काठमाडौँ । नेकपा (एमाले) काठमाडौंको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। शनिबारबाट सुरू भएको सातौं अधिवेशनअन्तर्गत् सोमबार नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन समितिले जानकारी दिएको छ।
एमाले काठमाडौंको नयाँ नेतृत्वका लागि निवर्तमान कमिटीका अध्यक्ष दीपक निरौला र महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले समूह बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। निरौला समूहलाई पार्टी पोलिट्ब्युरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य सरिता न्यौपाने लगायतको साथ छ।
त्यसो त एमाले काठमाडौंको नयाँ नेतृत्वमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेतको चासो रहेको छ। उनले निरौलालाई नै काठमाडौंको नेतृत्वमा दोहोर्याउन चाहेको एक नेताले जानकारी दिए। निरौलाको समूहबाट उपाध्यक्षमा राजेश शाक्य, सचिवमा उद्धव भण्डारीले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
त्यस्तै खुला उपसचिवतर्फ विश्वराम सापकोटा र विन्दु महर्जनले उम्मेदवारी दिने तयारी गरेका छन्। देउला समूहबाट उपाध्यक्षमा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुलीले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
सचिवमा सत्यनारायण डंगोल, सहसचिव खुलातर्फ गुञ्जमान सिंह बस्नेत र तारा पुडासैनीले उम्मेदवारी दिने तयारी गरेका छन्। देउला समूहलाई उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलगायतको समर्थन रहेको एक प्रतिनिधिले बताए।
एमाले काठमाडौंको अधिवेशनमा ५८५ जना प्रतिनिधि रहेका छन्। अधिवेशनले २२५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।
प्रतिक्रिया