• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ- सशस्त्र प्रहरी बल

    2.1K
    SHARES



    काठमाडौँ । नेपाल र भारतीय सुरक्षा सङ्गठनको समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ ।

    सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा ५ सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी गराएका छन् ।

    सशस्त्र प्रहरी बल नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सोही क्रममा दशगजा क्षेत्रमा १८ वटा भौतिक संरचना निर्माणमा तथा २६ स्थानको करिब १३/३२ बिघा क्षेत्रमा खेतीपाती गर्न रोक लगाइएको बताए ।

    त्यसक्रममा एक सय ६१ स्थानमा करिब एक सय ७३ किमी दशगजा क्षेत्र सरसफाइ गरिएको जानकारी दिइयो । दुवै देशको सीमालाई व्यवस्थित गर्न सीमा स्तम्भ निर्माण, मर्मतसम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड बनाएर हालसम्म १ हजार ८ सयभन्दा बिजोर सीमा स्तम्भको मर्मत गरिएको पनि बलले जनाएको छ ।

    जोर अङ्कको सीमा स्तम्भ निर्माण कार्य भने भारतीय पक्षबाट हुँदै आएको छ । हाल सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालका दुई सय ५३ पोष्ट खडा गरिएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपाल र भारतबीच १ हजार ८ सय ८० किमी लामो सीमा छ । दुवै देशको सीमा क्षेत्रमा ठूला, मध्यस्त र साना गरी आठ हजार पाँच सय ५३ वटा सीमा खम्बा रहने गरी नक्साङ्कन भए पनि हाल ५३ प्रतिशतमात्र गाडिएको छ ।

    भारतमा अङ्ग्रेजका समयमा नेपाल र भारतका बीचमा ठूलो प्रकृतिका नौ सय १६ वटा जङ्गे पिलर गाडिएको थियो । त्यो सीमा स्तम्भ सात फिट अग्लो र साढे सात फिट गोलो आकारको छ । ठूला सीमास्तम्भ तीनदेखि पाँच माइलको दूरीमा गाडिएको थियो भनेपछि खम्बाका बीचमा एकदेखि तीनवटासम्म मध्यस्त खम्बा छ । मध्यस्त खम्बाका बीचमा दुईदेखि तीनवटासम्म साना पिलर रहने व्यवस्था गरिएको छ ।

    बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ । सीमा प्रवेश क्षेत्रमा सौन्दर्यीकरणका लागि बलको अगुवाइमा विभिन्न कार्यक्रम अघि बढिरहेको छ । त्यस क्रममा सीमा नाकामा बलको पहलमा खानेपानी व्यवस्थापन, शीतलताका लागि वृक्षरोपण र राष्ट्रको शान झन्डा फहराउने कार्य भएका छन् ।

    अर्धसैनिक बलका रुपमा रहेको सशस्त्र प्रहरीले सीमा सुरक्षा, दङ्गा नियन्त्रण, दैविक प्रकोप एवं विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व सङ्कलनको जिम्मेवारीमा रही महत्वपूर्ण कार्य गर्दै आएको छ । बलले यही माघ ९ गते आफ्नो २३औँ स्थापना दिवस पनि मनाउँदैछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ