्य पारिएको बताइन्।
महायज्ञको तयारी भइरहेको स्थान पहिल्यैदेखि मरिक परिवारको बसोबास क्षेत्र भएको पीडितको दाबी छ। यस घटनाले सामाजिक न्यायको विषय फेरि उठान गरेको छ भने सांसद परियारले महायज्ञका नाममा दलित समुदायलाई अन्याय गर्नेलाई तत्काल कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।
प्रतिक्रिया