काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन घोषणा गर्दैछन । गणतन्त्र दिवसका दिन उनले ‘नौलो गणतन्त्र’का लागि आन्दोलनको घोषणा गर्ने तयारी गरेका छन् ।
सो पार्टीले जेठ १५ गते काठमाडौँको भृकुटीमण्डपमा विशाल आमसभाको आयोजना गर्ने भएको हो । कार्यक्रमका लागि जनमत पार्टीका अध्यक्ष राउतले देशभरबाट पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई नेपाल आउन आह्वान गरेका छन् ।
पार्टीले कार्यक्रमको बारेमा सबैभन्दा बढी प्रचार काठमाडौँ उपत्यकामा गरिरहेको छ । यसका लागि अध्यक्ष राउत आफैँ पनि खटिएका थिए ।प्रचार प्रसारका लागि पार्टीका नेता तथा कार्यकर्तालाई उनले परिचालन उनले गरेका छन् ।
यद्यपि, उपत्यकाबाट मात्र नपुग्ने भएपछि बाहिरी जिल्लाबाट पनि नेता तथा कार्यकर्तालाई काठमाडौँ उतार्ने तयारी भइरहेको छ । यसमध्ये सबैभन्दा बढी मधेस प्रदेशबाट आउनेछन् । एउटा पालिकाबाट कम्तीमा एउटा बस अनिवार्य गरिएको छ । यसका लागि पार्टीले तल्लो कमिटीलाई निर्देशन दिएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि जनमत पार्टीबाट लुम्बिनी प्रदेश तथा कोशी प्रदेशबाट पनि नेता तथा कार्यकर्ता ल्याइने बताइएको छ । लुम्बिनी प्रदेशका केही स्थानीय तह तथा कोशी प्रदेशबाट झापा, मोरङ र सुनसरीबाट पनि नेता तथा कार्यकर्ता ल्याउन निर्देशन भएको पार्टीका नेताहरू बताउँछन् ।
नौलो गणतन्त्रका लागि आन्दोलन घोषणा गर्न आयोजना गर्ने कार्यक्रमको तयारीका लागि जनमतले अध्यक्ष राउतको नेतृत्वमा एउटा मूल कमिटी बनाएको छ भने त्यसका विभिन्न १८ वटा उपसमितिहरू छन् । पार्टीका अनुसार कार्यक्रमको तयारी लगभग पुरा भएको छ ।
‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’, भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याऔँ’ भन्ने नारा दिएर आयोजना गर्न लागिएको आमसभामार्फत अध्यक्ष राउतले नौ बुँदे माग राख्दै आन्दोलनको घोषणा गर्ने छन् ।
अध्यक्ष राउतले जारी गरेको अपिलमा भनेका छन्, ‘अहिलेसम्म अरू नेता र पार्टीका लागि धेरै पटक आन्दोलन गर्यौँ, अब आफ्नो र आफ्नो सन्ततिको भविष्यको लागि देश विकास आन्दोलनमा सहभागी होऔँ ।’
नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउनका लागि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै राउतले सरकार, पार्टी र शीर्ष नेताको संलग्नता र संरक्षणमा भएका भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरेर सजाय दिन माग गरेका छन् ।
ह्विप नलाग्ने एकसदनात्मक व्यवस्था कायम गर्न माग गर्दै अध्यक्ष राउतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित निर्वाचन आयुक्त, महालेखा परीक्षक, महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेत निर्वाचनबाट चयन गर्न माग गरेका छन् ।
मन्त्री खारेज गरी प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञहरू नियुक्त गरेर विभागीय काम कारबाही गर्ने व्यवस्था गर्न उनको माग छ । त्यस्तै प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचनबाट गर्न र सांसदबाट मन्त्री पनि नराख्न माग उनले गरेका छन् ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया