काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुई वटा बस खस्दा बेपत्ता भएका यात्रुहरूको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । खोजीकार्यमा सुरक्षाकर्मीसँगै चितवन पुगेको भारतीय प्राविधिक टोलीले आज बिहानैदेखि घटनास्थल सिमलतालबाट खोजी थालेको हो ।
चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले नेपाली सुरक्षाकर्मीसहित भारतीय प्राविधिक टोलीले खोजीकार्य अघि बढाएको जानकारी दिए । शनिबार आवश्यक उपकरणसहित चितवन पुगेको टोलीले जिल्लास्थित सुरक्षा समितिसँत छलफल गरेको थियो । भारतको ‘राष्ट्रिय आपदा मोचन बल (एनडीआरइफ)’ का १२ जनाको प्राविधिक टोली चितवन आइपुगेको हो ।
‘टोलीले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्न सक्ने सोनार क्यामेरालगायत प्रविधि प्रयोग गरिरहेको छ’, प्रहरी उपरीक्षक रिमालले भने, ‘जिल्ला सुरक्षा समितिको बैठकपछि शनिबार नै टोली कुरिनटार पुगेको थियो ।’
गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच केही दिनअघि भएको शिष्टाचार भेटमा सिमलताल पहिरोमा परी बेपत्ता भएका यात्रुको खोजी गर्न अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउनेबारे छलफल भएको थियो ।
प्रतिक्रिया