काठमाडौं। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कसैलाई पनि भिसा दिलाउन भन्दै आफूले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र नलेखेको बताएकी छन् ।
रानाले १७ महिनाअघि अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि समय मिलाउन लेखिएको पत्रलाई लिएर आएका समाचारप्रति शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेकी हुन् ।
‘गत वर्ष २०२३ मार्चमा युएन कमिशन अन स्टाटस अफ उमेन (यएन सीएसडब्लु) सम्मेलनसँगै समानान्तर रूपमा आयोजना हुने एनजीओसीएसडब्लु ६७ मा सहभागिताको लागि म लगायत सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी जाने क्रममा यात्राअवधि छोटो थियो । तर दूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकोमा अन्तर्वार्ताको लागि एकै दिन दूतावासलाई अन्तर्वार्ता मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ’, उनले भनेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वःनिर्णय दूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्छ । मैले कसैको भिसाको लागि अनुरोध गरेको छैन । उक्त सम्मेलनमा सहभागी भइसकेपछि पनि म अन्य कार्यक्रमको सिलसिलामा अमेरिकासहितका मुलुकको यात्रा गरिरहेको छु ।’
उनले उपसभामुखको जिम्मेवारी बहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी लेखिएको पत्र पदीय मर्यादा अनुरुप भएन भनी आइरहेका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।
प्रतिक्रिया