काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक परामर्शमा जुटेका छन् ।
उनले अहिले केहीबेरमा आफ्नै दल माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बोलाएका छन् । त्यसपछि सत्ता गठबन्धनमा रहेका दलहरुसँग पनि परामर्श गर्ने तयारी छ ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने अथवा ३० दिनभित्रमा विश्वासको मत लिने भन्ने प्रक्रिया अगाडि बढ्ने बताए । दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ती सदस्यको भनाइ छ ।
ती सदस्यले भने, ‘कसैले हतार गर्दैमा सरकार बनिहाल्ने भन्ने हुँदैन सरकार बन्ने पनि प्रक्रिया होला। उहाँहरूको हतारो देख्दा हाँसो लागिरहेको छ । प्रधानमन्त्रीज्यूले पनि संविधान अनुसार ३० दिनभित्रमा विश्वासको मत लिन पाउनु हुन्छ ।’
कुनै दलले समर्थन फिर्ता नलिएको अवस्थामा राजीनामा दिनु जरुरी नरहेको सचिवालय सदस्यको भनाइ छ । उनले भने, ‘राजीनामा दिएर मार्ग प्रशस्त गर्नु भनेर केही साथीहरुले भनेको सुनेको छु। तर विधि प्रक्रिया र संविधान मिच्नु राम्रो कुरा हैन।’
प्रतिक्रिया