काठमाडौँ । बर्तमान केपी ओली सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएरे छाड्ने अड्डी कसेको छ । त्यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने भएको छ ।
मन्त्रालयबाट कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिइएका उनलाई हटाउने प्रक्रिया अघि बढाउन लागिएको हो । घिसिङले पुस अन्तिममा कार्यसम्पादन विवरण मन्त्रालयमा बुझाएका थिए ।
घिसिङसँग गरिएको कार्यसम्पादन करारमा प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण भदौ मसान्तभित्र मन्त्रालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको थियो । मन्त्रालयका सचिव सुरेश आचार्यले ५० प्रतिशत भन्दा कम अंक प्राप्त गरेमा बर्खास्त गर्ने प्रक्रिया अघि बढाउन सकिने व्यवस्था रहेको भन्दै कुलमानले शून्य अंक प्राप्त गरेको बताए ।
‘त्यो समयभित्र नबुझाएमा के हुन्छ भनेर लेखिएको छैन । तर, ५० प्रतिशत भन्दा कम अंक प्राप्त गरेमा बर्खास्त गर्ने प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ । उहाँले शून्य अंक प्राप्त गर्नुभयो । अब त्यही अनुसार प्रक्रिया अघि बढ्छ’, उनले भने ।
ऊर्जा सचिव आचार्य सरकारी कर्मचारीबाट म्याद नाघेर आएको कुरा स्वीकार गर्नै नसकिने जिकिर गरे । ‘जतिसुकै राम्रो मान्छे भए पछि म्याद नाघेपछि लोकसेवाले आवेदन लिँदैन’, उनले भने, ‘यहाँ पनि उहाँले करारीय दायित्व उल्लंघन गरेर ढिला मूल्यांकन पठाउनुभएको छ । त्यो पनि हामीले पटक पटक ताकेता गरेपछि । उहाँको प्रतिवेदनमा मूल्यांकन गर्नसक्ने अवस्था नै भएन ।’
कुलमानलाई निकाल्ने केही आधार नभएपछि ‘शुन्य नम्बर’ दिएर निकाल्ने आधार बनाउन मात्र ‘पटक पटक ताकेता’ गरेर कार्यसम्पादन प्रतिवेदन मगाएको देखिन्छ ।
कार्यसम्पादन मूल्यांकनका लागि कुलमानले ९८.९९ अंकको दाबी गर्दै मन्त्रालयमा प्रतिवेदन बुझाएका थिए । तर, मन्त्रालयका सहसचिव जीबछ मण्डलको संयोजकत्वमा रहेको समितिले समय गुज्रिएर आएको प्रतिवेदनमाथि मूल्यांकन गर्न नसक्ने भन्दै उनलाई शून्य नम्बर दिएको थियो ।
मन्त्रिपरिषद् बैठकबाट २०७७ साउनमा दोस्रो कार्यकालका लागि नियुक्त भएका कुलमानको कार्यकाल आगामी साउनमा सकिँदैछ । मन्त्रिपरिषद्बाट नियुक्ति भएकोले उनलाई हटाउन पनि मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्छ ।
मन्त्रालयले सोधेको प्रष्टीकरणमा यसअघि कार्यकारी निर्देशक घिसिङले पदबाट हटाउने सम्बन्धमा प्रष्टीकरण सोध्ने अधिकार मन्त्रालयलाई नभएको जवाफ पठाएका थिए ।
लोडसेडिङ्ग अन्त्य गर्ने महाअभियानका नायक कुलमानलाई हटाउन ओली सरकारले अनेक उपाय निकाल्न थालेपछि त्यसको चौतर्फी बिव्रोध हुन थालेको छ ।
प्रतिक्रिया