काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले अहिलेको गठबन्धनले राप्रपालाई खोज्ने दिन नआओस् भनेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले ‘पर्सि’ नै यो गठबन्धनले राप्रपालाई खोज्ने दिन नआओस् भनेका हुन् ।
‘कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो- हामीले राप्रपालाई नलिने भएका छौं भनेर। त्यसलाई राप्रपाले नोटिसमा राखेको छ,’ उनले भने, ‘राप्रपा यो सत्ताकेन्द्रित चलखेलमा सामेल छैन भनेका छौं। तपाईंको यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् ।’
नयाँ गठबन्धनलाई गण्डकी लगायतमा सरकार बनाउन राप्रपाको साथ पनि चाहिन्छ ।
यस्तै, नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका मन्त्रीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् ।
‘नियुक्त भएर आउनुभएका मन्त्रीहरू कुनै पनि ठाउँबाट कुनै पनि किसिमको अनुसन्धानको दायराभित्र नपरेका होलान् भन्ने आशा गरेको छु,’ उनले भने, ‘यदि परेका छन् भने त्यसपछि सदन के हुन्छ भन्ने कुराको जवाफ पनि प्रधानमन्त्रीले दिँदा राम्रो हुन्छ भन्ने मेरो आग्रह छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान गरिरहेको छ । उनीबारे राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ ।
प्रतिक्रिया