काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले केही निजी अस्पतालहरूले नि:शुल्क उपचार गर्नुपर्ने कोटामा आफन्तहरूको उपचार गरेर बदमासी गरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा स्वास्थ्य मन्त्रालयको बजेटबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री यादवले गरिब र कमजोर आर्थिक अवस्था भएकाहरूका लागि भनेर निजी अस्पतालमा ८ वटा कडा रोगको नि:शुल्क उपचार र १० वटा बेड अनिवार्य छुट्याउनुपर्ने भएपनि त्यसमा आफन्त र आसेपासेको उपचार गरेर बदमासी गरेको बताएका हुन्।
‘निजी अस्पताले १० वटा बेड फ्रि गरेको छौं। त्यसमा आफ्ना आफन्त आसेपासेलाई उपचार गर्ने र फ्रि गरिएको देखाइदिने। गरिब निमुखाको फ्रि हुँदैन भन्ने जनगुनासो मन्त्रालयमा आएको छ,’ उनले भने।
मन्त्री यादवले अस्पतालले दिने नि: शुल्क सेवाबारे आम नागरिकलाई जानकारी दिन पाँच वटा ठूला ठूला होडिङ बोर्डमा लेखेर राख्नुपर्ने बताए। त्यस्ता होडिङ बोर्ड नराख्ने अस्पतालहरूसँग गरिब जनताको नि:शुल्क उपचार गर्नका लागि स्वास्थ्य मन्त्रालयले सम्झौता नगर्ने उनले बताए।
निजी अस्पतालसँग सम्झौता गर्दा फरक किसिमको अनुगमन मूल्यांकन सेवा प्रदान गरिने, मोडालिटीमा परिवर्तन एवम् सेवा सर्तमा परिमार्जन गर्न आवश्यक रहेको पनि मन्त्री यादवले बताए।
प्रतिक्रिया