काठमाडौं । चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ पुगेको हो । भूकम्पमा परेर तिब्बतमा मात्रै अहिलेसम्म १३० जना घाइते भएका छन् ।
चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८ रेक्टर स्केल मापन गरेको छ । भूकम्पबाट भएको भौतिक क्षतिबारे अहिलेसम्म विस्तृत विवरण नआइसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको राज्य परिषद्को भूकम्प राहत विभाग र आपतकालीन व्यवस्थापन विभागले मङ्गलबार सियाङ स्वायत्त क्षेत्रको सिगात्से सहरमा गएको भूकम्पपछि तीन तहको आपतकालीन उद्धार प्रक्रिया सक्रिय गराइएको जनाएको छ ।
यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पपछि राहत र उद्धारमा सबै शक्ति लगाउन निर्देशन दिएका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले मंगलबार मध्यान्ह बेइजिङ र तिब्बतस्थित सरकारी अधिकारीहरूलाई निर्देशन दिँदै राहत र उद्धारमा सबै शक्ति केन्द्रित गर्न भनेका हुन् ।
भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । सगरमाथा (माउन्ट कोमोलाङ्मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो । डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।
डिङ्ग्रीमा रहेको चाइनिज एकेडेमी अफ साइन्सेजको किमोलुङ स्टेसनको विद्युत् कटौती भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ । सगरमाथा क्षेत्रमा नेपालतर्फबाट भने अहिले कुनै गतिविधि हुँदैनन् ।
प्रतिक्रिया