• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized कर्णाली समाचार

    सोरु गाउँपालिकामा पहिरोको त्रास- ३५ दलित परिवार रातभर जागराम

    1.7K
    SHARES



    मुगु । जिल्लास्थित सोरु गाउँपालिका- ४ रावलबाडाका ३५ दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बस्न थालेका छन । असार २१ गते बिहान गाउँमाथिबाट बर्षासंगै उर्लेर बाढी आएपछि खेतीयोग्य जग्गा बगरमा परिणत भयो । त्यसपछि गाउँ नै जोखिममा परेपछि ३५ दलित घरका करिव १ सय ७५ स्थानीय त्रासले रातभर जागराम बस्ने गरेका हुन ।

    गत बर्ष पनि यही समयमा गाउँ माथिबाट बाढी आउँदा खेतबारीको अन्नबाली तहसनहस पारेको थियो । यो पटक पनि सोही स्थानबाट बाढी आएर जग्गा जमिन तहसनहस बनाएपछि दलित परिवारको उठिबास हुन थालेको छ ।

    ‘बाढी पहिरोको डरले हामी राति सुत्दैनौ‌ँ ।’ रावलबाडा ४७ बर्षिया जाड नेपालीले भने- ‘वर्षा हुनेबित्तिकै माथिबाट बाढी पहिरो आएर खेतीयोग्य जग्गा जमिन बगर बनाई सक्यो । बीचमा हामी दलित परिवारका घर छन वरिपरि बाढी पहिरोले तहसनहस बनाई सक्यो ।’

    राति बाढी आएपछि बगाउला भन्ने चिन्ताले रातभर गाउँले जम्मा भएर घरको छतमा जागराम बस्ने गरेको दानसिंह नेपालीले बताए । वर्षा सुरु भएपछि देबि देउता पुकार्दै घरमा बस्नु परेको उनले सुनाए । कोही ओछ्यान बोकेर गाउँमै रहेको  प्राथमिक विद्यालयको भवनमा सुत्न जाने गरेका छन ।

    बर्खा लागेपछि रावलबाडाको माथिबाट पनि बाढी पहिरो आउने र गाउँको मुनितिर बाट पनि जमिन भासिदै जान थालेपछि ३५ दलित परिवारलाई आफ्नो ज्यानदेखि धनसम्पत्ति जोगाउन सास्ती हुन भएको हो। हुम्ला कर्णाली नदीले मुनीको जमिन कटान गर्दै जान थालेपछि बस्ती नै भासिँदै गरेको उनीहरुको भनाइ छ ।

    यता सोरु गाउँपालिका -४ का वडाअध्यक्ष गोर्ख मल्लले पनि रावलबाडाका ३५ दलित परिवार बाढी पहिरोको उच्च जोखिममा रहेको बताए । बाढी पहिरोको उच्च जोखिममा रहेको रावलबाडा बस्तीलाई सरकारले अन्यन्त्र सार्न अति जरुरी भइसकेको वडाअध्यक्षले सुनाए ।

    रावलबाडाका दलित परिवारले बस्ती अन्यत्र सारिदिन गाउँपालिका, कर्णाली प्रदेश र संघीय सरकारसँग बारम्बार गुहार माग्दै हैरान भएपनि सुनुवाई हुन सकेको छैन । यता सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले भने बजेट अभावका कारण उक्त बस्ती अन्यत्र सार्न गाह्रो भइरहेको बताए ।

    प्रतिक्रिया