• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिविमा सहायक डीनदेखि क्याम्पस प्रमुखसम्मको नियुक्ति

    1.5K
    SHARES



    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबण्डाको आधारमा नियुक्ति दिइएको छ । उपकुलपतिसहितका निमित्तको भरमा चलिरहेको विश्वविद्यालयले सहायक डीनसहित क्याम्पस प्रमुखसम्म नियुक्त गरेको हो ।

    माघ २५ गतेदेखि कार्यभार सम्हाल्नेगरी सहायक डीन, ३ जना विभागीय प्रमुख र ६ जना क्याम्पस प्रमुख नियुक्त गरिएको हो ।

    ३ महिने कार्यकालका लागि प्राडा शिवलाल भुसाललाई दोस्रो पटक उपकुलपतिको जिम्मेवारी दिइएको छ भने उनले उपकुलपति हुनका लागि आवेदन समेत दिएर सर्ट लिष्टमा पनि परेका छन् ।

    हाल त्रिविमा उनीसँगै अन्य दुई पदाधिकारी समेत निमित्त नै छन् । शिक्षाअध्यक्ष कृष्णप्रसाद बस्याल र रेक्टर भार्गव धिताल समेत निमित्त नै हुन् । ६ सदस्य रहने त्रिवि कार्यकारी परिषद्मा ३ जना निमित्त छन् ।

    उपकुलपतिको अध्यक्षतामा रहने परिषदमा रजिस्ट्रार र रेक्टरसँगै अध्ययन संस्थान डीनमध्येबाट एक जना, संकायका डीनमध्येबाट एक जना, विश्वविद्यालय शिक्षकमध्येबाट दुई सदस्य रहन्छन् । कार्यकारी परिषदमा रहेकामध्ये उपकुलपति, रजिस्ट्रार र रेक्टर निमित्त छन् । रजिस्ट्रारलाई सदस्य-सचिवको जिम्मेवारी तोकिएको हुन्छ ।

    माघ २३ मा बसेको कार्यकारी परिषद् बैठकले प्राध्यापक चिरञ्जीवी आचार्यलाई मानविकी तथा सामाजिक शास्त्र संकायको सहायक डीनमा नियुक्त गरेको छ । उनी नेपाली कांग्रेस निकट मानिन्छन् ।

    त्यस्तै नेपाली केन्द्रीय विभाग प्रमुखमा कृष्णप्रसाद न्यौपाने, गणित विभाग प्रमुखमा चेतराज भट्टराई, भूगर्भशास्त्र विभाग प्रमुखमा दिनेश पाठकलाई नियुक्त गरिएको हो ।

    त्यस्तै परिषद्ले ६ वटा क्याम्पसको प्रमुख समेत भागबण्डाको आधारमा नियुक्त गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकटकाले क्याम्पस प्रमखुको जिम्मेवारी पाएका हुन् ।

    सबैभन्दा बढी नेकपा माओवादी केन्द्र निकटबाट ३ जनाले क्याम्पस प्रमुखको नियुक्ति पाएका छन् । त्यस्तै नेपाली कांग्रेस निकटबाट २ जना र नेकपा एमाले निकटबाट १ जनाले नियुक्ति पाएका हुन् ।

    माओवादी निकटबाट गोरखाको गोरखा क्याम्पस, लमजुङको लमजुङ क्याम्पस र काठमाडौँको नेपाल ल क्याम्पसको प्रमुख नियुक्त भएका हुन् ।

    गोरखा क्याम्पसमा उपप्राध्यापक नवराज पाण्डे, लमजुङ क्याम्पसमा उपप्राध्यपाक मिलन सुवेदी र नेपाल ल क्याम्पसको प्रमुखमा सहप्राध्यापक श्यामबहादुर कार्की नियुक्त भएका हुन् ।

    त्यस्तै काठमाडौँको पब्लिक युथ क्याम्पसको प्रमुखमा कांग्रेस निकट उप–प्राध्यापक रामेश्वर आचार्य नियुक्त भएका छन् भने रामपुर क्याम्पसमा उपप्राध्यापक कपिल काफ्लेलाई नियुक्त भएका छन् । उनी पनि कांग्रेस निकट हुन् । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुखमा भने एमाले निकट सहप्राध्यापक गंगाराम पौडेल नियुक्त भएका छन् ।

    त्रिवि कार्यकारी परिषद् सचिवालय प्रमुख बैकुण्ठ थपलियाले सम्बन्धित डीनले पठाएको सूचीका आधारमा शिक्षाध्यक्षले त्रिवि कार्यकारी परिषद् समक्ष पेश गर्ने र परिषद्ले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको बताएका छन् ।

    त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अनुसार नियुक्तिको अधिकार परिषद्लाई दिएको छ । सोही आधारमा परिषद्ले नियुक्ति गरेको उनको भनाइ छ । राजनीतिक भागबण्डाको आधारमा नियुक्ति गरिएको विषयमा आफूलाई जानकारी नभएको उनले बताए ।

    त्रिवि उपकुलपति प्राडा शिवलाल भुसालले नियमसँगत नै नियुक्ति गरिएको बताए । संस्थाहरू नेतृत्वविहीन भएर अस्तव्यस्त हुन लागेपछि नियुक्तिको निर्णय गरिएको उनको भनाइ रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ